पुलिसको जीतमा मन्त्रीको बाजी



सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ। शनिबारको खेलमा पुलिसले आयोजक सुरुङ्गा फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै विजयी यात्रा शुरु गरेको हो। पुलिसको जीतसँगै सामान्य प्रशासनमन्त्री केशबकुमार बुढाथोकीले बाजी जितेका छन्। प्रतियोगिताको उद्घाटन गर्नुभएका मन्त्री बुढाथोकीलाई सांसद प्रेम गिरीले बाजी राख्न चुनौती दिनुभएको थियो।

आयोजकका तर्फबाट सांसद गिरीले बाजी राख्ने घोषणापछि मन्त्री बुढाथोकीले पनि आपूm क्षेत्रीको छोरा भएकाले मैदान नछाड्ने भन्दै पुलिसको टिमबाट ११ हजार रुपियाँको बाजी थाप्नुभयो। मन्त्रीले बताउनुभयो– ‘जीतको पैसा आयोजकलाई दिइनेछ।’ तर, दुवै जना खेल सकिनुअघि नै मञ्च छाडेर बाहिरिनुभएको थियो।

खेलको चँैथो मिनेटमै पुलिसका दिनेश गुरुङले गोल गर्दै आयोजकमाथि दबाब सिर्जना गरेका थिए। १९औं मिनेटमा पुलिसका निरकुमार राईले गोलको अवसर खेर फालेका थिए। २९औं मिनेटमा पुलिसकै तेज तामाङले कप्तान जुमानु राईको पासमा गोल गरेर अग्रता दोब्बर पारे। ५०औं मिनेटमा निरकुमार राईले गोल गरे तर ३९औं मिनेटमा उनी गोल गर्न चुकेका थिए। त्यस्तै, ५४औं मिनेटमा जुमानु राईले गोल गर्दै ४–० को नतिजा निकाले।

खेलको अन्त्यतिर सुरुङ्गाले पाएको पेनाल्टीमा कप्तान प्रशान्त थापा मगर गोल गर्न चुके। पुलिसका दिनेश राजवंशीको ≈यान्ड हुँदा पाएको पेनाल्टीमा उनको प्रहार पुलिसका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए। खेलको म्यान अफ दी म्याच पुलिसका निरकुमार राई घोषित हुँदै १५ हजार ६ सय मूल्यको मोबाइल पाए। त्यस्तै, पहिलो गोलकर्ता दिनेशले नगद दुई हजार पाए।

सुरुङ्गा जेसीजले आयोजना गरेको प्रतियोगितामा आठ टिम सहभागी छन्। विजेताले ३ लाख ५१ हजार १११ र उपविजेताले नगद २ लाख ५१ हजार १११ नगद पुरस्कारका साथमा ट्रफी पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्