स्वघोषित देवीद्वारा विवाहमा गोली प्रहार



नयाँदिल्ली,(एजेन्सी) एउटा विवाह भोजमा हवाइ फायर फायर गरेर फरार भएको तीन दिनपछि भारतका स्वघोषित देवी साध्वी देव ठाकुरले शुक्रबार अदालतसमक्ष आत्मसमर्पण गरेकी छिन्। सो दुलहाकी काकीको मृत्यु हुनुका साथै उनका अन्य तीनजना नातेदार गम्भीर घाइते भएका छन्।

मंगलबार भारतको उत्तरी हरियाणामा घटेको सो घटनाको भिडियोमा ठाकुरले शुरुमा रिवल्भरले गोली चलाएको र पछि दुईजनाले बन्दुक प्रयोग गरेको देखिन्छ। उनको साथमा रहेका उनका केही अंगरक्षकले पनि गोली चलाउँदै गरेको त्यसमा देखिन्छ।

प्रत्यक्षदर्शीहरुको हवाला दिँदै भारतीय सञ्चार माध्यमले उनी डान्स फ्लोरमा गई डिजेलाई आफूलाई मन परेको गीत राख्न लगाइ नाच्न थालेको र त्यसपछि अचानक गोली चलाउन थालेको जनाएका छन्। दुलाहा र दुलही परिवारका सदस्यले उनलाई त्यसो नगर्न अनुनयविनय गर्दा उनले वेवास्ता गरेकी थिइन्। दुलहाकी पचास वर्षीया काकी गोली लागेर ढलेपछि र अन्य तीनजना गम्भीर घाइते भएपछि मात्र गोली चल्न बन्द भएको थियो।

त्यसपछि ठाकुर आफ्ना छ जना अंगरक्षकसहित घटनास्थलबाट फरार भएकी थिइन्। शुक्रबार अचानक मजिस्ट्रेट कोर्टमा आत्मसमर्पण गर्न आएकी उनलाई पाँच दिनका लागि हिरासतमा लिइएको छ। उनका अंगरक्षकहरु अझै फरार रहेका छन्। उनले पत्रकारहरुलाई आफू निर्दोष रहेको, आफूलाई षड्यन्त्रमा फसाइएको र उक्त घटनामा कसैको मृत्यु भएकोमा आफूलाई पनि निकै दुःख लागेको बताएकी छिन्। तर कट्टरपन्थि हिन्दू संगठन अखिल भारत हिन्दू महासभाका उपाध्यक्ष ठाकुरले गरेको यो पहिलो अवान्छनीय घटना भने होइन।

गत वर्ष उनले सार्वजनिक रूपमा मुस्लिम र इसाइहरुको जनसंख्या नियन्त्रणका लागि तिनीहरुको परिवार नियोजन गरिनुपर्ने र त्यसका लागि सरकारले एउटा छुट्टै कानुन नै बनाउनुपर्ने विवादास्पद विचार प्रकट गरेपछि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। दी डीएनए अखबारले एकपटक त उनले हिन्दू देवदेवीका मुर्तिहरु मस्जिद र गिर्जाघरहरुमा राखिनुपर्ने र महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेको हरियाणामा प्रतिमा स्थापना गर्नुपर्ने बताएको लेखेको थियो।

कर्णाल जिल्लाको एउटा सानो गाउँ ब्रासमा जन्मेकी उनले केही वर्षअघि आफ्नै गाउँमा आश्रम खोलेकी थिइन्। उनका अनुयायीहरु त्यहीका गाउँलेहरु हुन्। सधैं गेरुवस्त्र धारण गर्ने २७ वर्षीया ठाकुर सुनचाँदी जुवाहरात र बन्दुकको सौखिन भएको बताइएको छ।

उनी दुई वर्षअघि हिन्दू महासभामा प्रवेश गरेकी थिइन्। उनको भाइले चलाउँदै आएको उनको फेसबुक पेजमा ठाकुरलाई सशक्त राष्ट्रवादी घोषित गर्दै देव भारत प्रतिष्ठानका निर्देशक उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्