जापान र नेपालको खेल आज



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल र जापानबीचको कूटनीटिक सम्बन्ध ६० वर्ष पुगेको अवसरमा पारेर च्यारिटी फुटबल खेल आयोजना हुँदै छ। आज हुने खेलका लागि नेपाली टोली र फ्रेन्डस अफ जापान खेल्न तयार भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षकले जनाए। एन्फा कम्प्लेक्समा भएको प्रिम्याच पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षकले जित्ने पनि दाबी गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) र जापानी एनजिओ कलरवाथको संयुक्त प्रयासमा खेल हुन लागेको हो। यसबाट उठेको रकम गत साल वैशाख १२ गते गएको भूकम्पले क्षति भएका जिल्लाका लागि राहत कोष संकलन गर्ने जनाएको छ। त्यसैले दर्शकका लागि खेल हेर्न १५ सय रुपियाँको टिकट किन्नुपर्ने हुन्छ।

फ्रेन्ड्स अफ जापानी टोलीमा सन् २००२ मा विश्वकप खेलेका टोदा काजुयुकी नेतृत्वमा १६ खेलाडी नेपाल आएका हुन्। तोदाले बताए– ‘मैले नेपालको ब्रुनाई र लाओससँगको म्याच हेरेको थिएँ र हामी नेपालसँग खेल्नका लागि तयार छौं,। ‘ग्यो (नेपालका जापानी कोच) ले हामीलाई युथ लेभलमा प्रशिक्षण गराएका थिए। उनीविरुद्ध जित हात पार्न म प्रयास गर्नेछु।
यसै गरी भ्रमणकारी टोलीका कप्तान योसुके नोजावाले आफ्नै पूर्वकोच विरुद्ध खेल्नु आफ्नो लागि विशेष रहेको बताए। उनले भने– ‘म युवा हुँदा ग्योको प्रशिक्षणमा खेलेको थिएँ, अहिले उनकै टीम विरुद्ध यहाँ खेल्न पाउनु विशेष लागेको छ। तर यसो भन्दैमा हामी नेपाललाई कमजोर आक्दैनौं। हामी मैदानमा जित्नकै लागि खेल्छौं।’

यस्तै नेपालका जापानी प्रशिक्षक ग्योतोकु कोजीले पनि आफ्नो टीम कुनै दबाबमा नरहेको र जित्नकै लागि खेल्ने बताए।‘हामी भर्खरै प्रतियोगिता जितेर आएका छौं र यहाँका समर्थकका लागि हामी उत्कृष्ट खेल्नेछौं, हामी जित्नका लागि खेल्छौ’ कोजीले भने।

नेपालका कप्तान अनिल गुरुङले आफूहरुले एक दिनको मात्र आराम पाए पनि जापानिज टोलीविरुद्ध खेल्न तयार रहेको भन्दै खुसी साटे, ‘हामी भर्खरै टुर्नामेन्टमा सफलता हासिल गरेर आएका छौं र यो खेल पनि जित्दै हाम्रो समर्थकहरुसँग जित बाँड्न चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्