विद्या संस्कारले जित्यो उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
विद्या संस्कारले प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ।

सरस्वतीनगरस्थित आयोजक स्कुलमा भएको फाइनल खेलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्यो। विजयी टोलीका लागि उमिद रायमाझी र प्रत्युश भट्टराईले गोल गरे। संस्कृतिको तर्फबाट रिवाज श्रेष्ठले गोल गरे। निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो।

संगम बुढाथोकीको कप्तानीमा रहेको विद्या संस्कार टोलीबाट उमिद रायमाझी, अथर्व कोइराला, प्राण्जल तिवारी, सुहान शंकर, साहिल हुसेन, रजत श्रेष्ठ, सयुज रुपाखेती, सागर दाहाल र प्रत्युश भट्टराईले प्रतिस्पर्धा गरेका थिए। प्रशिक्षकमा राजन न्यौपाने छन्।

प्रत्युश भट्टराई उत्कृष्ट खेलाडी तथा उमिद रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए। प्रतियोगिताभर २२ गोल गरेका संस्कृतिका देभान्स आचार्य सर्वाधिक गोलकर्ता बने। विल्सन एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो। पाँचदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्