पुम्दीकोट नयाँ पर्यटकीय गन्तव्य बन्ने



छोटो दूरीको पदयात्राको लागि पोखरामा नयाँ गन्तव्य थपिने छ।
स्थानीयबासीले गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याए एकदिने हाइकिङ गर्ने पर्यटकलाई अर्को दिन थप्न सक्ने वातावरण बन्ने छ। पोखरा–२५ पुम्दीभुम्दीबासीले कोटमा अग्लो शिवमूर्ति स्थापना गर्ने लक्ष्यसहितको दीर्घकालीन गुरुयोजना तयार पारेका छन्।
१०८ फिट अग्लो शिव मूर्ति पुम्दीकोटमा स्थापना गरेपछि धार्मिक तथा अन्य आन्तरिक एवम् बाह्य पर्यटकलाई नयाँ गन्तव्य बन्ने विश्वास स्थानीयबासीले पनि गरेका छन्। पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिले यसको सम्पूर्ण गुरुयोजनासहितको खाका शनिबार क्षेत्रीय प्रशासक खगराज बरालको उपस्थितिमा सार्वजनिक गरेको छ। ‘शिवमूर्ति स्थापना गरेर पुम्दीकोटलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उत्कृट चाहना छ।’ समितिका संयोजक चन्द्रकान्त बरालले भन्नुभयो –‘त्यसको लागि आवश्यक बजेट संकलन गर्न महायज्ञ समेत लगाउने तयारी गरेका छौं।’ उहाँका अनुसार शिवमूर्ति दुई वर्षभित्रमा निर्माण गरिने छ। त्यसको लागि ५ करोड २५ लाख रुपियाँ खर्च हुने अनुमान छ।
सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २० लाख रुपियाँ विनियोजन गरेको जानकारीसमेत उहाँले जानकारी दिनुभयो। पुम्दीकोट १५ सय मिटरको उचाईमा छ। जुन सराङकोट भन्दा ९२ मिटर होचो हो। शिव मूर्ति, स्मृति पार्क निर्माणसहित पर्यटन प्रवद्र्धनको बृहत् योजना छ। पुम्दीकोटलाई धार्मिक पर्यटनको रूपमा विकास गरेर पर्यटन आगमनमा वृद्धि गर्ने उद्देश्यले निर्माण गर्न लागिएको शिव मूर्ति तथा स्मृतिपार्क कुल १७ रोपनीमा बनाइन लागेको छ। तर, १२ रोपनीमा पूर्वाधार निर्माण गरिने उहाँले बताउनुभयो। त्यस क्षेत्रबाहेक नजिकका चौउगाडे, भुम्दीकोट, थाप्लेडाँडासहित पञ्चासेसम्मकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको प्रवद्र्धन ५ वर्षभित्र पूरा गर्ने लक्ष्य लिएर कामथाल्न लागेको समितिले मंसिरको पहिलो साता शिवको मूर्ति र स्मृतिपार्कको शिलान्यास गर्ने र २ वर्षभित्रमा बनाइसक्ने योजना समितिको छ। मूर्ति र
स्मृतिपार्कको डिजाइन बनिसकेको समितिले जनाएको छ। डिजाइन ड्रिम डेभलपर्स कन्सल्टेन्सीले बनाएको हो। जसमा १०८ फिट अग्लो शिवको मूर्ति पुम्दीकोट टावर नजिकै राखिने छ।
जसको वरिपरी १०८ शिवलिङ निर्माण गरिने र मूर्तिलाई डाईमार्फत गणेश भगवानले परिक्रमा गरिरहने शिव मूर्ति बनाइनेछ। फेवाताल, अन्नपूर्ण हिमालका श्रृंखलाहरू, माछापुच्छ्रे हिमालसहित पोखराका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। मूर्तिभन्दा केही अगाडिको भागमा दुईतले भवन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्