९० जना राप्रपा नेपालमा



भद्रपुर, (नेस)
विभिन्न पार्टी परित्याग गरी ९० जना राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन्। झापाको पृथीवीनगर र भद्रपुरनगरपालिका स्थानीय तथा कार्यकर्ताहरूले स्वस्फूर्त रूपमा सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन्।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले अविर लगाएर सदस्यता प्रदान गरेका थिए। पार्टी प्रवेश गरेकामा भद्रपुर १३ का ९३ वर्षिय मानबहादुर काफ्ले, नेपाली कांग्रेसकी मञ्जु काफ्ले, सीताराम काफ्ले, चन्द्रबहादुर भुजेल दावा तामाङ, बालकुमारी काफ्ले लगायतलाई शनिबार भएको एक कार्यक्रमकाबीच उनीहरूले सदस्यता लिएका थिए।
कार्यकर्तालाई स्वागत गर्दै महामन्त्री लिङ्देनले नेपाली जनता भनेको देशका ठूला तीन दलले गोठमा बाँधेर राखेको गाइवस्तु नभएको उल्लेख गरे। नेताका कारण देश भयानक द्वन्द्वको बाटोमा गइरहेकाले अबको दिनमा जनता सडकमा उत्रिन जरुरी रहेको उनको धारणा थियो। ०६२÷६३ मा भएको आन्दोलनमा धर्मको बारे कुनै कुरा नउठेको स्मरण गराउँदै धर्मको नाममा विदेशीको इसारामा चलेर देशलाई ध्वस्त पार्ने काम भइरहेको उनले बताए। कुनै जमिनदारको जग्गा भएर आफ्ना सन्ततिलाई कित्ताकाट गर्ने देश नेपाल नभई सम्पूर्ण जातजाति एक ढिक्का हुनुपर्ने उनको धारणा थियो। विकासका नाममा एक रूपियाँ भ्रष्टाचार गर्नेले आमाको खुन खाएसरह हुने उल्लेख गर्दै विकासमा राजनीति नगर्न उनले सुझाए।
कार्यक्रममा पार्टीका संगठन प्रशिक्षण विभाग प्रमुख भक्ति सिटौलाले देशलाई धर्मनिरपेक्षमा जबरजस्ती लादेर केही ठूला नेता आफ्नो पाप मोचनका लागि वार्षिक रूपमा देवघाट जाने गरेको बताए। धर्मको विषयमा धावा बोल्ने नेता दाम्लो चुडाएर तोरीबारीमा गएको साँढेसरह भएको संज्ञा दिए। आफूले जीवनको आधा दशक कांग्रेसमा बिताएको स्मरण गराउँदै जय नेपाल भन्ने भनाइ कांग्रेसको पेवा नभई शुक्रराज शास्त्रीले देशको भलोका लागि ल्याएको बताए। कार्यक्रममा नेता विश्वनाथ श्रेष्ठ, महिला नेतृ राधा कार्की, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्