डेङगुविरुद्ध विशेष अभियान सुरु



नेपाल समाचारपत्र
काठमाडौं
डेङ्गु रोगबाट प्रभावितहरूको संख्या धेरै देखिएपछि चितवनको टाँडीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विषेश अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाको निर्देशनमा विषेश अभियान सुरु गरिएको हो। सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरी शुक्रबार देखि सर्च एण्ड डिस्ट्रोइड अर्थात खोजी र नष्ट गर्ने अभियान सुरु गरिएको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिनुभयो।
गत बैशाखदेखि अहिले सम्म देशभरीमा ३ सय ४ जनामा डेङगुको जिवाणु भेटिएकोमा चितवनमा मात्रै २ सय ७२ जना र त्यस मध्ये २ सय २२ जना टाँडीमा भेटिएकाले टाँडीमा अभियान चलाइएको उहाँले स्पष्ट पार्नुभयो। यो रोगका कारण यस बर्ष अहिलेसम्म कसैको निधन नभएको पनि डा आचार्यले बताउनुभयो।
अभियानका लागि स्थानीय स्वास्थ्य स्वयमसेवीका सहित झण्डै डेढ सय जनालाई खटाइएको छ। अहिले चार दिनका लागि सुरु गरिएको अभियान आवश्यकता अनुसार लम्वीन पनि सक्ने महाशाखाले जनाएको छ। डेङगु देखिएका अन्य जिल्लामा समेत आवश्यकता अनुसार सर्च एण्ड डिस्ट्रोइड अभियान चलाइने महाशाखाले जनाएको छ। महाशाखाले डेङगु परिक्षणका लागि थप मात्रामा र्यापिड डायग्नोस्टिक टेष्ट किट यसै हप्ता उपलब्ध हुने जनाएको छ।
अभियान अन्तर्गत टाँडीका हरेक घरघरमा गएर डेङगु सार्ने माध्यमको रूपमा रहेको लामुखट्टे बढ्न नदिने, भएका लामुखट्टे मार्ने, डेङगुको लक्षण देखिएका स्थानीय बासिन्दालाई अस्पताल लैजाने, अस्पतालमा पर्याप्त उपचारको व्यवस्था गर्ने लगायतका क्रियाकलाप गरिएको छ।
लामखुट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्न नदिने उपाय नै मुख्य भएको निर्देशक आचार्यले सुझाउनु भयो। उहाँले घर वरिपरी पानी जम्ने ठाउँ जस्तैः सानासाना शिशीका विर्को देखि कुनै ठुला भाँडाकुँडा, पोखरी, गमला आदीमा पानी जम्न नदिन आग्रह गरिएको बताउनु भयो।
एडिज इजिप्टाई जातको लामखुट्टेले डेङगु भएकालाई टोकेर अरूलाई टोकेमा यो रोग लाग्ने डा आचार्यले जानकारी दिनुभयो। डेङगुका रोगीलाई नटोकेको र अन्य लामखुट्टेबाट यो रोग नलाग्ने पनि उहाँले स्पष्ट पार्नुभयो। ँएडिज इजिप्टाई जातको लामखुट्टेले दिउसोमा मात्रै टोक्ने र सफा तथा जमेको पानीमा मात्रै फुल पार्ने गर्दछ,” उहाँले भन्नुभयो। सफा पानीमा मात्रै फुल पार्ने भएकाले यस्लाई सहरीया लामुखट्टे पनि भन्ने गरिएको पाईन्छ।
एडिज इजीप्टाई जातको संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, शरिरमा रगत र पानीको मात्रा कम हुने लगायतका लक्षणहरू देखिने चिकित्सकहरूको भनाई छ। निर्देशक डा आचार्यका अनुसार डेङगु भएका विरामीको मुख्य उपचार भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा लक्षण अनुसारको औषधि सेवन गर्ने तथा शरीरमा पानीको मात्र कम भएमा प्रशस्त पानी धेरै खुवाउनु हो।

प्रतिक्रिया दिनुहोस्