सार्वजनिक विषयमा सचेतना आवश्यक



(ज्ञानमणि नेपाल कालोटोपी) ट्राफिक प्रहरी कार्यालयले विगत ५ वर्षयता सवारी चलाउनेहरूका अस्वभाविक गतिविधिहरूको निकै निगरानी गरिरहेको छ । यो समयमा चालकहरूले सवारी चलाउँदा गर्ने मादक पदार्थ सेवनको चेकजाँच गर्नुका साथै अन्य क्रियाकलापहरूको पनि छानविन गर्ने गरेको छ । कुनै पनि बेला चेकिङ गरी यस्ता कार्यमा संलग्नहरूलाई कारबाहीसमेत गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समयमा चालकहरूलाई सचेतना गराउन निकै प्रयास गरिरहेको छ । गल्ती गर्ने चालकलाई चेतनामूलक कक्षा सञ्चालन गरी यस्तो नगर्न सुझाव पनि दिइरहेको छ । तर पनि न सवारी दुर्घटनामा कमी आएको छ, न त चालकहरूमा चेतना नै आएको छ । एउटै चालक पटक–पटक कारबाहीमा परिरहेको पाइएको छ । ५ पटकभन्दा धेरै मादक पदार्थ सेवनलगायत अन्य ठूलो गल्ती गर्ने चालकको सवारीचालक अनुमतिपत्र नै खारेज गर्नेसम्मको नियम बनाए पनि यस्ता कार्यमा कमी नआएपछि अहिले ट्राफिक प्रहरी कार्यालयलाई नै ठूलो चुनौती थपिएको छ ।
भर्खरै सार्वजनिक एक तथ्यांकअनुसार यातायात व्यवस्था कार्यालयले मापसे गरी सवारी चलाउने ३ सय ७ जना चालकको लाइसेन्स नै निलम्बन गरेको छ । उनीहरूले ५ पटकभन्दा वढी मापसे गरी सवारी चलाएर एउटै गल्ती दोहोर्याएका थिए । गएको ५ वर्षयता २ लाख ११ हजार ७ सय ७० जना सवारी चालक कारबाहीमा परेका थिए । जसमध्ये १ लाख २६ हजार ८ सय ६७ जनाको लाइसेन्समा प्वाल पारिएको थियो । यस अवधिमा मापसे कारबाहीबाट मात्र २० करोडभन्दा बढी राजस्व संकलन भएको थियो । कारबाहीमा पर्नेमध्ये १ हजार ३ सय ९३ जना महिला पनि परेका थिए । आर्थिक वर्ष ०६८÷०६९ मा २९ हजार ६ सय ६७ जना सवारी चालकहरू कारबाहीमा परेका थिए भने वर्ष ०६९÷०७० मा ५२ हजार २ सय ८० जना कारबाहीमा परे । ०७०÷०७१ मा ५४ हजार ५३५ जना चालक कारबाहीमा परेका थिए । त्यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ३६ हजार ६५ जना कारबाहीमा परेका थिए । गत आर्थिक वर्षमा २९ हजार २०३ जना कारबाहीमा परे । जसमध्ये लाइसेन्समा प्वाल नै पार्नुपर्ने गल्ती गर्नेहरू उल्लेख्य छन् । कारबाहीमा परेकामध्ये कतिपय सवारी चालकहरू सम्पर्कमा नआएका कारण थुप्रै जनाको लाइसेन्स ट्राफिक प्रहरीसँग अझै बाँकी नै छ ।
यो तथ्यांक हेर्दा ट्राफिक प्रहरीले जति नै सतर्कता अपनाउन आग्रह गरे पनि उनीहरूको प्रयासले खासै काम गर्न नसकेको पो हो कि भन्ने आशंका उब्जाएको छ । यसैबीच यातायातसँग सम्बन्धित विधयेक व्यवस्थापकीय संसद्मा भर्खरै पास भएको छ । जसलाई राष्ट्रपतिबाट प्रमाणीकरण पनि भइसकेको छ । अब भने यस्तो संख्यामा कमी आउने अनुमान गरिएको छ । तर, जबसम्म सवारीचालक आफैंले यस्ता विषयमा ध्यान दिँदैन वा दिएर पनि त्यो आफ्नै लागि हो भन्ने कुराको मनन गर्दैन तबसम्म ट्राफिकहरूले जति प्रयास गरे पनि गल्ती गर्ने चालकहरूको संख्यामा कमी आउँदैन ।
यस्ता गल्ती न्यूनीकरण होस् भनेर यातायात व्यवस्था कार्यालयले गत असारदेखि लागू हुने गरी कारबाहीको जरिवानादर बढाएको थियो । न्यूनतम ५ सयदेखि बढीमा १५ सय रुपियाँसम्म गरिए पनि यस्ता गतिविधिमा लापरबाही गर्नेको संख्यामा कमी आउन सकेको छैन । चालकहरूमा चेतना नआएर यस्ता समस्या बढिरहेको सन्दर्भ एकातिर छँदै छ भने कतिपय ट्राफिक प्रहरीहरू आफैं पनि सानोतिनो रकमको लोभमा परेर ठूलै गल्ती गर्ने चालकलाई पनि छुट दिन्छन् । जसले गर्दा पनि दुर्घटना बढिरहेको देखिन्छ ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने, ट्राफिक प्रहरीमध्ये पनि सबै चेतना जगाउन र गल्ती गर्नेलाई सम्झाउन बसेका हुँदैनन् । कतिपयहरू सामान्य गल्तीमा पनि ठूलै सजाय दिन्छन् भने सानो अनुरोधलाई पनि कुनै छुट दिँदैनन् । सामान्य गल्तीलाई सम्झाउनुको सट्टा ठूलो जरिवाना गरिँदा चालकमा उनीहरूप्रति बदलाको भावना उत्पन्न हुने गरेको पनि पाइएको छ । कुनै मुर्खलाई कुटेर र गाली गरेर मात्र ऊ सही बाटोमा आउँदैन, उपदेशले पनि उसले आफ्नो गलत मार्ग छोड्न सक्छ भन्ने कुरा हाम्रा ट्राफिक प्रहरीहरूले कहिल्यै बुझेका छैनन् । यसको मतलब गलत गर्नेलाई पूरै छुट दिनू भन्नेचाहिँ होइन ।
एकतर्फी प्रयासले मात्र कुनै पनि समस्याको समाधान हुँदैन । जिम्मेवारी सबैको उस्तै हो । यसका लागि सवारी चालक, ट्राफिक प्रहरी, नागरिक समाज, सर्वसाधारण, सरकार सबैको उस्तै भूमिका रहनुपर्छ । सडकको अवस्थामा पनि सुधार गर्नु आवश्यक छ । यसो गर्न सकियो भने मात्र आगामि दिनमा दुर्घटनाका खबरहरूमा कमी आउन सक्ला ।

प्रतिक्रिया दिनुहोस्