प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने एमालेको माग



काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने माग गरेको छ। एमालेले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको हो।
आइतबार बसेको व्यवस्थापिका–संसद्को बैठकको विषेश समय लिएर एमालेका सांसद राजन भट्टराईले अघिल्लो सरकारले परराष्ट्रनीतिलाई सन्तुलित बनाउन नसकेको आरोप लगाउदै नयाँ सरकार गठन भए पनि त्यसअनुसार काम अघि बढ्न नसकेको बताउनुभयो। सरकारबाट दुबै छिमेकी मुलुकमा विशेष प्रतिनिधि पठाइएको र त्यसपछि दिइएका सार्वजनिक अभिव्यक्ति कार्यान्वयन नभएको बताउँदै भट्टराईले यसबारे प्रधानमन्त्रीले संसद्लाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले भारतको गोवामा ब्रिक्स सम्मेलन भइरहेको अवसरमा चिनियाँ राष्ट्रपतिलाई भारतको भूमिमा गएर नेपालका प्रधानमन्त्रीले निम्तो दिनु दुर्भाग्यपूर्ण स्थिति भएको बताउनुभयो।
बैठकमा नेपाली कांग्रेसका धनराज गुरूङले नेपालका सबै भाषालाई संविधानले सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिइसकेका अवस्थामा हिन्दी भाषाको चर्चा गरिनु राष्ट्रियतामाथिको अपमान बताउनुभयो। सांसद योगेन्द्र घिसिङले आदिवासी÷जनजाति र मधेसीको मागबमोजिम संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्