स्नान गरेपछि प्राणायाम र आसन गर्नाले धेरै लाभ हुन्छ। प्रतिदिन चिसो पानीले नुहाउनुपर्छ। कपडाले छालामा रगडेर नुहाउनाले धेरै लाभ हुन्छ। नुहाएपछि सफा तौलियाले शरीर पुछ्नुपर्छ। सूर्य स्नानबाट शरीरलाई भिटामिन ँडी’ प्राप्त हुन्छ। यस्तै मालिस गर्नु सबैका लागि लाभप्रद छ। बच्चालाई मालिस गर्नाले उनीहरु स्वस्थ रहन्छन् भने बूढाबूढीलाई मालिस गर्नाले शारीरिक रोगहरुबाट टाढा रहन्छन्। त्यस्तै मालिसले युवायुवतीको मांसपेशी पनि लचकता र कसिलो हुन्छ। मालिसबाट छाला चम्किलो र स्वस्थ रहन्छ। भोजन गर्नुभन्दा पहिले अवश्य हात धुनुपर्छ। भोकभन्दा भोजन कम गर्नु नै ठीक हुन्छ। हरियो सागसब्जी तथा फलफूलको सेवन गर्नुपर्छ। यसमा प्रचूर मात्रामा प्रोटिन, भिटामिन, फलाम तत्त्व हुन्छ। भोजन खूब चपाई-चपाई खानुपर्छ। राम्ररी नचपाई खाएपछि दाँतले गर्ने काम आन्द्राले गरेमा पाचन क्रिया बिग्रन जान्छ। भोजनको अन्त्यमा वा भोजन गर्ने समयमा ज्यादा पानी पिउनु हुँदैन।
हप्तामा एक दिन कागती-पानी पिएर उपवास गर्नुहोस्। यसले गर्दा शारीरिक स्वास्थ्य ठीक रहन्छ। दिनमा केवल दुई पटक भोजन गर्नुहोस्। शारीरिक स्वास्थ्य ठीक भएका ५० वर्षभन्दा बढी उमेर हुनेहरुले दिनमा एक पटक सन्तुलित वा पूर्ण भोजन गर्नुहोस्। बाँकी भोजन लिने समयमा दूध र फलफूल लिन सकिन्छ। यसले शारीरिक स्वास्थ्य ठीक रहन्छ। भोजन शान्ति र खुशीको वातावरणमा लिनु लाभदायक हुन्छ। भोजन गर्ने समय वा सुत्ने समयमा कुनै प्रकारको चिन्ता, शोक, क्रोध तथा द्वेष मनमा राख्नु हुँदैन। क्रोधावस्थामा भोजन गर्नु स्वास्थ्यको लागि विषसमान हुन्छ। त्यसैले क्रोध शान्त भएपछि मात्र भोजन गर्नुपर्छ। आँखा, कान, नाक, जिब्रो तथा जनना? यी पाँच इन्द्रियहरु संयम राख्नु मनुष्यको लागि धेरै जरुरी छ। सुत्नुभन्दा पहिला खुट्टा धुनुहोस्। सुत्ने समय ईश्वरको ध्यान गर्नाले राम्रोसँग निद्रा आउँछ। बेलुकाको आहार सुत्नुभन्दा तीन-चार घण्टाअगाडि लिनुपर्छ। भोजनपछि कठिन कार्य नगर्नुहोस्। मुख ढाकेर सुत्नु हुँदैन। राति १० बजेसम्म सुतिसक्नु उचित हुन्छ। छिटो सुत्ने र छिटो उठ्ने गर्नाले स्वास्थ्य राम्रो हुन्छ। त्यस्तै मनमा परोपकारको भावना राख्नाले मन शान्त र स्वस्थ रहन्छ। जसरी सात स्वरहरुमा पूरा संगीत निर्भर छ, त्यसरी नै हाम्रो स्वास्थ्य पनि कफ, पित्त र वातको सन्तुलनमा निर्भर छ। यसको सन्तुलन रहेमा हामी अवश्य पनि स्वस्थ रहनेछौं। -(योग सन्देशबाट)
|
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |