पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रथम र प्रमुख लक्षण दिसा गर्दा रगत आउनु हो। यसरी आएको रगत स्वच्छ, ताजा, चम्किलो, रातो रंगको हुन्छ र दिसा गर्दा अन्त्यतिर आउने गर्छ। दिसा कडा भएको बेलामा मलद्वार दुख्छ तर रगत आएको बेला कुनै पनि प्रकारको पीडा नहुनु नै यसको प्रमुख लक्षण हो। यसका साथै मलद्वारमा मासुको डल्लो भएको जस्तो अनुभव हुनु, मलद्वार भिजेको हुनु, चिलाउनु जस्ता लक्षण पनि देखा पर्छन्। कहिलेकाहीँ मलद्वारमा संक्रमण भएमा पीडा पनि हुने गर्छ। यो समस्या धेरै समयसम्म रहिरहेमा रक्तअल्पता पनि हुने गर्छ। पाइल्स एक साधारण समस्या हो भनेर हेलचेक्रयाइँ गरेको खण्डमा बिरामीले विभिन्न कष्टदायक समस्याहरु भोग्नुपर्ने हुन सक्छ। रक्तश्राव धेरै भएमा रगत दिनुपर्ने अवस्था पनि आउन सक्छ। यसका साथै रक्तनलीहरु च्यापिनाले असह्य पीडा हुन्छ र नलीहरु कडा भएर रक्तसञ्चार रोकिनाले कुहिन पनि सक्छ। त्यसैले पहिलो लक्षण देखा पर्नेबित्तिकै चिकित्सककहाँ गएर उपचार गराउनु उचित हुन्छ । यस किसिमको समस्या भएकाहरुले सजिलै पच्ने खानेकुरा हरियो सागपात, पानी प्रशस्त मात्रामा खानुपर्छ। माछा, मासु, अदुवा, काँचो लसुन, मरिच, रक्सी, चुरोट, धेरै मसला र चिल्लो भएको खानेकुरा, मैदाबाट बनेको खानेकुरा आदिले कब्जियत र दिसा कडा पार्ने हुनाले खानुहँदैन। यसका साथै एउटा बाटामा मनतातो पानी राखेर त्यसभित्र ५ देखि १० मिनेट बस्नु फाइदाजनक हुन्छ। यसले सुन्निएको कम गर्न र दुखाइ कम गर्न सहयोग गर्छ। धेरैजसो मानिसले यो समस्याको लागि विभिन्न औषधि र मलद्वारमा लगाउने मलमको प्रयोग गरी समाधान खोज्छन्। यसबाट पनि समाधान नभएको खण्डमा शल्यचिकित्सा गराउन बाध्य हुन्छन्। तर शल्यचिकित्सा यसको अन्तिम समाधानचाहिँ होइन। शल्यचिकित्सा गरिसकेपछि पनि यदि खानेकुरामा ध्यान दिइएन भने यो समस्या पटक-पटक बल्झिने गर्छ। तर दिसा गर्दा रगत आएमा पाइल्स नै हुन्छ भनेर भन्न मिल्दैन। त्यसैले चिकित्सकलाई देखाएर उनको सल्लाहअनुसार नै उपचार गर्नु फाइदाजनक हुन्छ। यस समस्याको उपचारका लागि विभिन्न उपचार पद्धतिको प्रयोग हुने गरेको छ। यसमध्ये आयुर्वेद उपचार पद्धति पनि प्रभावकारी भएको पाइएको छ। यस समस्याको समाधानका लागि आयुर्वेद उपचार पद्धतिअन्तर्गत प्रयोग हुने विभिन्न औषधिहरु बिरामीले विषयगत योग्यताप्राप्त चिकित्सकको सल्लाह-सुझावअनुसार प्रयोग गर्नु फाइदाजनक हुन्छ। आवश्यक परेको खण्डमा आयुर्वेद उपचार पद्धतिअन्तर्गत रहेका विभिन्न शल्यउपचार विधि जस्तै- क्षार, अग्निकर्म र शस्त्रकर्मको प्रयोग पनि गरिन्छ। हाम्रो समाजमा खानेकुरामा त्यति सावधानी अपनाइएको पाइँदैन। तसर्थ चिकित्सकको सल्लाहअनुसार खानेकुरामा ध्यान दिएको खण्डमा यो समस्यादेखि टाढा रहन कुनै कठिनाइ पर्दैन। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |