विगत ४ दशकभन्दा बढी समयदेखि सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको डडेल्धुरा जिल्ला सदरमुकामस्थित टिम अस्पताल स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारीका कारण बन्द भएको आरोप सञ्चालकहरुले लगाएका छन्।स्थानीय राजनीतिक पार्टीका प्रतिनिधि तथा नागरिक समाजले विगत एक वर्षदेखि संघर्ष समिति गठन गरी स्वास्थ्य मन्त्रालयमा पटक-पटक कुरा राखे पनि मन्त्रालयले कुनै निर्णय नदिई आलटाल गरेका कारण यस्तो अवस्था आएको टिम अस्पतालका प्रबन्धक डा. अरुणकुमार बुढा बताउनुहुन्छ। स्थानीय निकायहरुको आग्रहमा २०२२ सालमा डडेल्धुरा सदरमुकामदेखि ७ कि.मि. टाढा पोखरा बजारमा स्थापित सो अस्पतालमा टिम नेपाल नामक संस्थाले सेवा सुचारु गरेको थियो। २०४२ सालमा अस्पताल सदरमुकाममा सरेपछि स्वदेशी तथा विदेशी डाक्टरहरुको सेवाका साथै ४६ शय्याको सुविधा सम्पन्न अस्पतालको निर्माण भएको डा. बुढाले जानकारी दिनुभयो। यो अस्पतालले सुदूरपश्चिम पहाडका सात जिल्ला बाजुरा, बझाङ, अछाम, डोटी, दार्चुला, बैतडी र डडेल्धुराबाट गरी दैनिक ३ सय देखि ७ सय बिरामीलाई उपचार पुर्याउँदै आएको थियो। यो अस्पताल विशेषगरी महिला स्वास्थ्य, कुष्ठरोग र क्षयरोगको उपचारका लागि निकै राम्रो मानिन्छ।
जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरामा सधैँजसो डाक्टरको अभाव हुने गरेकोमा यस सुदूरपश्चिम क्षेत्रका लागि टिम अस्पतालले २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आएको थियो। ४२ वर्षदेखि टिम नेपाल नामक संस्थाको प्रत्यक्ष निगरानीमा सञ्चालन हुँदै आएकोमा गत मंसिर ७ गतेदेखि टिम नेपाल र नेपाल सरकारबीच अस्पताल सञ्चालनसम्बन्धी सम्झौता औपचारिक रुपमा सकिएपछि अस्पताल बन्द गर्नुपर्ने अवस्था आएको टिमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारी तथा गैरसरकारी अस्पतालहरुलाई समुदायमा हस्तान्तरण गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रमअनुसार २०६३ चैत १ गतेको मन्त्रिपरिषद्को निर्णय मोजिम राष्ट्रियस्तरको गैरसरकारी संस्था मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाले यही मंसिर ६ गतेसम्म यस अस्पतालको स्वामित्व दिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे पनि स्वास्थ्य मन्त्रालयले त्यसतर्फ कुनै ध्यान नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पताल बन्दपछि ६ जनाको मृत्यु टिम अस्पताल बन्द भएपछि उपचार नपाएर हालसम्म २ महिलासहित ६ जनाको मृत्यु भइसकेको छ। प्रसूति सेवा नपाएकाले बझाङ आलिगडाकी २३ वर्षीया धौली सुनार र बझाङ बित्थडकी ३६ वर्षीया उमादेवी खड्कासहित ४ जना पुरुष गरी ६ जनाको मृत्यु भएको छ। टिम अस्पतालको सेवा बन्द गरेपछि डडेल्धुरा मणिलेक- ५ का ५५ वर्षीय नरबहादुर साउदको मृत्यु भएको थियो भने उपचारका क्रममा नेपालगन्ज तथा सीमावर्ती भारतीय सहरमा लैजाँदै गर्दा महिलाहरुको मृत्यु भएको थियो। लाखौंको औषधि खराब हुने अवस्थामा बन्द अवस्थामा रहेको सुदूरपश्चिमाञ्चलकै सबैभन्दा ठूलो टिम अस्पताल सञ्चालनका लागि सरकारले कुनै पहल गरेको थिएन। उपक्षेत्रीय अस्पतालको |