यी मापनकेन्द्रहरुले उपत्यकाको वायुप्रदूषणको हालको स्थिति विश्व स्वास्थ्य संगठनको निर्देशिकाभन्दा निकै माथि रहेको देखाएका छन्। उपत्यकाका ६ स्थानमा राखिएका वायुप्रदूषण मापनकेन्द्रहरुले दिएको तथ्यांकअनुसार सन् २००७ मा काठमाडौं उपत्यकाको हावामा औसत पीएम १० -१० माइक्रनभन्दा साना कणहरु) को मात्रा ११८ माइक्रोग्राम प्रतिघनमिटर थियो। यो विश्व स्वास्थ्य संघले तोकेको निर्देशिकाभन्दा झन्डै ६ गुणा बढी छ। विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार हावामा पीएम १० को मात्रा २० माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम हुनुपर्छ। वातावरण र जनस्वास्थ्य संस्था एन्फोका भूषण तुलाधर भन्छन्- ँकाठमाडौंको वायुप्रदूषणको मूल कारण यहाँको हावामा भएका अत्यधिक मात्रामा मसिना धूलाका कणहरु हुन्। विशेषगरी कुनै पनि इन्धन बाल्दा उत्पन्न हुने यस्ता कणहरुमा हानिकारक रसायन टाँसिएर रहने र मानिसले सास फेर्दा शरीरको भित्री भागसम्म पुग्ने भएकाले यसका कारण दम, खोकीजस्ता श्वासप्रश्वासम्बन्धी स्वास्थ्य समस्याका साथै क्यान्सरजस्ता डरलाग्दा रोग पनि निम्त्याउने गर्छ। वातावरणविज्ञ तुलाधरका अनुसार यसका कारक तत्त्व गाडीहरुबाट निक्लने धूवाँ, सडकको धूलो र पुराना इँटाभट्टाहरु नै हुन्।
काठमाडौंको बढ्दो वायुप्रदूषणले गर्दा उपत्यकाका प्रमुख अस्पतालहरुमा खासगरी श्वासप्रश्वासका बिरामीको चाप बर्सेनि बढिरहेको छ। विश्व बैंकको अध्ययनअनुसार सन् १९९६ मा काठमाडौंको प्रदूषित वायुका कारण प्रतिवर्ष८४ जना मानिसको मृत्यु हुने गरेकोमा वातावरण मन्त्रालयले हाल गरेको अनुमानअनुसार उपत्यकाको वायुप्रदूषणका कारण बर्सेनि करिब १६ सय मानिसको मृत्यु हुने गरेको छ। यस्तैगरी पाटन अस्पतालले गरेको अध्ययनअनुसार पनि हरेक वर्ष खासगरी जाडो याममा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीको संख्या बढिरहेको छ। यो समस्या काठमाडौं उपत्यकाबाहिरका मानिसको तुलनामा काठमाडौं उपत्यकामा बढी छ। सन् १९९७ मा स्वास्थ्य सेवा विभागद्वारा प्रकाशित तथ्यांकअनुसार नेपालको वार्षिक कुल मृत्युमध्ये ५ प्रतिशत र सहरी क्षेत्रको कुल मृत्युमध्ये १८ प्रतिशतको मृत्यु श्वासप्रश्वास रोगले गर्दा हुने गरेको पाइएको थियो। मानिसलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्नुमा धूमपान एउटा कारण भए तापनि वायुप्रदूषण नै प्रमुख कारण रहेको वातावरणविद सञ्जीव प्रधान बताउँछन्। उनका अनुसार वायुप्रदूषणले स्वास्थ्यमा असर पार्नुका साथै केटाकेटीहरुको बौद्धिक विकासमा पनि नकारात्मक असर पार्छ। वायुप्रदूषणका कारण मानिसको स्वास्थ्यमा धेरै नकारात्मक असर परिरहेको भए पनि प्रदूषण नियन्त्रण गर्नेतर्फसरकारले कुनै कदम थालेको छैन। प्रदूषणमुक्त वातावरणमा बस्न पाउने, स्वस्थ हुन पाउने कुरा संवैधानिकरुपमा मौलिक अधिकारका रुपमा स्थापित गरिए पनि यसको कार्यान्वयनतर्फ सरकार गम्भीर बनेको छैन। वातावरण मन्त्रालयले सहरमा प्रदूषणको स्थिति मापन गरेर सामान्य रेकर्ड राख्ने काम गरेको छ। तर जनताको स्वास्थ्यरक्षा गर्ने जिम्मा लिएको स्वास्थ्य मन्त्रालय र सवारीसाधनसँग सम्बद्ध यातायात व्यवस्था मन्त्रालयले सहरमा भइरहेको चरम वायुप्रदूषणलाई नियन्त्रण गर्नेतर्फ काम गरिरहेको देखिंदैन। सहरको वायुप्रदूषण घटाउन सकिने किसिमको समस्या हो। सन् २००३ देखि २००५ का बीचमा काठमाडौं उपत्यकाको वायुप्रदूषणमा निकै कमी आएको थियो। पुराना चिम्नीवाल इँट्टाभट्टा नियन्त्रण, बढी प्रदूषण गर्ने विक्रम ट्याम्पोहरुको विस्थापन आदिले काठमाडौं उपत्यकाको वायुप्रदूषण सन् २००४ मा २० प्रतिशतले र त्यसको तुलनामा सन् २००५ मा २४ प्रतिशले घटेको देखिन्छ। त्यसपछिका वर्षहरुमा डिजेल गाडीहरुको अत्यधिक वृद्धि, पुराना गाडीहरुको संख्या |