तर उनीहरुलाई विभिन्न रोग लागेको वा राम्रो खानपान नभएको अर्थात् पोषणको कमी भएको छ भने शारीरिक, मानसिक विकास स्वाभाविकरुपमा हुन सक्दैन। यसमा बाबुआमा तथा अभिभावकले विशेष ध्यान पुर्याउनुपर्छ। स्वस्थ बालबालिकामा हुने स्वाभाविक विकास क्रमका बारेमा यहाँ केही जानकारी गराउने प्रयास गरिएको छ।एक महिनाको बच्चाः एक महिनाको बच्चाले आवाजको पहिचान गर्न सक्छ। आवाज सुनेर आँखा झिम्क्याउने, आँखा, मुखजस्ता शरीरका कुनै अंग आवाज आएतिर फर्काउने गर्न थाल्छ। आमासँग टाँसिन खोज्छ। खाना, सुरक्षा आदिको लागि आमा वा अरुमा निर्भर हुन्छ।४ देखि ६ हप्ताः यस उमेरको बच्चासँग कुरा गर्दा, अंकमाल गर्दा, गाला र चिउँडो सुमसुम्याउँदा मुस्काएको जस्तो गर्छ। ६ देखि ७ महिनाः बच्चाले मामा, दादाजस्ता शब्दहरु अस्पष्ट रुपमा बोल्ने गर्छ। तर ९ देखि ११ महिनामा यस्ता शब्दको बोलीमा क्रमिक रुपले स्पष्टता आउँछ। ६ देखि ७ महिनामा तलका अगाडिका दुईवटा दाँत उम्रिन थाल्छ।
१८ महिनाः यस उमेरमा २ देखि २० शब्दको शब्दकोष प्रयोग गर्ने गर्छ। यसै क्रममा उसले आमाबुबाको बोलीको नक्कल गर्न खोज्छ। १८ महिना देखि ३ वर्षः यस उमेरको बच्चा एक्लै खेल्न सक्छ। बच्चाले खतरा, दुर्घटनाहरुको बारेमा सिक्दै जान्छ। जस्तै- आगोसँग डराउनु, सिँढी ओर्लिन नमान्नु, खाटबाट सतर्कतासाथ तल ओर्लिनु, एक्लै बस्न नरुचाउनु, सुरक्षा खोज्नु। यस्तै पानी छुनु, आफ्नै हातले खान खोज्नु, हातले दराज खोल्नु, ढोका खोल्नु, बन्द गर्नु जस्ता अनेक प्रयोगहरु गर्न खोज्छ। बच्चालाई शौचालय जान तालिम दिन सकिन्छ। सोहीअनुसार उसलाई दिसापिसाब लागेको जानकारी आमा-बुबा वा अभिभावकलाई इशारा, संकेत वा अन्य माध्यमले गराउन सक्छ। उचित पुरस्कार र उचित दण्ड दिएर कुन-कुन कुरा राम्रो र कुन-कुन कुरा खराब भन्ने चेतना/ज्ञान दिन सकिन्छ। ३ वर्षको उमेरमा बच्चाको शब्दकोश बढेर २ सय शब्दसम्म पुग्छ। ४ देखि ५ वर्षः बच्चाले भाषा बुझ्न थाल्छ। घरवरिपरिको बच्चासँग खेल्न रमाउँछ। बच्चाले केटा र केटीमा फरक छुट्याउन सक्छ। लिंग पहिचान गर्न सक्छ। माता-पिता तथा अभिभावकको पहिचान गर्न सक्छ। क्रमशः अरुले गरेको कार्य नक्कल गर्न मन पराउँछ। बच्चामा कथावाचनको समेत क्षमता हुन्छ। उसले आफ्नो अनुभव अरुलाई सुनाउन सक्छ। नजानेको शब्दको बारेमा जान्न र बुझ्न खोज्छ।
|