माघको अन्तिम साता अस्पतालको न्युरोलोजी वार्डमा उपचार गराइरहेका थापाले साधनासँगको भेटमा आफ्ना तीन भाइ छोरा रहेको बताए। हेर्दा सम्पन्न परिवारका जस्ता देखिने थापासँग छोराहरु कहिले आउँछन् त ? भनेर सोध्दा आँखाबाट आँसु झार्दै मेरो कोही पनि छैन भनेर सुस्केरा हाले। त्यसपछि उनको गला अवरुद्ध भयो।
अस्पतालको आपतकालीन कक्षमा कार्यरत प्रहरी दधिराम शर्माका अनुसार थापालाई अस्पताल ल्याएको रातमा उनको साथमा एक जना महिला थिइन्। प्रहरीले उनी थापाकी श्रीमती भएको आशंका गरेको छ। शर्माले भने- ँअप्रेसनमा पैसा लाग्ने डरले ती महिला उज्यालो नहुँदै बेपत्ता भइन्। हामीले जिम्मामा बसेर सम्पूर्ण उपचार निःशुल्क गरिदियौं।’ अस्पतालमा उपचार खर्च बढी लाग्ने देखेपछि बिरामीका आफन्तहरु कुनै बहाना खोजेर यसरी नै सुटुक्क भाग्ने गरेको अस्पताल पोस्टका प्रहरीहरु बताउँछन्। चितवन टारी घर भएका टमबहादुर घलेले ०६३ जेठमा उपचार गराउन ल्याएका ८ वर्षका छोरा सूर्यबहादुरलाई कान्ति बालअस्पतालमै छोडेर भागे। प्रहरीले खोजी गर्दा उनलाई कतै फेला पार्न सकेन। अस्पतालले बालकलाई उपचार गरी बालमन्दिरमा पठाइदियो। उपचार गर्न अस्पताल पुर्याएर आफन्तबाट छोडिएका थापा र घले त उदाहरण मात्र हुन्। राजधानीको सरकारी अस्पतालमा पछिल्लो केही समययता बिरामीको उपचारमा खर्च गर्नुको साटो अलपत्र छोडेर भाग्ने प्रवृत्ति बढिरहेको छ। भर्खरै जन्मेका नाबालक सन्तान हुन् वा जीवनको अन्तिम घडीमा पुगेका वृद्ध आमाबुबा नै किन नहुन्, अस्पतालमा छोडेर भाग्नेहरु कम छैनन्। दया-माया नभएका निर्दयीहरुले यसरी नै उपचारको सट्टा अस्पतालमा छोडेर भाग्ने गरेको पाइन्छ। आफन्तको जीवनरक्षाभन्दा पनि पैसाको लोभमा परेर आफ्ना कलिला सन्तान र जन्मदिने आमाबुबालाई छोडेर जाने अमानवीय प्रवृत्तिको विकास भइरहेको देखिन्छ। त्यस्तै सोचको सिकार बनिन् एक नवजात शिशु पनि। धादिङ खानीखोला- ७ का बद्री गिरी र मैया गिरीले ०६३ साउन २९ गते २ दिनकी नाबालिक छोरी अस्पतालमै छोडेर गए। छोराको आश गरेका गिरी दम्पती सुस्त मनस्थितिकी छोरी जन्मेपछि भागे। ललितपुर लेलेका बुद्धिबहादुर तामाङलाई बुढेसकालमा उपचार गराउन पाटन अस्पताल ल्याएका छोरा-बुहारी पनि पत्तो नै नदिई सुटुक्कै भागे। झन् बढी रेखदेख गर्नुपर्ने बेलामा वृद्ध बाबुलाई अस्पतालको शय्यामा बिचल्लीमा पारेर गए। रोगले थला परेपछि आफूले जन्माएका सन्तान र जन्म दिने आमाबुबा नै बोझ ठानेर उपचार गर्ने बहानामा अस्पताल पुर्याई छोडिएपछि यस्ता बिरामीको अवस्था झन् दयनीय बनेको छ। उनीहरु शारीरिक अस्वस्थतासँगै मानसिक रुपमा पनि अस्वस्थ बनेका छन्। दुःख परेको बेला नसम्झने सन्तान र अभिभावकलाई थापाले झैं अरु बिरामीले पनि धिक्कारिरहेका छन्। अस्पतालमा भर्ना भएका बेवारिसे बिरामीहरुको अवस्था एकदमै दयनीय रहेको छ। उपचार गराउन आएका आफन्तहरु निको बनाएर घर लानुको साटो उनीहरु औषधि किन्ने वा कुनै बहाना झिकेर भाग्ने गर्छन्। अस्पतालले उनीहरुलाई निःशुल्क सेवा-सुविधाहरु दिए पनि कुरुवाविनाका बिरामीहरु हेरचाह र स्याहारसुसार गर्ने व्यक्तिको अभावमा बिचल्लीमा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। अन्य बिरामीसरह त्यस्ता बिरामीको स्वास्थ्यकर्मीले समेत त्यति ख्याल नगर्ने गरेको बताइन्छ। बिरामी आउँछन्, तत्काल निगरानी राख्ने मान्छे नहुँदा राम्रो उपचारमा समस्या पर्ने गरेको छ। पाटन अस्पताल प्रहरी प्रभागका इन्चार्ज यज्ञबहादुर बुढाथोकी भन्छन्- ँअरुले जति नै सेवा गर्छु भने पनि कुरुवाले जस्तै बिरामीलाई रुँघेर बस्न त सकिंदैन नि ?’ यस्ता बिरामीहरु अधिकांश सरकारी अस्पालमा हुन्छन्। बेवारिसे बिरामीको सबैभन्दा बढी वीर अस्पतालले नै उपचार गर्ने गरेको छ। अरु अस्पतालले पनि वीरमा नै रिफर गरिदिने परिपाटी बनेको अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ। वीर अस्पतालमा माघ महिनासम्म एक वर्षको अवधिमा ३ सय ४३ जना नाम नखुलेका बिरामी भर्ना भएको अस्पतालको आपतकालीन कक्षको तथ्यांकमा उल्लेख छ। यसरी भर्ना भएकामध्ये २५ प्रतिशत |