|
हेल्थ न्युज धुलिखेल अस्पतालले तातोपानीमा सुत्केरी गराउने सामुदायिकरुपमा सञ्चालित धुलिखेल अस्पतालले तातोपानीमा सुत्केरी गराउन सुरु गर्ने भएको छ । सुरक्षित सुत्केरीसँगै व्यथा लाग्दाको अवस्थामा हुने पीडा कम गर्न यस किसिमको प्रसूति सेवा सञ्चालन गर्न लागिएको सो अस्पतालका प्रसूतिरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार यस किसिमको सेवा मुलुकमै पहिलो पटक सुरु हुन लागेको हो । डा. ताम्राकारका अनुसार यस्तो पद्धतिमा महिलालाई राखिने पानीको तापक्रम शरीरको तापक्रमसँग बराबर पारिन्छ । यसले सुत्केरीको पीडा कम हुन्छ । जसरी थकाइको बेला तातोपानीले नुहाउँदा आनन्द हुन्छ, त्यसरी नै सुत्केरीलाई कम पीडा महसुस हुन्छ । विकसित मुलुकमा पानीभित्र सुत्केरी गराउने प्रविधि धेरै स्वास्थ्यसंस्थाले प्रयोगमा ल्याए पनि नेपालमा यसअघि सुरु गरिएको थिएन । सरसफाइ कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन भक्तपुरले प्याब्सन स्थापना दिवसको अवसरमा रक्तदान एवम् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन सप्ताहअर्न्तर्गत प्याब्सन भक्तपुरमा आबद्ध विद्यालयका शिक्षक, विद्यार्थीले भक्तपुरमा रहेको ऐतिहासिक र्सर्ूयविनायक मन्दिरमा सरसफाइ गरेका छन् । मन्दिरवरिपरि र वनभोजस्थलको सरसफाइ गरेको प्याब्सन भक्तपुरका अध्यक्ष भुवनलाल श्रेष्ठले जानकारी दिनुभएको छ । त्यसैगरी प्याब्सन भक्तपुरको पहलमा दूधपाटीमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । रिक्तदान कार्यक्रम सम्पन्न अन्नपूर्ण नेवा समाज दरबारमार्गको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त समाजका सचिव ओमकुमार प्रधानको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ९ जना महिलासहित ६४ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा समाजका प्रमुख सल्लाहकार रामकृष्ण चक्रधरले रक्तदाताहरुलाई डोनर पिन प्रदान गर्नुभएको थियो । पाठेघरसम्बन्धी स्वास्थ्य शिविर बुद्ध एयरको आर्थिक एवम् स्वास्थ्य मानव समाजको प्राविधिक सहयोगमा लम्जुङको रम्घा गाउँमा दुइ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर महिलाको आङ खस्ने -पाठेघर) सम्बन्धी रहेको थियो । स्थानीय शान्ति आमा समूहको आग्रहमा सञ्चालित शिविरमा ३ सयभन्दा बढी महिलाको रिङ राखेर उपचार गरिएको थियो । शिविरमा आएकामध्ये ६ जनाको अप्रेसन गर्नुपर्ने अवस्था रहेको उक्त समाजले जनाएको छ । शिविरमा डा. दीपक बराल, डा. शान्ति हुमागाईं, डा. लिना श्रेष्ठ र डा. अनुजा पाठकले उपचार गरेका थिए । संस्थाले एक वर्षभत्र ग्रामीण क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी १५ हजारभन्दा बढीको आङ खस्ने समस्याको उपचार गर्ने लक्ष्य लिएको जानकारी गराइएको छ । िनःशुल्क स्वास्थ्य शिविर सम्पन्न अल्का अस्पतालले ललितपुर उपमहानगरपालिकाको लाछीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । अस्पतालले आयोजना गरेको उक्त शिविरमा ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जानकारी गराइएको छ । शिविरमा नाक, कान र घाँटीको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा चिकित्सकहरु दीपेन्द्र श्रेष्ठ र लालकिशोर यादवले परीक्षण गर्नुभएको थियो । रामेछापमा निःशुल्क आँखा शिविर तामाकोशी सहकारी अस्पताल, तिलगंगा आँखा केन्द्र र रामेछाप सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा रामेछापको हिमगंगा गाविसमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ९३ जना आँखारोगीले परीक्षण गराएकोमा १४ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने जनाइएको छ । जिल्लाका ६ भन्दा बढी गाविसका आँखारोगी परीक्षणका लागि आएका थिए । स्वास्थ्यकर्मी सुदन वाग्लेको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीले आँखा परीक्षण गरेका थिए ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |