| - |
अनुहार कुरुप बनाउने सोराइसिसको उपचार डा. सुपर केसी कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ
सोराइसिस एक प्रकारको वंशाणुगत र अटो इम्युन (Autoimmune) रोग हो । अटो इम्युन भनेको आफ्नो शरीरको रोगसँग लड्न सक्ने क्षमता गोलमाल भई आफ्नै शरीरलाई बिगार गर्ने तत्त्व उत्पादन भई क्षति पुर्याउने प्रक्रिया हो । सोराइसिसमा छालाको पहिलो पत्र असामान्यरुपले बढ्दै गएर बाक्लो सेतो कत्ले रोगको रुपमा प्रकट हुन्छ । यो कुनै पनि बेला जो-सुकैमा देखिन सक्छ । असाध्य चिलाउने रोग सोराइसिस एकदमै चिलाउने कत्ले रोग हो । यो रोग सुरुमा रातो-रातो थोप्लाजस्तो चिलाउने दानाको रुपमा देखा पर्छ र विस्तारै ठूलो-ठूलो हुँदै जान्छ । थोप्लाबाट पाप्राहरु र ठूला सेता कत्ला भएका चक्काहरु देखा पर्न थाल्छन् । टाउकोमा देखिँदा मान्छेहरु चाया परेको भनी चायाको उपचार गरेर बस्छन् । सामान्यतया यो रोग पहिला घुँडा, कुहिना, नलीखुट्टा र हातहरुमा देखा पर्दछ । त्यसपछि यो ठूलो हुँदै जान्छ र ढाड, पेट, काछतिर पनि फैलिन थाल्छ । अत्यन्त चिलाउने रोग भएकोले कन्याउँदा घाउ हुन्छ । कन्याउने क्रममा बिस्तारै अन्य भागतिर पनि यो रोग आउँछ । हत्केला र खुट्टाका पैतालाहरुमा यो बाक्लो मोटो छालाको रुपमा प्रकट हुनाले छुट्याउन गाह्रो हुन्छ । औंलाका नङहरुमा स-साना थोप्लाजस्तो भएर प्रकट हुन्छ । पछि औंला र खुट्टामा गम्भीर प्रकारको जोर्नीको रोगमा परिणत हुन्छ । कुनै अवस्थामा यो पाकेको जस्तो भएर आउँछ । विभिन्न औषधिको सेवनपछि पनि आउन सक्छ । सोराइसिस मुखमा कम देखा पर्छ । यो जाडो महिनामा बढ्छ र गर्मी महिनामा कम हुन्छ । यो सरुवा रोग होइन तर परिवारमा भने देखिन सक्छ । यो रोग विभिन्न प्रकारको हुन्छ । कसै-कसैमा यो एकै ठाउँमा मात्र रहन सक्छ । सानो दादको रुपमा एकै ठाउँमा रहने वा हराउने पनि हुन्छ । यो रोग कसैको टाउको वा हातखुट्टामा मात्र रहन्छ । कसै-कसैमा चाहिँ यो सारा जीउभरि फैलिएको हुन्छ । कुनै-कुनै बेला घाँटीको संक्रमणपछि २-३ हप्तामा छालामा साना थोप्लैथोप्लाजस्तो कत्लादार घाउहरु आउँछन् । यो थोप्ले सोराइसिस हो । धेरै चिकित्सकहरु यसलाई औषधिको रियाक्सन भनेर झुक्किन्छन् पनि । सोराइसिसको प्रकारमध्ये जीउभरि सेतो पीपको पोकाहरुजस्तो देखिने (Pustular) सबैभन्दा डरलाग्दो सोराइसिस हो । यस रोगमा देखिने यी पीपका पोकाहरुमा कुनै कीटाणुहरु हुँदैनन् । धेरै चिकित्सकहरु पनि यो अवस्था इन्फेक्सन होला भनेर उपचार गरिरहेका हुन्छन् । यो गम्भीर प्रकारको अवस्था हो ।
सोराइसिस चर्मरोग विशेषज्ञलाई छुट्याउन सहज भए पनि अरुलाई अन्य रोगसँग छुट्याउन गाह्रो पर्न सक्छ । चायाको रोग, ढुसीबाट हुने रोग, इन्जेमा, लाइचेन प्लानस, औषधिका रियाक्सनहरु यस रोगसँग मिल्दाजुल्दा भएकाले विशेषज्ञको पार्रमर्श अनिवार्य हुन्छ । रोगको पहिचानका लागि छालाको विभिन्न परीक्षण गर्नुपर्ने हुन सक्छ । सोराइसिस र मानसिक तनाव सोराइसिसले मानिसलाई शारीरिकरुपबाट भन्दा पनि मानसिक रुपबाट अत्यन्त कमजोर एवम् बिरामी बनाउँछ । यस रोगले भित्री अंगहरुमा हुने ठूलो समस्या खडा नगरे पनि छालाको सौर्न्दर्य पूर्ण् रुपमा विरुप बनाउने भएकोले मानिसहरु बाहिर ननिस्कने, साथीभाइहरुकहाँ नजाने र मानसिक सन्तुलन गुमाउने अवस्थासम्म पुग्छन् । यसै कारणले सोराइसिसलाई शारीरिकभन्दा मानसिकरुपमा घात गर्ने रोगको रुपमा लिइन्छ । यसैकारण यस रोगका बिरामीलाई राम्रो परामर्श गर्न अत्यन्त आवश्यक हुन्छ ।
नियन्त्रण गर्न सकिन्छ
विभिन्न लगाउने मलमहरुः नफैलिएको अवस्थाको रोगमा विभिन्न प्रकारको लगाउने औषधिहरुबाट नियन्त्रण गर्न सकिन्छ । जस्तै- स्टेरोइड (Steroid) मलमहरु, कोलटार मलमहरु, डेमोनेक्स मलमहरु, एन्थ्रालिन क्रिमहरु आदि । यी औषधिहरु पनि विभिन्न शक्तिका हुनाले विशेषज्ञको परामर्शबाट मात्र प्रयोग गर्नुपर्छ । एउटै प्रकारको मलम धेरै अवधि लगाएमा ओषधि काम नलाग्ने भएर जान्छ । खाने औषधिहरुः मलमले नियन्त्रण हुन नसकेमा बिरामीहरुमा खाने औषधि प्रयोग गरिन्छ । खाने औषधिहरु अत्यन्त सावधानीसाथ प्रयोग गर्नुपर्ने हुन्छ । अवस्था हरेर औषधि थपघट पनि गर्न सकिन्छ । सेक्ने प्रविधिः जीउको धेरै भागमा भएको र अन्य उपचार प्रविधिले नियन्त्रण नभएपछि सोरालिन भन्ने औषधि खुवाएर वा लगाएर विशेष प्रकारको प्रकाशले सेकिन्छ । यसलाई पुभा (Puva) थेरापी भनिन्छ । आजकल औषधि नखाईकन पनि सेकिन्छ । यसबाहेक लेजर पनि प्रयोग गर्न सकिन्छ । अचेल यस रोगका लागि विभिन्न अनुसन्धानहरु भइरहेका छन् । विशेष प्रकारका खाने र लगाउने औषधिहरु प्रयोगमा आइरहेका छन् । सोराइसिसका बिरामीले आफ्नो आत्मबल उच्च राखी सकारात्मक सोच राख्नु आवश्यक छ । विशेष तनाव तथा अनावश्यक औषधिले यो रोग बढाउँछ । जाडो महिनामा जैतुनको तेल (Oliva Oil) वा नरिवलको तेल वा प्याराफिन तेल (Paraffion Oil) िलगाएर छालालाई बचाउनुपर्छ । घाममा बस्नु राम्रो हुन्छ । भइरहेको रोग बढ्यो भने तुरुन्त चर्मरोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |