|
रक्तअल्पताको उपचार डा. शब्बिर खान वरिष्ठ होमियो चिकित्सक रक्तअल्पता अथवा एनिमिया एउटा विश्वव्यापी जनस्वास्थ्य समस्या हो । विकसित देशहरुभन्दा विकासोन्मुख देशमा यो समस्या व्यापकरुपमा छ । नेपालमा रक्तअल्पताकोे समस्या बढी नै छ । यो समस्या जुनसुकै उमेरमा हुन सक्छ । तर पनि बच्चा, बूढाबूढी र गर्भवती महिलामा यो ज्यादा देखा पर्छ । रक्तअल्पता धेरै प्रकारको हुन्छ -जस्तै- Macrocytic Anaemia,Normacytic Anemia, Simplemicrocytic Anaemia,Microcytic Hyprocromic Anaemia आदि ।) रक्तकण कम भएमा रक्तअल्पता भएको मानिन्छ । वयष्क पुरुषमा १२ ग्राम, महिलामा १३ ग्राम र गर्भवती महिलामा ११ ग्रामभन्दा कम हेमोग्लोबिनको मात्रा भएमा रुक्तअल्पता भएको भनिन्छ । रक्तअल्पता भएपछि साधारणतया रोगीको आँखाको ढकनीको भित्री झिल्ली र नङको रातोपनामा कमी हुन्छ । त्यस्तै छालाको रंग पहेँलो हुँदै आउँछ । यसको सामान्य लक्षणहरुमा छिटो थकाइ लाग्नु, भोक कम लाग्नु, कब्जियत हुनु, वाकवाक लाग्नु, मुटुको धड्कन बढ्नु, मांसपेशीहरु दुख्नु, टाउको दुख्नु, रिंगटा लाग्नु आदि मुख्य हुन् । यसबाहेक हातगोडामा चिसोपन, खुट्टा सुन्निने, स्मरणशक्तिमा कमी, यौनक्षमतामा कमी हुनेजस्ता लक्षण पनि देखिन सक्छन् । उपर्युक्त लक्षणहरुमध्ये केही लक्षणहरु मात्र रोगीमा देखा पर्न सक्छ । हेमोग्लोबिनले शरीरको विभिन्न कोषहरुमा अक्सिजन पुर्याउने काम गर्दछ । शरीरमा पाइने रातो रक्तकण (R.B.C) मा हेमोग्लोबिन पाइन्छ । रक्तअल्पताको स्थितिमा शरीरको विभिन्न क्रियामा असर पर्दछ । मस्तिष्क, मुटु, कलेजो, मांसपेशी आदि विभिन्न अंगको कार्यमा कमजोरी आउँछ । फलामको कमीबाट शरीरको फर्ूर्तिपना तथा मस्तिष्कको कार्यक्षमतामा समेत कमी आउँछ । गर्भावस्थामा रक्तअल्पताको कारण नवजात शिशुको वजनमा कमी र रोग हुने सम्भावना बढी हुन्छ । यस्ता आमाको प्रसूतिको समयमा अलि बढी रक्तस्राव भयो भने ज्यान जाने खतरा पनि हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा ९० प्रतिशत रक्तअल्पताको कारण फलामको कमी हो । केही रोगीहरुमा फोलिकएसिड, पाइरीडोक्सिन, भिटामिन बी १२ र राइबोफ्लेभिन भिटामिनको कमीबाट रक्तअल्पता हुन जान्छ । प्रोटिनको कमी पनि रक्तअल्पताको कारण हुन सक्छ । बच्चाहरुमा कुपोषण, पेटमा पर्ने जुका पनि यसको कारण बन्न सक्छ । त्यस्तै टीबी, वात, कलेजोको रोग, क्यान्सर आदि पुराना रोगको कारणले पनि रक्तअल्पता हुन जान्छ । शरीरमा फलाम तत्त्वको कमी हुनुमा आहारमा माछा-मासुको मात्रा नहुनु वा कम हुनु र भिटामिन ँसी’को कमी हुनु मुख्य कारण हुन् । भिटामिन ँसी’ कागती, सुन्तला, मौसम, अमला अदि फलफूलमा पाइन्छ । रक्तअल्पताको उपचार त्यसको कारणमा निर्भर गर्दछ । मुख्य कारण फलाम तत्त्वको कमी हो । यसलाई आहारामा सुधार ल्याएर हटाउन सकिन्छ । यदि रक्तअल्पता अन्य भिटामिनको कमीले भएको छ भने खानामा केरा, कागती, सुन्तला, अमला, स्याउ आदि फलफूलको प्रयोग बढाएर सुधार गर्न सकिन्छ । गर्भवती महिलालाई गर्भावस्थामा आइरन र फोलिक एसिडयुक्त औषधि खान डाक्टरले सुझाव दिन्छन् । होमियोप्याथीमा रक्तअल्पता उपचारको लागि समान लक्षणमा आधारित होमियोप्याथी औषधिहरुको सेवन गराइन्छ । यस्ता औषधिको सेवनबाट रक्तअल्पतामा सुधार ल्याई रक्तअल्पताको कारणबाट हुने अन्य रोगहरुबाट पनि जोगिन सकिन्छ ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |