|
म्याग्दी जिल्ला अस्पतालको कमजोर स्वास्थ्य सेवा धुवसागर शर्मा/म्याग्दी मनोमानी प्रवृत्ति र व्यापारमुखी कर्मचारीहरूका कारण म्याग्दी जिल्ला अस्पतालले पर्याप्त सेवा दिन सकेको छैन । दुइ दशकअघि स्थापना भएको यो अस्पतालमा अहिले सेवा कम र व्यापार बढी हुने गरेको पीडित बिरामीहरू बताउँछन् । अस्पतालमा आएका बिरामीहरूका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले डाक्टरको निर्देशन अवज्ञा गर्दै सरकारले निःशुल्क उपलब्ध गराउने ४० प्रकारका औषधिहरूसमेत अस्पतालबाट नदिई अस्पतालबाहिर रहेका आफ्ना निजी क्लिनिकबाट दोब्बर मूल्यमा बिक्री गर्ने गरेका छन् । १५ शय्या क्षमताको यस अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीलाई अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले अशिष्ट व्यवहार गर्ने गरेको, डाक्टरले लेखिदिएको औषधि आफ्नो क्लिनिकबाट ल्याउन बाध्य पार्ने गरेको र डाक्टरले स्वास्थ्यपरीक्षणपछि दिएको औषधिको पर्चा अहेवहरू आफैंले लिएर बिरामीका आफन्तलाई आफ्ना क्लिनिकमा लगी दोब्बर मूल्यमा औषधि बेच्ने गरेको पुलाचौरकी मनकुमारी बानियाँले बताइन् । यसैगरी उपचार गर्न जाँदा अस्पतालका बेड खाली हुँदाहुँदै पनि खाली छैन भनेर आफूलाई फर्काउन खोजेको अर्थुङ्गेका नवराज ढुंगानाले गुनासो पोखे । बिरामी छोरा लिएर उपचारका लागि अस्पताल आएकी ज्यामारुककोट-९, खबराकी लक्ष्मी खड्का अस्पतालका कर्मचारीको व्यवहार र उपचारस्थलको फोहोरले कुरुवा पनि बिरामी हुने अवस्था आएको बताउँछिन् । बिरामीहरुले दिएको जानकारीअनुसार अस्पतालमा कार्यरत आचार्य थरका एक कर्मचारीले बिरामीका आफन्तलाई अस्पतालबाहिर रहेको आफ्नो निजी क्लिनिकबाट औषधि किन्न बाध्य बनाउने गरेका छन् । अस्पताल सेवामुखी होइन, व्यापारमुखी पो रहेछ’, पिप्लेकी नीरकुमारी हिराचनले दुखेसो पोखिन्- ँर्सुइ र स्लाइन पनि बाहिरबाट किन्नुपर्ने रहेछ ।’ उता अस्पतालका प्रमुख डा. लालबहादुर मल्ल अस्पतालमा धेरै समस्या रहेका तर पर्याप्त प्रमाण र विश्वस्त जानकारीको अभावमा यस्ता समस्या समाधान गर्न नसकिएको बताउनुहुन्छ । अस्पतालभित्र निःशुल्क पाइने औषधि केही अहेवहरूले बाहिर रहेका आफ्ना निजी क्लिनिकबाट दोब्बर मूल्यमा बेचिरहेको कुरा उठाउँदा डा. मल्लले भन्नुभयो- ँत्यसो नहुनुपर्ने हो, यदि भएको पाइएमा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ डा. मल्ल यस विषयमा उपभोक्ताहरू पनि सचेत हुनुपर्ने सुझाव दिनुहुन्छ । औषधि खरिद गर्नुअघि गुणस्तरीयताबारे जानकारी लिनुका साथै औषधि किनिसकेपछि बिल पनि अनिवार्य लिनुपर्छ । एन्टिबायोटिक, स्प्रिक्लासिङ, सिटामोल, बु्रफेन, अन्टालसेन्ट ट्याब्लेट, जुकाको औषधि, एलर्जीको औषधि, स्लाइनलगायतका ४० किसिमका औषधि सरकारले जिल्ला अस्पतालमार्फ निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराएको र्सुइ यस अस्पतालमा उपलब्ध नभएकाले बाहिरबाट बिरामी आफैंले ल्याउने गरेको अस्पतालको एक सूत्रले जनाएको छ । तर सरकारले घोषणा गरेअनुसारको निःशुल्क पाइने ४० प्रकारका औषधि अस्पतालमा पर्याप्त भएको जनाउँदै डा. मल्लले भन्नुभयो- ँयदि कुनै कारणले बिरामीले ती औषधि नपाएका भए पीडितले हामीलाई जानकारी गराउनुपर्यो ।’ यस अस्पतालमा जनशक्तिको पनि अभाव छ । तीन जना स्टाफनर्सको दरबन्दी रहेकोमा हाल एक जना पनि नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ । दुइ जना अहेवको मात्र दरबन्दी भएकाले बिरामीले समयमै उपचार पाउन नसकेको अहेव भरत आचार्य बताउँछन्् । बिरामी कुरुवाको लागि निर्मित भान्छाकोठालाई पनि आकस्मिक कक्ष बनाइएको छ । यस्तै केही समययता अस्पतालमा उपचार गराउन आउने सामान्य बिरामी पनि रिफर हुन थालेका छन् । बढ्दो असुरक्षाका कारण जोखिम मोलेर सेवा दिन नसकिने भएकाले यस्तो अवस्था आएको स्वास्थ्यकर्मीहरू बताउँछन् । त्यस्तै अस्पतालमा रहेका दुइ मध्ये एउटा एक्सरे मेसिन बिग्रिएको छ । थन्क्याएर राखिएको वर्षौं पुरानो मेसिन प्रयोगमा ल्याइएको छ । अस्पताल प्राङ्गण फोहोर जम्मा गर्ने डम्पिङ साइटजस्तो बनेको छ । अस्पतालमा एम्बुलेन्स त छन् तर चालकहरु छैनन् । रेडक्रस, भूपू सैनिक र जिल्ला अस्पतालका गरी म्याग्दीमा तीन वटा एम्बुलेन्स रहेकोमा हाल अस्पतालको एउटा एम्बुलेन्स मात्र चालू अवस्थामा छ । अस्पतालको सरसफाइका लागि पर्याप्त जनशक्ति हुँदाहुँदै पनि अस्पतालका डाक्टरले नै फोहोर टिपेर फाल्नुपर्ने बाध्यता छ । डा. मल्ला भन्नुहुन्छ- ँकति भन्नु, कसैले वास्ता नगरेपछि आफैंले भए पनि सरसफाइ गर्नै पर्यो ।’ सुधारको प्रयास म्याग्दी अस्पताललाई सुधार गर्ने प्रयास भने नभएको होइन तर देशको राजनीतिक अस्थिरताको प्रभाव यहाँ पनि परेको छ । राजनीतिक हस्तक्षेपको सिकार भएको यस अस्पतालमा डाक्टरहरूभन्दा कर्मचारी बलिया देखिन्छन् । १५ शय्याको अस्पताललाई २५ शय्याको बनाउने प्रयास भएको धेरै वर्षभइसकेको छ । ३-४ वर्षघिदेखि नै अस्पतालको क्षमता विस्तार गर्न पहल गरिएको भए पनि अहिले आएर बल्ल फाइल स्वास्थ्य मन्त्रालयमा पुगेको अस्पताल विकास समितिका अध्यक्ष क्याप्टेन मीनबहादुर कार्कीले बताउनुभयो । प्रक्रियागत समस्याका कारण फाइल मन्त्रालयको सचिवकहाँ नै अल्भिmरहेको उहाँ बताउनुहुन्छ । बिरामीको चाप बढ्दा भुइँ र पेटीमा राखेर उपचार गर्नुपरेकोमा २५ शय्या बनाएपछि बिरामीले भुइँमा बस्नुपर्ने बाध्यतामा कमी आउने स्वास्थ्यकर्मीहरू बताउँछन् । मैनबत्ती बालेर उपचार गरिँदै आएकोमा हाल जेनेरेटर प्राप्त भएकोले यसलाई छिट्टै प्रयोगमा ल्याइने अस्पतालले जनाएको छ । हजारौं मानिसको जीवनसँग सरोकार राख्ने यस अस्पतालमा बिरामीप्रति हुने हेलचेक्रयाइँ, आफ्नो निजी क्लिनिकबाट औषधि बिक्री गर्ने अहेवहरूको होडबाजी, सरकारले निःशुल्क गराएका औषधिहरू बाहिरबाट किन्नुपर्ने बाध्यता, समयमै उपचार नपाउँदा बिरामीले खेप्नुपर्ने सास्ती, अस्पताल परिसरमा देखिने फोहोर, भौतिक पर्ूवाधारको अभाव, पर्याप्त जनशक्तिको अभाव, कर्मचारीहरू व्यापारमुखी हुनु आदि समस्याको समाधान नहुउन्जेलसम्म म्याग्दी अस्पतालको सेवाको गुणस्तरमा सुधार नहुने सम्बन्धित बिरामीहरुको भनाइ छ । यहाँ देखिएका समस्याको चाँडै समाधान गरिने अस्पताल विकास समितिका अध्यक्ष कार्की बताउनुहुन्छ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |