कामवेग बढाउन शताब्दियौंअघिदेखि नै विभिन्न किसिमका खाद्यवस्तुको प्रयोग गर्ने गरिएको छ। तर कतिपय स्थितिमा प्रभावकारितासम्बन्धी विवाद पनि आउने गरेको छ। परापूर्वकालदेखि नै विशेष प्रकारको भोजनलाई यौनशक्ति प्रदान गर्ने खानाको रुपमा प्रयोग गरिंदै आएका अनेक उदाहरणहरू भेटिन्छन्। कस्ता प्रकारका भोजनलाई राम्रो मान्ने भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास धेरै पहिलेदेखि गरिए पनि यसमा एकरुपता छैन। त्यसैले भोजन र यौनको बारेमा सही जवाफ पाउन कठिनै पर्ने गर्छ।
रजवर्गमा पर्ने अर्थात् राजसी भोजनले शरीरलाई पोषण गर्छ। यसले शारीरिक सक्रियतालाई बढाउने भएको हुनाले चञ्चलता तथा अधैर्यता बढाउन प्रेरित गर्छ, मनको सन्तुलनमा केही गडबडी ल्याउँछ भनिन्छ। विशेष गरेर मसलायुक्त (Spicy) भोजन तथा शरीरलाई उत्तेजित पार्ने कुरा जस्तै कि कफी, चिया, अण्डा, चकलेटजस्ता कुरा यसमा पर्छन्। तामसी भोजनले शरीरलाई भारी बनाउने अनि मनमस्तिष्कलाई बोधो बनाउने गर्छ भनिन्छ। त्यसैले यसले शरीर तथा मनमस्तिष्कलाई फाइदा पुर्याउँदैन। यस वर्गमा पर्ने भोजनमा मासु, माछा, मद्यपान तथा बासी वा अधिक पाकेको भोजन अनि लसुन पनि पर्छ। यहाँसम्म कि आवश्यकताभन्दा बढी भोजनको सेवन पनि तामसिक नै हो भनिन्छ।
राजसी वा तामसी भोजनले यौनवेगलाई बढावा दिने भएकाले परहेज गर्नुपर्ने कुरा गरिन्थ्यो। यस्ता भोजनले यौनकार्यमा संलग्न हुन प्रेरणा दिने विश्वासले परहेज गर्न लगाइएको थियो। वात्सायनको कामसूत्रमा ६४ कलाका कुरा उल्लेख भएकामध्ये विभिन्न परिकार तथा पेयपदार्थ तयार गर्ने सीपलाई पनि एक महत्त्वपूर्ण कलाको रुपमा लिइनुले भोजन र यौनको सम्बन्धलाई दर्शाउँछ। वैज्ञानिकताका कुरा भोजनसम्बन्धी अनेक कुरा गरिए पनि यस्ता कुरामा वैज्ञानिक परीक्षण महत्त्वपूर्ण हुन्छ। यौनेच्छा टेस्टेस्टेरोन नामको हर्मोन (रागरस)ले सञ्चालित गर्छ। सिपी यौनउत्तेजना बढाउने खानाका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ। सिपीमा टेस्टेस्टेरोन बन्न आवश्यक जिंक (Zinc) प्रशस्त मात्रामा पाइने भएको हुनाले यसमा केही हदमा वैज्ञानिक तथ्य लुकेको पनि छ। जिंक विभिन्न किसिमका मासुमा राम्रो मात्रामा पाइन्छ। कुरिलो लिंगको आकारसँग केही मिल्ने मात्र होइन, यसमा भिटामिन ‘ई’को मात्रा प्रशस्त पाइन्छ र यो कुरा रागरस अर्थात् हर्मोन उत्पादन गर्न सहयोगी हुन सक्छ। खुर्सानीमा क्यापसाइसिन (Capsaicin) हुने गर्छ र यसले इन्डोफिर्न (Endorphins) निकाल्न सहयोग गर्ने भएको हुनाले आनन्दको अनुभूति दिन्छ। चकलेटमा अर्गिनाइन (Arginine) पाइन्छ। यसमा पाइने रसायनले मस्तिष्कमा पाइने सेरोटोनिन (Serotonin) लाई प्रभावित गर्न सक्छ, जसले मूड -मनस्थिति) राम्रो वा खुशी बनाइदिन्छ। त्यसैगरी फर्सीको बियाँ र तिलमा पनि आर्जिनिन पाइन्छ। चकलेटलाई पनि यौनवर्द्धक खानेकुरा मानिन्छ। हुन त नेपालमा चकलेटलाई केटाकेटीको खानेकुरा मानिन्छ। अनि चिनीका गोलीलाई पनि चकलेट भन्ने चलन छ, जुन वास्तवमा चकलेट नहुन सक्छ। प्रेमी-प्रेमिकाको एक विशेष खानेकुराको रुपमा चकलेटले मान्यता पाई नै सकेको छ र यो उनीहरूमाझ उपहारको रुपमा पनि निकै नै आदानप्रदान गरिन्छ। यसमा पाइने फेनाइलथाइलामिन (phenylethylamine)ले एक किसिमले राम्रो पनको र खुशीको अनुभूति प्रदान गर्छ, जुन यौनसम्पर्कको लागि पूर्वाधार हो। यस रसायनले आफू प्रेममा भएको अनुभूतिलाई बढाउन सक्छ। यौनजीवनलाई सकारात्मक रुपमा डोर्याउने भोजनमा चकलेट, अदुवा, जैतुन, टमाटर, स्याउ, ल्वाङ, अदुवा, केशरजस्ता कुराको उल्लेख भएको पाइन्छ। कतिपय सागपात अनि गेडागुडीमा पाइने खनिज पदार्थ बोरोन (Borone) यौन रागरस उत्पादनको लागि आवश्यक छ तर प्रत्यक्षरुपमा इन्द्रियसँग सम्बन्ध नभएकोले शायद त्यति चर्चा पाउँदैन।
कतिपय समुदायमा यौना·सँग मिल्दोजुल्दो आकारका खाद्यवस्तुले पनि यौनक्षमता वृद्धि हुने कुरामा विश्वास गरिन्छ। त्यसैगरी सजिलै नपाइने वा विशिष्ट भोजनलाई पनि यौनसँग जोड्ने गरेको देखिन्छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनले चिकित्सकको सिफारिसविना सजिलै बजारमा पाइने र यौनसमस्या समाधान गर्न सक्ने कुनै भोजन उपलब्ध छैन भनेको छ। सम्पूर्णतामा स्वस्थ हुनु कुनै पनि सफल यौनजीवनको लागि आवश्यक छ। शारीरिक स्वस्थता अति नै आवश्यक कुरा हो। यौनमा मानसिक प्रभाव भोजनको कुरा गर्दा मानसिक पक्षलाई पनि नकार्न सकिन्न। मस्तिष्क शायद सबैभन्दा ठूलो यौनांग हो। मानसिक रुपमा तयार नभएको स्थितिमा भोजन त के औषधिकै भरमा यौनजीवनमा व्यापक सकारात्मक परिवर्तन सम्भव छैन। कसैलाई प्रेयसी बनाउन खोजिरहेको बेला वा डेटिङ गरिरहेको बेलामा प्रसन्न बनाउने भोजन आवश्यक पर्छ। यस्तो बेलामा आफ्ना हिचकिचाहट कम गर्ने र कुराकानी गर्न आत्मविश्वास पनि बढाउन मद्दत गर्दछ। खुर्सानी, केरा वा गाजर यस्ता कुरामा गनिन्छन्। शायद केही मद्यपानको सेवनले पनि हिचकिचाहट कम गर्न सहयोग गर्छ तर यौनक्रियाकलापमा यसको सकारात्मक प्रभाव हुँदैन। मानसिक प्रभाव महत्त्वपूर्ण कुरा हो। अत्यधिक भोजन वा मादक पदार्थको सेवनले यौनक्षमतालाई नै बिगार्न सक्छ। तुरुन्तै सहयोग गरेजस्तो भए पनि दीर्घकालीनरुपमा नकारात्मक असर पार्न सक्छ। रक्सी, चुरोटजस्ता कुराले नकारात्मक असर पार्छ। अत्यधिक चिल्लो, तेलमा तारिएका खानेकुरा पनि राम्रो होइन। समग्रमा भन्नुपर्दा यौनकार्यमा शारीरिक तथा मानसिक दुवै पक्षको संयुक्त प्रभाव हुने गर्छ। भोजन अर्थात् पोषण हाम्रो जीवनको आधार हो। हामी जे खान्छौं, त्यही हौं भन्ने कुरा एक किसिमले यथार्थ हो। स्वस्थ जीवनको लागि र स्वस्थ यौनजीवनको लागि भोजन आवश्यक छ। शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन स्वास्थ्यवर्द्धक भोजन वा पोषण आवश्यक छ। आवश्यक पोषणले निरोगी हुन मद्दत गर्छ। हाम्रो भोजनमा शरीरलाई चाहिने आवश्यक पोषक तत्त्व भएन भने हामी कुपोषित हुन्छौं, कार्य गर्ने शक्ति हराउँछ र विभिन्न रोगले सताउँछ। भोजनमा भएका कुराबाट नै हामी बनेका हुन्छौं र हाम्रा प्रत्येक क्रियाकलापका लागि आवश्यक शक्तिको स्रोत पनि यही हो। स्वस्थ शरीरको लागि प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेड, भिटामिनहरू अनि खनिज लवणहरूको साथै पर्याप्त पानीको आवश्यकता पर्छ। अन्य अंगजस्तै यौनांगहरूले सुचारुरुपमा कार्य गर्न पोषण नभई नहुने कुरा हो। यौनक्रियाको लागि आवश्यक जाँगर र शक्तिको लागि भोजन अपरिहार्य छ। यो पनि पोषणबाट नै प्राप्त हुन्छ। हाम्रो यौनेच्छाको लागि यौन रागरस (Sex Hormone) उत्पादन र निसर्जन हुनुपर्छ। स्वस्थ शरीर यसको लागि आवश्यक कुरा हो। कुपोषित तथा रोगी शरीरबाट यी सबै कुरा सम्भव नहुन सक्छ। त्यसैले कुपोषणले यौनक्षमतामा नकारात्मक असर पार्छ। शारीरिक रुपमा स्वच्छ हुनु सुखमय यौनजीवनको आधार हो र भोजन यसको लागि अपरिहार्य हुन्छ। तर केही निश्चित किसिमका भोजनले सबै यौनसमस्याहरूलाई समाधान गरिहाल्छ भन्ने सोच्नु बुद्धिमानी होइन। भोजनबाट कुनै औषधिको चक्की खाएको जस्तो वा सुई लिएको जस्तो प्रभाव खोज्नु व्यावहारिक होइन। तर भोजनको भूमिका स्वस्थ शरीर र मनको लागि आवश्यक हुन्छ। सुखमय यौनजीवनका लागि शारीरिक पक्ष र मानसिक पक्ष दुवै नै बलियो हुनुपर्छ। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |