मृत्युजस्ता समाजका घटनामा सर्वमान्य भाषा र सर्वस्वीकार्य भावनात्मक संवेग नै रुनु हो।धेरै, अति धेरै खुशीमा पनि आँसु झर्न सक्छ तर मृत्यु वा दुःखमा दुःखको रुवाइ व्यक्त गर्नु अति सामयिक मानिन्छ। त्यसैले रुनु समाजमा सबैले बुझ्ने भाषा वा सम्बन्ध हो।सुख्खा आँखा तथा आँसु अनुसन्धान केन्द्रको अध्ययनअनुसार आँसु बगाउने तथा रुने कारणहरुको घनत्व निम्नअनुसार पाइयो।
विद्वान्हरु भन्ने गर्छन्- हाँसो तथा आँसु दुवै यस्ता प्राकृतिक औषधि हुन् जसले नकारात्मक भावना हटाउन, तनाव घटाउन तथा सकारात्मक विचार प्रवर्द्धन गर्न मद्दत गर्छन्। सेक्सपियरले त्यसै भनेनन् होला- ‘रुनु भनेको दुःख र पीडाको गहिराइ घटाउनु हो।’ तसर्थ रुवाइ औचित्यपूर्ण राम्रो कुरा हो। यसबाट शरीर, मन तथा दुःखलाई कम गर्न सहयोग पुग्छ। धेरै दुःख-कष्ट, पीडा वा मृत्यु वा नराम्रा घटना वा अति खुशी वा अप्रत्यासित फाइदा, मन छुने खालका सिनेमा वा कथाहरु, जन्म, विवाह, मिलन, बिदाइ आदि यस्ता मानवीय संवेदनशील पक्ष हुन् जसले गर्दा मान्छे रुन्छन् र समाजमा यसलाई सहजरुपमा लिइन्छ। वास्तवमा रुँदा आँसुका बलिन्द्र धारा बगाउने आँखालाई सबैले रुनुको केन्द्रको रुपमा देख्छन्। आँखा निर्दोष वा निरीह रहन्छन्, खालि मस्तिष्क र मुटुको बीचमा बसेर भावनाको मूल फुटाउने काम गर्छन्। मानिसका आँसुका भेल बग्नुका कारणमा आँखा सफा गर्न, तनाव कम गर्न, दुःख वा पीडाको सहानुभूति अथवा सद्भाव व्यक्त गर्न, भाषा, सुझबुझ वा सम्बन्धको डोरीको आफ्नोपन महसुस गराउन हुन सक्छन्। त्यस्तै गरी सामाजिक र भावनात्मक स्पर्श अथवा सहभागिता तथा जिम्मेवारी व्यक्त गर्नलगायत अन्य धेरै कारण पनि हुन सक्छन्।
आँखाबाट निस्कने आँसुका बारेमा अध्ययन गर्दा तीन प्रकारका आँसु वा आँसु बगाइ पाइन्छन्। - आधारभूत आँसुः यो आँखामा चौबीस घण्टा नियमितरुपमा उत्पादन हुने आधारभूत आँसु (Basal Tear) को मात्रात्मक गुण हो। यसको काम आँखालाई सुख्खा हुन नदिनु, ओसिलो अर्थात् रसिलो राखिरहनु र स्वस्थ राख्न मद्दत गर्नु हो। - प्रतिवर्ती आँसुः आँखा दुखेमा, पोलेमा, घोचेमा, केही वस्तु आँखामा परेमा, चिलाएमा वा अप्ठेरो भएमा आउने अतिरिक्त आँसु -आधारभूत तथा थप उत्पादित आँसु) लाई प्रतिवर्ती (Reflex Tear) आँसु भनिन्छ। यसको काम फोहोर पखाल्ने, नरम पार्ने, सफा पार्ने वा कडा वस्तु भएमा पातलो पार्ने आदि हो। यो हाम्रो प्राकृतिक तथा स्वास्थ्यरक्षा प्रणालीअनुरुप प्रतिरक्षात्मक जवाफी कारबाही हो। - भावनात्मक आँसुः व्यक्तिगत, सामाजिक पीडा, दुःख, अति खुशी, खराब सूचना वा घटना आदि भएको खण्डमा र त्यसले मानव संवेदना वा भावना छोएर आउने आँसुलाई भावनात्मक आँसु (Emotional Tear) भनिन्छ। मानव सम्बन्ध, दुःख-सुखको आदानप्रदान, सामाजिक सहिष्णुता तथा मानव भावनात्मक चरित्र एवम् कमलोपन वा सहृदयता व्यक्त गर्ने आँसु यो नै हो। आँसुको स्रोतजस्तै आँसुमा पाइने तत्त्वहरु पनि फरक-फरक हुने गरेको पाइएको छ। आधारभूत वा प्रतिवर्ती आँसुमा पानी, तेलजन्य पदार्थ तथा तन्तु पदार्थ (म्यूकस) पाइन्छ भने भावनात्मक आँसुमा थप फरक तत्त्व बढी पाइन्छ। ती तत्त्वमा म्यांगनिज भन्ने लवण तथा प्रोल्याक्टिन भन्ने हर्मोन पर्छन्। आधारभूत आँसु दिनको २ सय ग्रामसम्म उत्पादन हुन्छ। यो आँखाको स्वस्थताको लागि अत्यावश्यक मात्रा हो। अन्य दुवै प्रकारका आँसु धेरै उत्पादन भएर भेल बग्ने हुन्छ। प्रतिवर्ती आँसु बाह्य प्रभाव पार्ने तत्त्वको शक्ति, प्रभाव, कडापन तथा समयमा भर परी धेरै, अति धेरै हुन सक्छ। जस्तो- अश्रुग्यासको प्रभाव हेरी आँसु आउँछ। भावनात्मक आँसुमा पाइने म्यांगनिजलाई मानिसको मुडीपना वा झडंगपन (Temperament) मा प्रभाव पार्ने लवण मानिन्छ भने प्रोल्याक्टिन हर्मोन रस भने दूध उत्पादनमा तथा संवेदना वा नारी स्वभावमा प्रभाव पार्ने हर्मोन मानिन्छ। यी दुवै तत्त्व आँसुबाट बग्दा शरीर र मनको तनावमा सन्तुलन आउने कुरा विश्वास गरिन्छ।
रुनुका केही रोचक तथ्य छन्। बच्चामा रुवाइ एकै प्रकारको हुन्छ। कुनै कुरा माग गर्दा पूरा नभएमा वा असन्तोष व्यक्त गर्न वा पीडा असह्य भएमा बच्चाहरु रोएर आँसु झार्ने गर्छन्। जब यी बच्चा छोरा वा छोरीको सम्बन्ध असमान तथा पारिवारिक तालिमको बाटोमा डोर्याइन्छ तब रुने आँसु झार्ने क्रम पनि फरक भएर जान्छ, प्राकृतिक तथा स्वस्फूर्त हुन सक्दैन, बरु बाबुआमाको चलन, चरित्र, समाजको विश्वास अथवा आफन्तको इच्छाअनुसार विकसित हुँदै जान्छ। त्यस्तै मानव संवेदनाको द्योतक भन्ने कुरा बच्चाले आफ्नै रुवाइ नक्कल वा रेकर्ड गरेर सुनाएमा आफू रुँदैन तर अर्काको रुवाइ सुनाएमा रुन थाल्छ। यसले नै प्रमाणित गर्दछ। रुने कारण, तरिका, विषय सबै महिला र पुरुषमा फरक-फरक पाइन्छ। महिला पुरुषभन्दा बढी रुन्छन् तथा कारण र विषय पनि फरक परिवेशले निर्धारित गर्छ। एक अध्ययनअनुसार एक वर्षमा औषतरुपमा महिला ६४ पटक रुन्छन् भने पुरुषहरु जम्मा १७ पटक मात्रै रुन्छन्। लोग्नेमान्छेहरु विशेष वा अति नोक्सान, मृत्यु वा अति ठूला घटनाहरु भएमा रुने गर्छन् भने महिलाहरु साधारण दुःख, पीर, रिस, अन्याय महसुस, हीनताबोध, असन्तोष आदि भएमा तथा साधारण घटनाहरुमा समेत रुने गर्छन्। पुरुषहरु धेरैजसो सकारात्मक सोच, नतिजा, विजय, खेल आदिमा रोएको पाइन्छ भने महिलाहरु विश्वास, भाग्य, धर्म, आशा, आवश्यकता, व्यक्तिगत जीवनको अन्यसँग तुलना, परिवारप्रति असन्तोष, रिस, बदलाको भावना, डर, कमजोरीपना, हीनताबोध, निरीहता, अबोधताजस्ता निराशावादी सोचको फलस्वरुप रोएको पाइन्छ। त्यस्तै महिलामा पाइने कमलोपना, तरलता तथा कमभन्दा कम स्वार्थीपनाले पनि महिलालाई रुने मसला थप्ने गर्छ। झन्डै ९० प्रतिशत पुरुषहरु रोएपछिको नतिजा सकारात्मक भएर जान्छ, चित्त बुझाउन थाल्छन् तथा जीवनचक्र चलाउने बाटोमा लाग्न थाल्छन् भने ६० प्रतिशत महिला भने रोएपछि अरु नकारात्मकता थप्दै जटिलतामा जेलिंदै झन् हीनताबोध महसुस गर्दै जान्छन्। ४० प्रतिशत भने पछि सकारात्मक हुने गरेको पाइन्छ।
रुवाइलाई पनि राम्रो, लाभदायक अथवा नराम्रो र हानिकारक भनेर व्याख्या गरिन्छ। राम्रो रुवाइ वा हर्षा आँसुमा पाइने र नराम्रो वा हानिकारक रुवाइको आँसुमा पाइने रासायनिक तत्त्व पनि फरक-फरक भेटिएका छन्। राम्रो रुवाइको आँसुमा पानी, लवण, तेल पदार्थ धेरै पाइन्छ र तीनलाई साधारण वा स्वस्थ आँसु भन्ने गरिन्छ। नराम्रो रुवाइपछि आउने आँसुका तत्त्वहरुको संरचना, क्यान्सर, घाउ-खटिरा, डल्ला-पिण्ड वा दीर्घरोगीहरुमा पाइनेसँग मेल खाने भएकाले पनि त्यस्ता तत्त्व पखाल्न, घटाउन र त्यस्ता विकारबाट शरीरलाई मुक्त एवम् स्वस्थ राख्न पनि लाभदायक मानिन्छ। त्यसैले पीर पखाल्नुस्, चिन्ता धुनुस्, पीडा बगाउनुस् तथा नोक्सानी, मृत्युजस्ता परिस्थिति बिर्सनुस् भन्ने गरिन्छ। रुवाइ राम्रो वा नराम्रो भन्नाले रुवाइको तरिका तथा त्यसको प्रभाव, यसको गहिराइ तथा रुनेवालाको कारणअनुसार व्याख्या गरिन्छ। जस्तो हल्का रुवाइले जन्मनेबित्तिकैको बच्चाको फोक्सो फुकाउँछ, श्वासप्रश्वास सहज र प्रभावकारी बनाउँछ। अनन्त गहिरो तथा अति पीडादायक र पूरै नियन्त्रणबाहिरको रुवाइले श्वासप्रश्वासमा अवरोध पुर्याउँछ। श्वास फेर्न गाह्रो पार्ने, बेहोस हुने, छोप्ने, काँप्ने, रक्तसञ्चारमा गडबडी देखिने आदि हुन सक्छ। यस प्रकारको रुवाइले मस्तिष्कमा रक्तश्राव गराउने, मस्तिष्कमा आघात पार्ने, शरीर फाल्नेजस्तो प्रभाव पार्ने तथा बच्चामा मात्र नभएर ठूलो मान्छेमा समेत यस्ता प्रभाव पाउन सकिन्छ। यस्तो रुवाइ हुनेवालामा प्रकृतिको वा जन्मजात नै सुझबुझको कमी वा परिस्थितिको यथोचित विश्लेषणको कमी हुन्छ र सानो घटनाले सर्वशक्तिसहित सम्पूर्णरुपमा परिचालित हुन्छन्। यस्तोमा ७५/८० प्रतिशत महिला पर्छन् भने २० देखि २५ प्रतिशत पुरुष हुन सक्छन्। यस्तो खराब रुवाइले अन्य हानि गर्ने हुनाले रोएर खराबी, विकार पखाल्ने हुन सक्दैन। त्यसकारण खराब रुवाइ विकसित हुन नपाओस् भनेर बाबुआमाले बच्चाको असन्तोष बुझ्ने, रुनासाथ उसलाई ध्यान दिने, स्याहारसुसार गर्ने, एक्लै धेरै रुन नदिने, लामो समय रुने अवस्था आउन नदिने गर्नु अति जरुरी हुन्छ। यस प्रकारका खराब रुवाइ हुन रोक्ने प्रयास बच्चामा मात्र नभएर ठूलोलाई पनि गर्नुपर्छ। अति रुवाइबाट हुन सक्ने खराब प्रभावको लेखो गर्दा निम्नानुसार देखिन्छ-
खराब रुवाइ रोक्नुपर्छ नकारात्मक प्रभावहरु खराब रुवाइको प्रकृति, गहिराइ, रुनेवालाको चरित्र तथा सचेतनाको स्तरमा भर परी कुनै-कुनै वा धेरै देखिन सक्छन्। यस्ता खराब प्रभाव पार्ने रुवाइ हानिकारक हुनाले रोक्नुपर्छ वा नरम पार्ने प्रयास गर्नुपर्छ। बच्चालाई सानैदेखि रुवाइसम्बन्धी तालिम दिनुपर्छ, उसले हरेक अवस्थामा रुने नगरोस्। नोक्सान, चोट वा त्याग देखाउँदा रुनुलाई स्वाभाविकरुपमा लिनुपर्छ र अनावश्यक रुवाइलाई निरुत्साहित गर्नुपर्छ। एक्लै पार्ने वा वास्ता नगरेमा खराब रुवाइ विकास हुन सक्ने हुनाले त्यस्तो अवस्था आउन नदिने वा सम्झाउने, सिकाउने गर्नुपर्छ। ठूलो मान्छे पनि आफू केही नगर्ने खालि अरुबाट आशा गर्ने अथावा आफ्नो कमी-कमजोरीभन्दा अरुमा बढी देख्ने, नकारात्मक सोच्ने र हिम्मत कम हुनेहरु रुवाइको सहारा लिन्छन्। तर त्यही रुवाइ खराब रुवाइ नबनोस् भन्नेतिर सचेत हनुपर्छ। त्यस्तै कति रुवाइ बहानाको लागि, अप्राकृतिक, देखाउने प्रवृत्तिका पनि हुन्छन् भने कति रुवाइभित्र अति नै भए पनि आँसुविहीन पनि हुन सक्छन्। कतिले आफूलाई कामबाट, जिम्मेवारीबाट वा समस्याबाट छल्न समस्या वा पीडाको बहाना देखाएर रुन्छन्। यी सबै रुवाइमा प्राकृतिक, वास्तविक, दुःखको, पीडाको, मृत्युको, बिदाइका रुवाइ सधैँ लाभदायक, स्वास्थ्यवर्द्धक मानिन्छन् तथा सामाजिकरुपमा पनि कदर गरिन्छ। भावनात्मक रुवाइको आँसुमा पाइने प्रोल्याक्टिन हर्मोन जवानीमा, गर्भावस्थामा, स्तनपान गराउँदा, रजश्वला हुँदा र तनावमा हुँदा महिलामा ज्यादा पाइन्छ। त्यसैले त्यस्तो बेलामा महिलाहरु ज्यादा रुने गरेको भनेर मान्ने गरिन्छ। रुनै छ भने दुःखमा, एक्लो हुँदा, हीनताबोधमा, डिप्रेसनमा भित्रैदेखि, मुटुदेखिनै रुनुस्, विकारहरु निकाल्नुस् र शान्त हुनुस् जसले हल्का, सहजता र स्वस्थता प्राप्त हुन्छ। ओशोको विचारमा पनि रुनु छ भने वास्तविक समस्याको लागि रुनुस्, रुवाइले नै त्यो समस्याको मुक्ति मनाउनुस्। जसले गर्दा फेरि रुने कारण वा विकार शरीरमा बाँकी नरहोस्। राम्रो रुवाइ र आवश्यक रुवाइलाई कदर गर्न पनि सक्नुपर्छ। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |