|
शंकर खनाल khanalnpj@yahoo.com हेटौंडाका दीपक परियारको घरमा आगलागी हुँदा उनकी ९ वर्षकी छोरी दीपाको ज्यान गयो भने २४ वर्षीया पत्नी सीता र १० महिनाको छोरा दिवसलाई आगोले पोल्यो। दिवसलाई पूर्णरुपमा निको भइसकेको छ भने सीता अझै काठमाडौंको वीर अस्पतालमा उपचार गराउँदै छन्। हटिया-६, कुमालटारस्थित घरमा राति लोड सेडिङ भएको समयमा मैनबत्ती बालेर सुतेको बेलामा अचानक आगलागी भयो। ‘छोरालाई आगोबाट निकालेर छोरीलाई बचाउन जाँदा उनी पनि आगोमा परिन्’, परियारले साधनासँग भने- ‘ढाड र दुईवटा हातमा प्लास्टिक सर्जरी गर्नुपर्ने भएको छ।’ सीताको अनुहारसमेत नराम्रोसँग पोलिएको छ। यस्तै रोल्पा जिल्लाको भवाङ-७ का खिम घर्तीकी नौ महिनाकी छोरी मुनाको आगोले पोलिएर दुवै खुट्टा काम नलाग्ने अवस्थामा पुगेका छन्। अगेनुनजिक राखेर मुनाकी आमा बाहिर काम गर्न गएको बेला आगोमा पल्टिएर उनी पोलिइन्। उपचारका लागि उनले बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल हुँदै काठमाडौंको कान्ति बालअस्पताल पुर्याए। सानो लापरबाहीबाट उनकी छोरीको जीवन अपांग बनिरहेको छ। खिम घर्तीले साधनासँग कुरा गर्दै भने- ‘शायद दुवै खुट्टा काटेर फाल्नुपर्ने हुन्छ होला।’ परियार र घर्ती मात्र होइन, राजधानीका सरकारी अस्पतालमा अहिले आगोले पोलिएर थुप्रै बिरामीको उपचार भइरहेको छ। यो क्रम प्रायः वर्षभरि नै चलिरहेको हुन्छ। अचानक भएको आगलागी होस् वा आफ्नै सानो लापरबाही र जीवनदेखि विरक्तिएर जल्न पुगेकाहरु, कुरुप र अंगभंग भएर जीवन बिताइरहेका छन्। पहिले घरेलु उपचार गाउँघरमा आगोले पोलिनेबित्तिकै सुरुमा घरेलु उपचार गरिन्छ। कतिपयले गाउँमा जडीबुटी बनाएर लगाउँछन्। कालीकोटमा आगोले पोलेमा धाइराको चुक बनाएर लगाउने, आलुको लेप लगाउने, मेहेलको भुटन बनाएर लगाए घाउ चाँडो सुक्छ भन्ने सामाजिक मान्यता भएको दाहा-४ का अम्ब बहादुर शाही बताउँछन्। वनमा खर काट्न गएको बेला डढेलोले उनकी २६ वर्षीया पत्नी राजेन्द्रा शाहीको शरीरमा आगो लागेको थियो। उनीसँगै गाउँकै १०/१२ जना डढेलोको आगोबाट पोलिएका थिए। त्यस्तै गरी आगोले पोल्दा अण्डा फुटाएर लगाउने, गोबर, गोलभेंडा र घिउकुमारी दल्ने गरिएको पनि पाइन्छ। शहरबजारमा पोल्नेबित्तिकै पानीमा डुबाउने र तत्काल स्वास्थ्य संस्थामा लैजाने चलन सुरु भइसकेको छ। ग्रामीण क्षेत्रमा अझै पनि तत्काल स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ भन्ने कुराको चेतना नभएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु बताउँछन्। वीर अस्पतालको बर्न वार्ड इन्चार्ज नरदेवी बरिया भन्छिन्- ‘घटनालाई धेरैले समान्यरुपमा लिने गरेका छन्। जलेको प्रकृतिअनुसार थोरै जलेर पनि धेरै असर गर्छ। यसबारे सबैलाई थाहा छैन।’ पोलेको उपचार के हो ? आगोले पोलेमा पोलिएको प्रकृतिअनुसार तत्काल घरैमा पनि प्राथमिक उपचार गर्न सकिन्छ। सुरुमा भिजेको कपडाले शरीरमा लागेको आगो निभाउनुपर्छ, त्यसपछि लगाएको कपडा फुकाल्ने र पोलिएको भाग सम्भव भए तत्काल पानीमा डुबाउनुपर्छ। यस सम्बन्धी विज्ञ स्वास्थ्यकर्मीका अनुसार १५ देखि २० डिग्री सेन्टिग्रेट तापक्रमको पानीमा करिब आधा घण्टा जति डुबाउनुपर्छ। बगिरहेको धाराको पानीमा राखे अझ राम्रो। पोलेको भाग पानीमा डुबाउने हो भने चिसोले छालामा भएको तापलाई कम गर्छ। यसो गर्दा दुखाइ कम हुने, पोलेको ठाउँमा शीतल हुनुका साथै आगोले खाएको भागभन्दा भित्री भाग जल्न पाउँदैन। त्यसपछि सफा सुतीको कपडाले छोप्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्। पोलिएको ठाउँमा फोका आउनुलाई प्राकृतिकरुपले छालाको सुरक्षा गर्ने प्रक्रिया मानिन्छ। फोका आएमा फुटाउनुहुन्न। फुट्यो भने बाहिरी सम्पर्कबाट छालामा संक्रमणको खतरा हुने भएकाले छोपेर राख्नुपर्छ। समयमा उपचार नगर्ने हो भने छालाबाट शरीरमा भएका झोल पदार्थहरु -सोडियम, सुगर, क्याल्सियम र प्लाज्मा) हरु बाहिर निस्किई मानिस कमजोर हुन्छ। संक्रमणबाट जोगाउन नै अस्पतालले पोलिएका बिरामीलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरेका हुन्छन्। उनीहरुलाई बाहिरी मानिस र अरु बिरामीसँगको सम्पर्कबाट पनि टाढा राखिएको हुन्छ। वीर अस्पतालका बर्न युनिट इन्चार्ज डा. बाबुराम पौडेल संक्रमण -इक्फेक्सन) भएर घाउ पाक्ने डरले पनि बिरामीलाई छुट्टै राख्ने गरेको बताउँछन्। ‘यदि कसैलाई आगोले पोल्यो भने तत्काल पानीमा डुबाउनेबाहेक अरु केही पनि नगरी तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ’, डा.पौडेलले भने- ‘समयमा उपचार नगर्ने हो भने पोलिएको डाम देखिने, छाला जोडिने, शरीरका अंगहरु जोडिने र घाउ पाकेर अंग नै काट्नुपर्ने अवस्था आउन सक्छ।’ शरीर जलेर कुरुप भएको छ भने पनि चिन्ता गर्नु पर्दैन। अनुहार वा शरीरका कुनै बाहिरी अंग पोलिएर कुरुप बन्यो भने प्लास्टिक सर्जरी गरेर केही हदसम्म भए पनि पुरानै अवस्थाको बनाउन सकिन्छ। शय्या अभावले उपचारमा समस्या पोलिएका बिरामीलाई छुट्टै राखेर उपचार गर्नुपर्ने भएकाले अस्पतालमा ‘बर्न युनिट’ स्थापना गरिएका छन्। बिरामीको चाप हेर्ने हो भने अधिकांश अस्पतालमा शय्या एकदमै अपुग छ। ठूलो अस्पताल भनेर चिनिने वीरमा ९ वटा मात्र शय्या छन्। अस्पतालमा जलेर उपचार गर्न आउने बिरामीको तथ्यांक हेर्ने हो भने यो शय्याले पुग्दैन। एक वर्षमा अस्पतालमा एक सय जनाभन्दा बढी उपचार गर्न आउने गरेका छन्। यस्ता बिरामीलाई लामो समयसम्म राखेर उपचार गराउनुपर्ने हुँदा बिरामीका लागि सधैँजसो शय्याको अभाव भइरहन्छ। त्यस्तै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा त झन् ५ वटा शय्याको मात्र बर्न युनिट छ। कान्ति बालअस्पताल महाराजगन्जमा भने २२ वटा शय्या राखिएका छन्। धेरै शय्या भए पनि बिरामीको चापले शय्याको अभाव हुने गरेको जानकारी दिंदै सो अस्पतालकी बर्न वार्ड इन्चार्ज दुर्गा गुरुङ भन्छिन्- ‘गर्मी महिनाबाहेक सबै महिनामा बेड भरिभराउ हुन्छ।’ धेरै पोलिएका बिरामीको लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले सधैँ शय्याको अभाव हुन्छ। शय्या नभएका कारण बिरामी कहिले एउटा त कहिले अर्को अस्पतालमा धाउनुपर्ने बाध्यता बनिरहेको छ। खाना पकाउन तेल हाल्दै गर्दा आगलागीमा परेकी भक्तपुर-१७, सल्लाघारीकी तुलसा बस्नेत शय्याको अभावमा दुःख पाउनेमध्येकी एक हुन्। उनले एकै दिनमा झन्डै आधा दर्जन अस्पतालको आपतकालीन कक्ष चहार्नु पर्यो। सुरुमा भक्तपुरको युबुमरा अस्पताल, त्यसपछि सिनामंगलको काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पताल महाराजगन्ज, बालाजुको सिद्धार्थ अस्पताल, थापाथलीको नर्भिक, ललितपुर ग्वार्कोको स्टार नर्सिङ होम हुँदै वीर अस्पताल पुगेपछि बल्ल उपचार गराउन पाइन्। वीर अस्पतालमा शय्या अपुग हुने मात्र होइन, ३ वर्षदेखि प्लास्टिक सर्जनको अभाव भएको छ। डा. केशवराज श्रेष्ठ सेवानिवृत्त भएपछि २००५ जनवरीदेखि अस्पतालले जनरल सर्जनबाट काम चलाइरहेको छ। डा. को अभावमा छाला टाँसेर गर्ने अप्रेसन नै बन्द छ। हुनेले निजी अस्पतालमा गएर प्लास्टिक सर्जरी गर्छन्। नहुनेको ड्रेसिङबाट काम चलाउने गरिन्छ। बर्न युनिट इन्चार्ज डा. बाबुराम पौडेलले काम नै नरोकिएको दाबी गर्दै एक जना डाक्टरलाई भारतमा पढ्न पठाउने तयारी भइरहेको बताए। सुरक्षा तालिम चाहियो आगोबाट अधिकांशरुपमा कामकाजी महिला र बालबालिका प्रभावित हुने गरेका छन्। उनीहरुलाई आगो लागेमा कसरी बच्ने भन्नेबारेमा राम्रो ज्ञान नभएको पाइएको छ। सरकारले आगोबाट बच्नुपर्ने भनेर गर्मी र हावाहुरी चल्ने बेलामा निकै सार्वजनिक सूचना त जारी गर्छ, आगो लागिसकेपछि कसरी जोगिने भन्ने विषयमा जानकारी दिने गरेको छैन। आगलागीपछि राहत वितरण गर्न जाने गैरसरकारी संस्थाहरुले पनि आगोबाट बच्ने उपायबारे जनचेतना जगाउने काम गर्ने गरेका हुँदैनन्। वीर अस्पताल बर्न वार्ड इन्चार्ज नरदेवी बरिया समुदाय-समुदायमा पुगेर घरमा काम गर्ने महिला र स्कुले बालबालिकालाई सुरक्षा तालिम दिनुपर्नेमा जोड दिन्छिन्। उनी भन्छिन्- ‘स्कुलमा पनि जल्नबाट बच्ने उपायबारे पढाउनुपर्छ।’ शिक्षण अस्पताल महाराजगन्जका बर्न वार्ड इन्चार्ज कल्पना सिटौला अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणलाई सुरक्षासम्बन्धी कुनै उपाय थाहा नभएको बताउँदै सरकारले आगो लागेपछि कसरी जोगिने भनेर रेडियो, टिभी र पत्रपत्रिकामार्फत जानकारी गराउनुपर्ने सुझाव दिन्छिन्। भनिन्छ, वर्षाको खहरे र बलिरहेको आगोसँग खेलबाड गर्नु हुन्न। आफू सुरक्षित छु भन्नेले पनि सानो लापरबाही गर्दा जोखिममा पर्ने सम्भावना हुन्छ। उम्लिरहेको झोल पदार्थ -पानी, दूध, तेल आदि) चलाउँदा, सुत्केरी हुँदा वा बुढेसकालमा आगोले शरीर सेक्दा, वनमा डढेलो लागेको बेला, खाना पकाउन स्टोभ-ग्यास बाल्दा, अगेनुनजिक ओछ्यान लगाएर सुत्दा वा बिजुलीको काम गर्दा आगलागी हुने गरेको पाइन्छ। यस्तै गरी आगोसँग सम्बन्धित काम गर्दा दबाबमा परेर वा आफैं हतार वा छिटो गरेर बहादुरी देखाउन थालियो भने सानो कमजोरीले पनि आगलागीको समस्यामा परिन्छ। आगोनजिक काम गर्दा शान्त र संयमित भएर गर्ने, आगलागीबारे सधैँ चनाखो हुने हो भने आगलागीका धेरै घटनाबाट बच्न सकिन्छ। साथै पोलिएर अस्पताल चहार्ने र अस्पतालको शय्यामा महिनौं बसेर उपचार गर्ने झन्झट तथा कुरुप हुनबाट र पैसाको नोक्सानी हुनबाट जोगिन सकिन्छ। कतै तपाईंको आगोसँग खेलबाड गर्ने बानी छ भने समयमै ख्याल गर्नुस् है। जलेर आत्महत्या प्रयास दुर्घटनाको रुपमा हुने आगलागी मात्र होइन, मानिसले जानेरै पनि शरीरमा आगो लगाउने गरेका हुन्छन्। जीवनदेखि विरक्तिएर शरीरमा मट्टीतेल खन्याई आगो लगाउने गरेका घटना बढिरहेको अस्पतालहरुका तथ्यांकबाट देखिएको छ। सन् २००७ मा वीर अस्पतालमा उपचार गराउन आएका १ सय ५ जनामध्ये ३६ जनाले आगो लगाएर आत्महत्याको प्रयास गरेको अस्पतालमा काउन्सिलरको रुपमा काम गरिरहेका नारायण शर्माले बताए। ‘आत्महत्या गर्ने अधिकांशले मट्टीतेल खन्याउने गरेका छन्’, शर्माले भने-’पारिवारिक विवादका कारण आत्महत्या गर्नेहरु बढी छन्। त्यसमा पनि महिला धेरै छन्।’ अन्तरजातीय विवाहपछि परिवारले नस्वीकार्ने र पति-पत्नीबीच पनि मनमुटाव बढेर आत्महत्या गर्न शरीरमा आगो लगाउने गरेको अध्ययनले देखाएको छ। शिक्षण अस्पताल महाराजगन्जमा पनि आत्महत्या गर्न शरीरमा आगो लगाएर घाइते भई अरुले उपचारका लागि ल्याउने गरेका घटना थुप्रै भएको बताइएको छ। अस्पतालको तथ्यांकअनुसार गतवर्ष५२ जना पोलिएका बिरामी उपचारका लागि आएकाहरुमध्ये १२ जनाले आत्महत्या गर्न आगो लगाएका थिए। ‘सबैले भन्दैनन्, आफन्तबाट मात्र भेद खुल्छ’, अस्पतालको बर्न युनिट वार्डकी इन्चार्ज कल्पना सिटौलाले भनिन्। सहयोगी विदेशी हातहरु सरकारले जलेका बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको छुट्टै व्यवस्था गरेको छैन। वीर अस्पतालमा विदेशी सहयोगी र अस्पताल स्रोतबाटै निःशुल्क सुविधा दिने गरिएको छ भने कान्ति बालअस्पताल र शिक्षण अस्पताल महाराजगन्जले अस्पतालकै स्रोतबाट यस्तो सुविधा दिने गरेका छन्। शिक्षण अस्पतालमा बर्न युनिटमा रहेका ५ शय्यामध्ये एउटा शय्याको बिरामीलाई मात्र निःशुल्क औषधि उपचार हुन्छ भने अरु सबैले शुल्क तिर्नुपर्छ। कान्तिमा तिर्न नसक्ने सबैको निःशुल्क उपचार हुन्छ। वीर अस्पतालमा युकेकी बासिन्दा विन्डी मस्टोनले बर्न युनिटमा सहयोग गरिरहेकी छन्। उनले बिरामीका लागि पौष्टिक आहार (अण्डा, फलफूल, दूध) त्यस्तै फर्निचर र उपकरण पनि सहयोग गरेको वार्ड इन्चार्ज नरदेवी बरियाले बताइन्। उनका अनुसार विन्डीका अलावा अस्ट्रेलियाबाट नेपाली मूलकी नर्स बिन्दु छाचीले अस्पतालका लागि उपकरणहरु पठाउने गरेकी छन्। फ्रेन्डस अफ नेपाल संस्थाकी सदस्य नर्स छाचीले यहाँको अस्पतालबाट औषधि र सामानहरु संकलन गरेर पठाउँछिन्। अस्ट्रेलियाबाट जोय फंक, मल्कोन र किनका साथै रोयल पथ अस्पतालका इल्डरडेट र क्याथरिङले पनि बर्न युनिटलाई सहयोग गरिरहेका छन्।
|
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |