कारणहरु जे भए पनि समाज यस समस्याले आक्रान्त भएको छ। एचआईभी एड्सको नियन्त्रण तथा उपचार सेवाका लागि आन्तरिक र बाह्य स्रोत अधिकतम रुपमा प्रवाह भइरहेको छ र यसले स्वास्थ्य क्षेत्रको स्रोत परिचालनमा ठूलो हिस्सा ओगटेको छ। त्यसमध्ये एचआईभी एड्सको रोकथाम र संक्रमितहरुको उपचारमा केन्द्रित रहेको देखिन्छ। तर जतिसुकै ठूलो रकम खर्च भए पनि यसको उपचारको क्रममा एचआईभी संक्रमितहरुको शारीरिक स्वास्थ्यका बारेमा मात्र ध्यान दिएको देखिन्छ, मानसिक स्वास्थ्यका बारेमा ध्यान दिएको देखिन्न।
अझ भन्ने हो भने एचआईभी संक्रमण पत्ता लगाउन गरिने रक्तपरीक्षण गर्नुभन्दा अगाडि नै राम्रो परामर्शको जरुरत हुन्छ। रक्तपरीक्षणअगाडि यदि कुनै व्यक्ति ‘उच्च जोखिम’मा छ भने चिकित्सकद्वारा रक्तपरीक्षणको औचित्यको बारेमा राम्रोसँग सम्झाउनुपर्ने हुन्छ। रक्तपरीक्षण गरिसकेपछि परीक्षण ‘पोजिटिभ’ आएमा विभिन्न समस्या उत्पन्न हुन्छ। त्यस बेला उक्त दुःखद समाचार सुनाउन अत्यन्त होस पुर्याउनुपर्छ। सम्भव छ भने मनोवैज्ञानिक या मनोचिकित्सकसँग परामर्श गरेर मात्र दुःखद समाचार सुनाउनु राम्रो हुन्छ। अन्यथा यसले नराम्रो परिणाम निम्त्याउन सक्छ। अझ हतारमा राम्रोसँग रिपोर्ट नआईकन बिरामी र बिरामीका आफन्तहरुलाई यसबारेमा सूचना प्रदान गर्दा पछि रक्तपरीक्षणको अन्तिम रिपोर्ट अन्यथा आएमा यसको असर अत्यन्त नकारात्मक हुन सक्छ।
केही व्यक्तिहरु लागू पदार्थको सेवनले गर्दा अनियन्त्रित जोखिमपूर्ण यौनसंर्सगमा आउँछन्। यस्तैगरी कैयौं मानसिक समस्याहरु यस्ता हुन्छन्, जुन एचआईभी संक्रमणको कारक तत्त्व हुन सक्छन्। आमसर्वसाधारण र विशेष गरी विभिन्न विधाका चिकित्सकहरुलाई यस कुराको राम्रो ज्ञान हुनु जरुरी छ जसले गर्दा समयमै रक्तपरीक्षण र परामर्श सेवाहरु प्रदान गर्न सकियोस्। यसमा उच्च जोखिममा परेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिनु जरुरी हुन्छ। रक्तपरीक्षणको नतिजा र प्रभाव जब रक्तपरीक्षणको नतिजामा कुनै व्यक्ति एचआईभी संक्रमित भएको निक्र्योल हुन्छ, तब मात्र उल्लिखित प्रक्रिया पुर्याएर संक्रमित र उनका आफन्तलाई यस कुराको जानकारी दिनुपर्छ। साथै यो नतिजालाई बिल्कुल गोप्य राख्नु उपचार गर्ने चिकित्सक र कर्मचारीको नैतिक एवम् कानुनी दायित्व हो। सुरुमा रोगी र उनीहरुका आफन्तहरुले तुरुन्त यस कुरालाई विश्वास नगर्न पनि सक्छन्। केहीले अलि कडा रुपमा प्रतिवाद पनि गर्न सक्छन्। तर यो एक किसिमको मनोवैज्ञानिक रक्षाकवच हो, जुन बिस्तारै हट्दै जान्छ। यस समयमा चिकित्सक टोली र स्वास्थ्यकर्मीहरुले अत्यन्त धैर्य गर्नुपर्ने हुन्छ। जब बिस्तारै रोगी अझ संक्रमित भएको कुरा पूर्णरुपले आत्मसात् गर्छ तब ऊ बिस्तारै ‘डिप्रेसन’ को सिकार हुन्छ। आफूप्रति नै नकारात्मक सोच आउन सक्ने र जसबाट संक्रमित भएको हो -विशेष गरेर श्रीमान्/श्रीमती अथवा साथी) उनीहरुप्रति घृणा पैदा हुने र बदलाको भावना आउन सक्छ। अरु कारणले संक्रमित भएको भए -जस्तै रगत लिंदा अथवा औजारहरुबाट)घृणा पैदा हुने र बदलाको भावना नआउन सक्छ। यस अवस्थामा एचआईभी संक्रमितहरुलाई मनोचिकित्सकको सहयोग अत्यन्त जरुरी हुन्छ। किनकि ‘डिप्रेसन’ले गर्दा केही संक्रमितहरुले आत्महत्यासम्म गरेको पाइएको छ। संक्रमितहरुको परिवारलाई पनि मानसिक समस्या हुन सक्छ र विशेष गरेर श्रीमान्/श्रीमती अथवा साथी जसबाट संक्रमण भएको छ उक्त व्यक्तिलाई आफूप्रति हुने घृणा, रोष र पश्चात्तापले विभिन्न मानसिक समस्या निम्त्याउँछ। हाल औषधि विज्ञानमा एचआईभी संक्रमितहरुका लागि भएका प्रगतिहरुका बारेमा पनि राम्रो जानकारी दिनुपर्ने हुन्छ। समाजमा पनि कुनै व्यक्तिलाई संक्रमण भएको छ भन्ने थाहा पाइयो भने उक्त व्यक्तिप्रति गर्ने व्यवहार सकारात्मक हुनुपर्छ। एचआईभी सम्बन्धी विस्तृत कार्यक्रमहरु तयार पार्दा मानसिक समस्यासम्बन्धी पाटोलाई पनि उत्तिकै मान्यता दिनुपर्ने हुन्छ। एचआईभी भाइरसले मस्तिष्कमा पनि सीधा असर पर्ने हुनाले एड्स भइसकेपछि केही बिरामीहरु मानसिक रोगका लक्षणहरु देखाउन सक्छन्। यी लक्षणहरुमध्ये सम्झना शक्ति कम हुने, आफू बसेको स्थान र समयको ज्ञान नहुने, दृष्टि र ध्यान भ्रम हुने आदि लक्षणहरु हुन सक्छन् र त्यसको लागि मनोचिकित्सकको परामर्श अत्यन्त जरुरी हुन्छ। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |