|
कैयौं चलचित्रले थारू समुदायको भावनाको प्रतिनिधित्व पनि गरिरहेका छन् । यसै सिलसिलामा निर्माण भएको पछिल्लो चलचित्र हो तिरिया के करम । थारू समाजमा विकृतिका रूपमा रहेको अनमेल विवाहलाई मुख्य कथावस्तुका रूपमा समेटिएको यस चलचित्रमा आठ वर्षा थारू बालक र १६ वषर्ीया थारू युवतीबीचको वैवाहिक जीवनलाई जीवन्त रूपमा प्रस्तुत गरिएको चलचित्रका निर्देशक कविरले बताएका छन् । कविरको दाबीअनुसार अहिलेसम्म निर्माण भएका थारूभाषी चलचित्रभन्दा यो निकै फरक छ । यसले अनमेल विवाहका कारण थारू समुदायमा विद्यमान सामाजिक हिंसालाई उजागर गरेको छ । अहिलेसम्मका निर्माताले ध्यान पुर्याउन नसकेको विषयमा सफलताका साथ चलचित्र निर्माण गरी थारू समुदायभित्रको सामाजिक हिंसाको पाटोलाई उजागर गर्न सक्नुलाई ठूलो सफलता ठानेका छन् निर्देशक कविरले । चलचित्र थारूबहुल जिल्ला बाँके, बर्दिया, दाङ, कैलाली र भारतको पर्यटकीय नगरी गोवामा समेत छायांकन गरिएको छ । एक वर्षो अन्तरालमा निर्माण गरिएको यस चलचित्रमा विराज चौधरी, मिथिला चन्द, दीपा थापा, परमेश्वर चौधरी, मनरूपा ओली, हेमन्त नम्मोछिया, राजकुमार, अनिल चौधरी, सुशीला भुसाल, शकुन्तला चौधरी र कमल ओलीको प्रमुख अभिनय रहेको छ । कमल ओलीको प्रस्तुति, पुनादेवी ओलीको निर्माण, गोविन्द प्रभात र नवराज सुवेदीको नृत्य, हेमन्त नम्मोछिया, कमल अधिकारीको संगीत रहेको यस चलचित्रको छायांकन मोफसलका चर्चित छायाकार रूपक श्रेष्ठले गरेका छन् । सामान्य चलचित्रजस्तै प्रेम, बिछोड, द्वन्द्व, कमेडी र गीतसंगीतको पनि संयोजन गरिएको यस चलचित्रले थारू समुदायको वास्तविक पहिचानको प्रतिनिधित्व गर्ने र चेतना जगाउने विश्वास निर्माणपक्षले लिएको छ । - सम थापा/नेपालगन्ज |
| |
|
| |
|