नाइ मलाई त्यै केटी चाहिन्छ’ भन्ने रुन्चे गीत गाएर निकै चर्चा बटुलेका धराने गायक पौडेलले समलिंगीहरुको हक-हितका विषयमा मुस्कान चलचित्रमार्फ नयाँ आयाम थपेका छन्। यसबाट नयाँ कथामा छोटो चलचित्र निर्माण गरेर दर्शक बटुल्न सफल हुने कुरालाई नकार्न सकिँदैन। पौडेलले समाज र परिवारमा विभेद सहेर बसेका समलिंगीहरुको जीवन चरित्रलाई सिनेमाको पर्दामा उतारेर उनीहरु पनि समाजका हिस्सेदार हुन् भन्ने सन्देशलाई प्रवाह गरेका छन्। समाजमा देखिएका तेस्रो लिंगी अर्थात् समलिंगीलाई चिनाउने उद्देश्यले २७ मिनेटको प्रयोगात्मक मुस्कान बनाएको उनले बताए। परिवार र समाजको हिस्सेदार हुँदाहुँदै पनि छुट्याइएका ती वर्गको पीडा र समस्यामा आधारित रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो।
झन्डै एक वर्षसम्म समलिंगीको बारेमा व्यक्तिगत रुपले अनुसन्धान गरे पछि विराटनगर, काठमाडौं, धरान, इटहरी र पोखरालगायतका क्षेत्रका समलिंगीलाई समेटेर तयार पारिएको छ ँमुस्कान’। नयाँ धारको कथामा नेपाली समाज र दर्शकसमक्ष समलिंगी चरित्रलाई वास्तविक शैली अनि छोटकरी रुपमा देखाउने प्रयास निर्देशक पौडेलले गरेका छन्। समलिंगीहरु खुलेर आउनुलाई सकारात्मक मान्नुपर्ने र समाजमा आफ्नो उपस्थिति जनाउन यस्ता चलचित्र बन्नै पर्ने भएकाले अभिनयका लागि तयार भएको वास्तविक जीवनमै मुस्कान बनेकी समलिंगी पर्वतको व्यक्तिगत कथामा चलचित्र बगेको छ। उनकै जीवन चरित्रको सेरोफेरोमा केन्द्रित रहेको छ मुस्कान। पानस पिक्चर्सका लागि सन्दीप शाक्य निर्माता रहेको उक्त चलचित्रलाई रोजेश शाक्यले छायांकन गरेका छन्। करिब ४ लाख रुपियाँको लागतमा निर्माण भएको उक्त सानो पर्दाको चलचित्रमा प्रमुख पात्र पर्वत -मुस्कान), कुमार -कुमारी भुजेल), दीपक -दिया), कमला अधिकारी, नवीन विशाल, सुवर्ण पालिखे, कुलचन्द्र न्यौपाने, सौगात रिजाललगायतले अभिनय गरेका छन्। पछिल्लो डेढ दशकयताको समयमा समलिंगी जीवनका बारेमा हलिउड र बलिउडबाट बनेका चलचित्रको प्रभावले पनि समलिंगी कामुकताप्रति आकर्षण बढेको मानिन्छ। हाम्रै समाजमा कैयौं समलिंगी जोडीले विवाह गरेका छन्। सामाजिक विभेदका कारण धेरै जोडीले गाउँघर, परिवार र समाज त्यागेर पनि हिँड्नुपरेको छ। यस्तो विवाहलाई उनीहरु आफ्नो मौलिक अधिकार ठान्छन् तर समाजले यस्तो मान्दैन। यिनै खास माग तथा समानताको विषयमा आवाज उठाउन मुस्कानलाई अघि सारिएको छ। गाउँको सामान्य परिवारमा हुर्किएको पर्वत साथीभाइको खिसी सहन नसकी शहर पस्छ। शहरमा पुग्नेबित्तिकै ऊ प्रहरी र यौनपिपासुहरुको चंगुलमा पर्छ। छोरी मान्छेको जस्तो स्वर र हाउभाउ भएकै कारण पर्वतलाई शहरमा पनि खेलाउना बनाइँदा ँमेटी’ अर्थात् समलिंगीहरुको संस्थामा कार्यरत समूहले उनलाई सहयोग गर्छ अनि फेरि उनीहरु जस्तै यौनकर्मी नै बनाउँछ। समूहका अधिकांश सदस्यले रातको समयमा खुलेआम यौनजन्य क्रियाकलापमा संलग्न भएको देखाइन्छ। दिनभरि संस्थाको कार्यालयमा भेट गर्ने अनि रात परेपछि सोही समूहमा पुगेका पर्वतलाई परिस्थितिले मुस्कान बनाउँछ। सोही दौरान उनी कहलाएकी यौनकर्मी बन्न पुगेको देखाइएको छ।
कथामा सबै समलिंगी समाजमा यौनजन्य क्रियाकलापमा मात्र लिप्त भएको देखाइनु चलचित्रको नकारात्मक पक्ष हो। अझ मुस्कानमा खुलेआम यौनकर्मीको मोलमोलाइलाई प्रस्तुत गरिँदा गलत अर्थ लाग्ने देखिन्छ। त्यसै गरी गलत क्रियाकलापमा सहयोग गर्ने सुरक्षा निकाय नै वास्तविक रुपमा ँरक्षक नै भक्षक’ भएको यथार्थ देखाउनु कथाको सबल पक्ष हो। नेपालमा बनेका अत्यन्त छोटा शैलीका चलचित्रमध्ये उदाहरणीयसमेत बन्ने मुस्कान चलचित्रको धरान तथा आसपासका क्षेत्रमा छायांकन गरिएको छ। छोटो समयमा दीर्घकालीन सन्देश राखेर बनाइएको मुस्कानले नेपालमा पनि नयाँ धारमा चलचित्र बन्न सक्छन् भन्ने धारणालाई उजागर गरेको छ। - आनन्द कोइराला/धरान |
| |
|
| |
|