तुलसी घिमिरेले चलचित्र दर्पण छायाँपछि पनि दुई ओटा चलचित्र निर्देशन गरे तर दुवै चलचित्र असफल भए। दर्शकले चलचित्रमा नयाँ-नयाँ घुम्ती रुचाउँछन् तर तुलसी घिमिरेले हरेक पल नयाँ घुम्ती खोज्न सकेनन् फलत-असफल भए। तुलसी घिमिरे मात्र होइन, एक पटक निकै राम्रा चलचित्र दिइसकेका अनगिन्ती चलचित्र निर्देशक धेरै पटक चुकेका छन्। फलस्वरुप दर्शकले कुनै निर्देशक बाट पनि नयाँ आशा गर्न छोडिसकेका छन्। मैले अहिलेसम्म कुनै नेपाली चलचित्र हलमा गएर हेरेको छैन् तर कागबेनीचाहिँ हेर्छु। नोवेल एकेडेमी कलेज, १२ कक्षामा अध्ययनरत सुरज तन्डुकार भन्छन्, तर किन त्यो चलचित्र हेर्न इच्छुक छन् उनी आफैंलाई थाहा छैन्। चलचित्रको माध्यमबाट दर्शकलाई दिन सकिने विषय अहिले बाहिर आए जति मात्रै हैन अरु धेरै छ। त्यही सोचेर मैले चलचित्र कागबेनी निर्देशन गरेको हुँ त्यसमा नयाँ घुम्ती छ भन्ने कुरा दर्शकले सुटुक्क थाहा पाए त्यस कारण चल्नुअघि नै हेर्न तयार भए। चलचित्र कागबेनी रिलिज हुनुअघि नै भूषण दाहालले दिएको प्रतिक्रिया हो यो। चलचित्र कागबेनी हेरिसकेपछि सुरजले प्रतिक्रिया दिए म जिन्दगीमा कहिले पनि नेपाली चलचित्र हेर्दिनँ। एक पटक हिट चलचित्र दिएर पनि निकै असफल चलचित्रको सामना गर्नुपरेका निर्देशक दीपक रायमजी, दयाराम दाहाल, शिव रेग्मी, रमेश बुढाथोकी, किशोर राना, दीपक श्रेण्ठलगायत धेरै छन् जो पटक-पटक नयाँ घुम्ती दिन नसकी दर्शकलाई निराश पार्ने गर्छन्। चलचित्र दर्पण छायाँभन्दा लहना मैले नराम्रो चलचित्र बनाएको हैन, खालि त्यो विषय त्यसरी उठाउँदा दर्शकलाई मन नपरेको मात्रै हो तुलसी धिमिरे टिप्पणी गर्छन्। उनी अगाडि भन्छन्- ँदर्शकले चलचित्रको विषयमा एउटा ताजा र नौलो पना खोजिरहेका हुन्छन् मैले त्यो दिन नसकेकै कारण यी दुई वटा पछिल्ला चलचित्र दर्पण छँयाँ जति नचलेका हुन् तर यथार्थ के छ भन्दा कुनै बिरामीको अपरेसन गरेर सफल बनाउन डाक्टरलाई एउटा राम्रो अपरेसन थिएटर चाहिन्छ जहाँ त्यही थिएटर बनाएर अपरेसन गरेमा यसै भन्न सकिँदैन। हामीकाँ खै राम्रो सुटिङ स्टुडियो। जस्तो पुतलीसडकमा एउटी बच्चीलाई गाडीले हान्यो मान्छेको भीड लाग्यो, एउटा मोटरसाइकल चालक अडियो बच्ची उसकी छोरी थिइ। ऊ अत्तालियो छोरीलाई मोटरसाइकलमा लाने आँट गरेन जामका कारण, ट्याक्सी पनि पाएन, बोकेर अस्पताल गयो, चिच्च्यायो डक्टर मेरी छोरीलाई बचाइदेउ भन्दै, तर वास्तविक हस्पिटलमा कराएर बोल्न मिल्दैन। मेरो मतलब हामी कहिलेकाहीँ गहिरो विषयवस्तु सोच्न पुग्छौं तर सोचेको कुरा उचित स्टुडियोको अभावमा सजिलै खिच्न सक्दैनौं। फलतः बजेटको कारण वा लोकेसनको कारण लेख्ने समयमा नै कलमलाई रोक्नुपर्छ र त्यो राम्रो विषय हुनबाट रोकिन्छ जुन असफलताको कारण हुन सक्छ। त्यस्तै कहिलेकाहीँ कलाकारको छनोटमा पनि गल्ती हुन पुग्छ। जस्तो भारतमा परेस रावललाई कुनै कोण नै दिनुपर्दैन ऊ आफैं मिलाएर गर्छ। त्यसकारण कला बुझे-नबुझेकोमा फरक पनि पर्छ। निर्माताको क्षमता र प्रचार-प्रसारमा पनि भर पर्छ। चलचित्र साइत राम्रो बनेको थियो भनौं त्यो राम्रो खिरको रुपमा थियो तर निर्माताले खिया लागेको टिनको पातोमा पस्केर दियो, अब त्यो कसले खाने - उनी अगाडि थप्छन् अहिले बनाएको चलचित्र देशमा केटाकेटी बीचको सामन्य प्रेमभन्दा फरक खाले विषयलाई समेटिएको छ, जुन लहना र दुई किनारजस्तो पुरानो विषय हुँदैन। फेरि यसमा राजेश हमालको एक्सन डाइलगमा छ, फाइटमा होइन। मैले यसमा निखिल र राजेशमार्फ विचारको उत्तेजना ल्याउने प्रयत्न गरेको छु जुन ताजा र नौलो विषय छ। फलतः यो सफल हुन सक्छ। कथा, समय र विषयवस्तुको कारण चलचित्र सफल र असफल हुने नायक भुवन केसीको धारणा छ। उनी भन्छन् कथा र विषय छान्न समय लाग्छ धेरैले हावाका भरमा चलचित्र बनाउँछन्, विषय र कथावस्तुमा ध्यान कम पुर्याउँछन् त्यसैले एक-दुइटा चलचित्र मात्र सफल हुन्छन्, निरन्तर राम्रा चलचित्र दिन सक्दैनन्। मैले त्यही भएर पाँच वर्षलगाएर विषय छानेको छु, फेरि यस चलचित्रलाई मैले समय सुहाउँदो बनाएर प्रस्तुत गरेको छु। कन्यादान विगतको हिट चलचित्र हो, अहिले कन्यादानजस्तो चलचित्र बनाएर हिट हुँदैन, हामीले समयको मागलाई चिन्ने प्रयत्न गर्नुपर्छ। विदेशमा बसेका नेपालीलाई समेत टार्गेट गरेर बनाइको र अंग्रेजी सबटाइटल समेत चलचित्रमा गरिने हुनाले यसले कडोरपतिको इतिहास दोहोर्याउने मैले अनुमान गरेको छु। लेखन-निर्देशन मात्र नभई अभिनय गरेकै चलचित्र पनि असफल भएको अनुभव गरेका हरिवंश आचार्यले चलचित्र तँ त साह्रै बिग्रिस् नि बद्री र जे भो राम्रै भोपछि अशान्तिको कारण नयाँ चलचित्र दिन नसको बताएका छन्। विगतमा देशमा निकै अशान्ति भएका कारण निर्माण-निर्देशन छोडेको हो। जुन दिन शान्ति सम्झौता भयो त्यो समय टेलिभिजनकै काममा व्यस्त भइयो फलत नयाँ चलचित्रमा काम गर्ने अवसर मिलेन। तर कसैगरी नेपाली चलचित्रमा पनि मेरो उपस्थिति हुनुपर्छ भनेर मैले पनि अनुभव गरेको हो, जसका कारण चैतदेखि शिव रेग्मीको चलचित्रमा अभिनय गर्दै छु। मैले स्क्रिप्ट हेरिसकेँ पछि अरुमा पनि निरन्तरता दिने प्रयत्न गर्छु। चलचित्र निर्माण गर्दा धेरैको मन छुने साझा विषय समात्न सकेमा सफल हुने हो, त्यसरी साझा विषय चिन्न र प्रस्तुत गर्न त्यति सजिलो नभएका कारण नै सफल चलचित्रको निरन्तरता नहुने हो, यसका लागि लेखक-निर्देशकमा साधनाको जरुरी हुन्छ।’ ठुल्दाइजस्तो सफल चलचित्र दिएका रामकृष्ण बजगाईंले पनि राम्रो चलचित्रलाई निरन्तरता दिन सकेका छैनन्। हाल जनता जिन्दावाद नामक चलचित्र निर्माण गरिरहेका बजगाईं भन्छन्- कथा, विषयवस्तु, प्रस्तुति, संगीत र शीर्षकका कारण चलचित्र कहिलेकाहीँ मीठो र दर्शकले सोचेभन्दा निकै अलग बन्न पुग्छ र सफल हुन्छ। तर धेरैचोटि चैं अलग बन्दैन, फलत चलचित्र असफल हुन्छ। फेरि यो सिद्धान्त सबैमा लागू हुन्छ। त्यसैले कसैबाट पनि सफल चलचित्रको निरन्तरता सम्भव हुँदैन। हामीले त त्यो प्रयत्न मात्रै गर्ने हो। चलचित्र देवरबाबुको पटकथा संवाद र चलचित्र सपूतको पूरै लेखन गरेर सफलता पाएका प्रदीप भारद्वाजको विचारमा कथा र लेखन उत्कृष्ट भएको खण्डमा हरेकका चलचित्र सफल हुन्छन्। उनी भन्छन् म असक्षम निर्देशकको चलचित्र लेख्दै लेख्दिन जुन लेख्छु दर्शकलाई एउटा नयाँ घुम्ती दिएरै छाड्छु, फलतः असफलता भन्ने विषयले प्राथमिकता पाउँदै पाउँदैन। हेर्नोस् देवरबाबु सफल भयो सपूतले त पहिलो प्रदर्शन गरेकै स्टेसनबाट लगानी उठायो। यीबाहेक मैले लेखेका लगभग आधा दर्जन चलचित्र निर्माण भइरहेका छन्। म ठोकुवा गरेर भन्छु, लगभग ९९ प्रतिशत चलचित्र सफल हुन्छन्। दर्शकले रस भएको नयाँ फलको आशा गरेका हुन्छन् तर हामीले रस चुसेको छोक्रा मात्रै दिएका छौं, अनि कसरी दर्शकले चलचित्र मन पराउँछन्।’ विषयवस्तुको पहिचान र लेखनमा हुने सिर्जनाको अभावमा चलचित्र असफल हुने संगीतकार सुरेश अधिकारी बताउँछन्। हामीले संगीत गर्दा त्यसको मिठास तत्काल नै परीक्षण हुन्छ, त्यसकारण हामी मरेर साधना गर्छौं र निकै राम्रो गर्दा मात्रै अवसर पाउँछौं, तर लेखन-निर्देशनमा तत्काल परीक्षण सम्भव नहुने हुनाले लेखकले साधना पनि कम गर्छ र सही वा गलत पनि पछि मात्र थाहा पाउँछ। फेरि लेखन, विषयवस्तु पहिचान र निर्देशन संगीतभन्दा पनि जटिल विषय हुन्, तर यसमा अध्ययनबिना पनि अवसर मिल्छ। त्यसैले यहाँ सिर्जना र साधनाको अभावमै राम्रा चलचित्र निरन्तर नआएका हुन्। लेखनलाई राम्रो गीत र प्रस्तुतिलाई संगीत मानेर सिर्जना खोज्ने हो भने बढी नै चलचित्र सफल हुन्छन्। हुन त एक पटक हिट फिल्म दिँदैमा हरेक पटक दर्शक समक्ष पठाउने विषयवस्तु उत्कृष्ट नै हो भनेर चिन्न पनि सम्भव हुँदैन तर जसरी संगीतलाई समयअनुसार परिवर्तन गर्दै लानुपर्छ विगतका हिट चलचित्र दिनेले चलचित्रको विषयवस्तु र प्रस्तुति समयअनुसार समायोजन गर्न नसकेर पो हो कि ?’। नृत्य निर्देशक दिनेश अधिकारीको विचारमा एक पटक राम्रो चलचित्र दिएको निर्देशकले लगातार राम्रो चलचित्र दिन सक्छ तर विषयवस्तु सही छान्न नसक्दा चलचित्र राम्रो हुँदाहुँदै पनि सफल हुँदैन। सही कथा वा विषयवस्तुको पहिचान जटिल कार्य हो। कागबेनीको चलचित्र उद्योगका केही मानिसले अंग्रेजी चलचित्रजस्तो भनेर प्रशंसा गरेको पनि पाइयो तर गुण सिनेमा ग्वार्कोमा कलेजबाट भागेर गएका विद्यार्थीदेखि सेतै फुलेका प्राध्यापकले पनि भूषण दाहाल र नेपाली चलचित्रलाई गाली गरे नकि आइतबारको बिहानी सो भएर पनि कति टिकट नपाएर फर्किएका थिए। यसले के जनाउँछ भने नेपाली चलचित्र हेर्न लालायित दर्शकको खाँचो छैन तर उनीहरुलाई नयाँपनको जरुरी छ। चलचित्र कसम, पराइघरजस्ता चलचित्र दिइसकेका निर्देशक दीपक रायमझीले पनि लामो समयदेखि सफल चलचित्र दिन सकेका छैनन्। विगतको भन्दा चलचित्रको बजार सानो भएको, हिन्दी र भिडियो चलचित्रले ओगटेको र मनोरञ्जनका साधनको अधिक विकास भएका कारण सफल चलचित्र दिन असफल भएको दीपकको अनुमान छ। उनी भन्छन् समयलाई पनि विचार गरेर चलचित्र बनाउनुपर्छ त्यसो नभएर पनि पछिल्ला चलचित्र नचलेका हुन् कि भनेर मैले अहिले चलचित्र हाम्रो मिलन कहिले हुन्छ बनाएको छु। यसमा प्रेमी र पे्रमिकाको सामान्य मिलन मात्र नभएर विभिन्न कोणबाट टुक्रिएका नेपालीको मिलनको पनि परिकल्पना गरिएको छ। त्यसैले चलचित्रबाट बढी नै आशा गरेको छु। लेखक-निर्देशकले समयअनुसारको दर्शकको मनस्थितिलाई बुज्न नसकेका कारण धेरै चलचित्र असफल भएको कलाकार दिलीप गौतम बताउँछन्। उनी अगाडि भन्छन्- नेपाली चलचित्रका दर्शक हाल आएर कमी भएको गलत हो भन्ने कुरा कागबेनीले साबित गर्यो। चलचित्र कतिले मन पराए कतिले मन पराएनन् तर कस्तो रहेछ भनेर हेर्नेको भीड थामिनसक्नुभयो। विगतदेखि चलचित्रका दर्शक घटेको भने सत्य हो तर यसको कारण भनेको केबल असक्षम लेखक र निर्देशक हुन्। दर्शकले नचाखेको विषयवस्तु समय सुहाउँदो रुपमा प्रस्तुत गर्न सकेको खण्डमा दर्शकले निश्चय पनि नयाँ घुम्ती फेला पार्नेछन् र चलचित्र रुचाउँछन्। घेरै चलचित्र बनाउँदा कहिलेकाहीँ स्वतः राम्रो विषय हात लाग्छ र चलचित्र अनायासै सफल हुन्छ तर त्यो व्यक्तिमा सिर्जनात्मक क्षमता नभएका कारण त्यस्ता खाले विषयवस्तुको समयअनुसार पहिचान पाउन सक्दैनन्, अनि सफल चलचित्र दोहोरिँदैन। त्यसकारण उद्योगमा राम्रो कथाकारको अभाव छ, लेखकको पनि अभाव नै छ। - सरोज प्याकुरेल |
| |
|
| |
|