नृत्यलाई व्यावसायिक रुपले अंगाल्नेको संख्या सानै भए पनि पाँचथरका गाउँ-गाउँमा नृत्य प्रशिक्षण केन्द्र खोलिँदै छन्। नाचेर नै जीवन चलाउन गाह्रो भए पनि राम्रो नृत्य गर्न सक्ने क्षमता बनाउन आफूहरु नृत्य प्रशिक्षण केन्द्रमा आउने गरेको सूर्योदय कला केन्द्र लिम्बाकी आशा राई भन्छिन्।विकास र सेवा सुविधाले पछि परेको भए पनि पाँचथरमा एक दर्जनजति नृत्य कला केन्द्र खोलिएका छन्।जिल्लाको सदरमुकाम मात्र होइन गाउँ-गाउँमा अहिले त्यस्ता संस्थाबाट नृत्यसम्बन्धी प्रशिक्षण दिने गरिएको छ। शहरमा हरेक सेवा, सुविधा भए पनि गाउँका भाइबहिनी मिहिनेत गरेर सिक्छन्, रविको सुनौलो संगीत समूह निम्बाको सूर्योदय कला केन्द्रबाट उत्पादन भएका नृत्यकारको नृत्य शहरको भन्दा उत्कृष्ट देखिएको पूर्वेली गायक कुवेर राई बताउँछन्। अन्य पेशाजस्तै नृत्य पनि एक व्यावसायिक क्षेत्र हो, नाचेर पनि राम्रै आम्दानी गर्न सकिन्छ, राम्रो क्षमता हुनेले नाचेर पनि कमाइ गरिरहेका छन्। त्यसैले पनि हिजो आज आफ्नो इन्स्टिच्युटमा विद्यार्थीहरुको भीड हुने गरेको सुरमाला कला केन्द्र फिदिमका प्रशिक्षक खेम सम्बाहाम्फे बताउँछन्। चार वर्षघि स्थापना भएको सुनौलो संगीत समूह रविले साढे एक सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको, उत्पादित विद्यार्थीले इलाम, झाप र पाँचथरमा भएका प्रतियोगितामा उत्कृष्ट पुरस्कारसमेत जितिसकेको सो समूहका अध्यक्ष राजेन्द्र राईले जानकारी गराए। शहरबजारमा मात्र होइन, नृत्य केन्द्र अहिले पाँचथरका लिम्बा, रवि धुर्विसे पञ्चमी, फिदिम, गोपेटारजस्ता एक दर्जन गाउँ-गाउँमा समेत खोलिएका छन्। - गणेश साम्पाङ, पाँचथर व्यथा ओकल्ने गायक मायाप्रेमका भन्दा दुःख र पीडाका यथार्थलाई आफ्नो गीतमार्फ उजागर गर्ने लोक गायक चन्द्र श्रेष्ठ स्वदेशमा मात्र होइन विदेशमा रहँदा पनि गीत-संगीत सिर्जनामा उत्तिकै लागिरहन्थे। पाँचथरको फाक्टेप ९ मा २०३५ सालमा जन्मेका श्रेष्ठ सानैदेखि गीत गाउन रुचाउँथे। २०५२ मा पहिलो पटक स्टेजमा निक्लेर गीत गाएका श्रेष्ठले २०५७ मा स्वर परीक्षा उत्तीर्ण गरेका हुन्। गीत-संगीत क्षेत्रमा लाग्ने प्रेरणा साथीभाइले दिएपछि आफूभित्र रहेको प्रतिभा मौलाउन पाएको श्रेष्ठ बताउँछन्। नारायणगोपाल, अरुणा लामा र कविता आलेको स्वर मन पराउने श्रेष्ठले गलैंचा धागो, रमितै हेर्नु फिदिम बसैमा नामक एक एल्बम बजारमा ल्याइसकेका छन् भने रेडियो नेपाल र अन्य फरकसहित एक सयभन्दा बढी गीत गाइसकेका छन्। मायापिरती र आदर्शभन्दा दुःख, पीडा र वेदना उनका गीतमा समेटिएका हुन्छन्। उनको गलैंचा धागो एल्बममा खास गरी गाउँ-गाउँबाट गरिबीका कारण काठमाडौं छिरेर गलैंचा कारखानामा मजदुरी गर्नेहरुले भोग्नुपरेका दुःखका दिनलाई छर्लंग पारेका छन्। त्यसैगरी पछिल्लो पटक मलेसियामा रेकर्ड गरेर गत कात्तिक महिनादेखि बजारमा ल्याइएको फिदिम बसैमा एल्बमले विदेश जाने युवाहरुको आर्थिक संकटले उब्जाएको बाध्यतालाई उजागर गरेको छ। गीत-संगीत क्षेत्रमा लागेर राम्रो कमाइ गर्न सकिने अवस्था अहिले रहेकोले पनि यो क्षेत्र फस्टाउँदै गइरहेको श्रेष्ठको दाबी छ। अधिराज्यव्यापी लोक गीत प्रतियोगिता २०५७ मा प्रथम, नेपाल टेलिभिजनले ०५८ मा आयोजना गरेको गायन प्रतियोगितामा उत्कृष्ट गायक भइसकेका श्रेष्ठले स्थानीय र जिल्ला स्तरीय थुप्रै प्रतियोगितामा पुरस्कार तथा प्रमाणपत्र हात पारेका छन्। |
| |
|
| |
|