चलचित्र कथाको बहावमा निर्णायक मोड एवम् नाटकीय परिवर्तन ल्याउनुपर्यो भने रोगी, बिरामी वा अस्पतालको प्रसंग उतार्ने गरिन्छ। औषधि किन्न पैसा नभएको, चोरी गरेर भए पनि औषधि किनेर ल्याउँदा बाटैमा फुटेको, बच्चा पाउने व्यथा लागेकी महिलालाई अस्पतालसम्म लैजान एम्बुलेन्स नपाइएको आदि प्रसंग प्रायः चलचित्रमा देख्न सकिन्छ। तर पटकथा लेखनको क्रममा वा सुटिङका दौरान स्वास्थ्यको प्रसंगमा विषयगत व्यक्तिसँग परामर्श नलिँदा कतिपय हास्यास्पद दृश्यले अझै पनि निरन्तरता पाइरहेको छ। उदाहरणका लागि कुनै घरानियाँ बुहारी अचानक बेहोस भइन् भने तुरुन्त डाक्टरलाई बोलाइन्छ र डाक्टरले नाडी छाम्नेबित्तिकै बधाई दिन थाल्छन् - ँबधाई छ, तपाईं बाजे, बज्यै वा बाबु बन्दै हुनुहन्छ।’ तर चिकित्सा शास्त्रमा नाडी छामेर गर्भवती भए, नभएको पत्ता लगाउने त्यस्तो तरिका छैन।
त्यस्तै अर्को एक दृश्यमा दुर्घटनापछि घाइतेलाई अस्पताल पुर्याइन्छ र तुरुन्तै अपरेसन गर्नुपर्ने बहानामा अपरेसन कोठामा लगिन्छ। त्यहाँसम्म त ठीक छ, तर वास्तविकतामा अपरेसन नसकिएसम्म ढोकामाथिको रातो बत्तीचाहिँ बालिराखिँदैन। अन्य हाँस्यास्पद दृश्यमा आँखाको अपरेसनपछि आँखाको पट्ट िखोल्ने क्रममा सबभन्दा पहिला बिरामीको मनपर्ने व्यक्तिलाई देखाउने, र्सपले टोकेको दृश्य देखाउँदा टोकेको ठाउँमै प्रायः हिरोले घाउ बनाएर वा त्यत्तिकै चुसेर रगत निकाल्ने दृश्य कपोलकल्पित त हुन नै, त्यसले नकारात्मक सन्देशसमेत दिन सक्छ। चलचित्र वा टेलिफिल्मको कथामा रोचकता ल्याउन बिरामी वा स्वास्थ्यको प्रसंग राख्नुपर्छ, यसमा दुईमत छैन। तर यस्तो दृश्य छायाँकन गर्दा वा देखाउँदा वास्तविकतातर्फपनि ध्यान पुग्न सक्ने हो भने सुनमा सुगन्ध भइदिन्छ। चलचित्र वा टेलिफिल्म तथा नाटक सञ्चार प्रविधिका प्रभावकारी माध्यम हुन्। यस्तो माध्यमले स्वास्थ्य शिक्षा दिन एवम् मानिसमा जनचेतना जगाउन थुप्रै मद्दत गर्दछ। त्यसो त स्वास्थ्यसम्बन्धी वा कुनै रोग विशेषलाई केन्द्रित गरेर नेपाली तथा विदेशी चलचित्र वा टेलिफिल्म नबनेका होइनन्। रात, चिरञ्जीवी, ओहो, देवीजस्ता नेपाली टेलिफिल्म तथा तारे जमिन पर, दर्दका रिस्ता, ब्ल्याक, सलाम नमस्तेजस्ता हिन्दी फिल्म केही उदाहरण हुन्। यो लेखमार्फत विषयगत व्यक्तिको परामर्श लिइएको खण्डमा वास्तविकतासँग धेरै नजिक पुग्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न खोजिएको हो। मह सञ्चारद्वारा निर्देशित टेलिफिल्म चिरञ्जीवीमा टी बी रोग लागेको शंका गरिएका हरिवंशको एक्सरे प्लेटमा सहित टेलिफिल्ममा प्रयोग गरिएको उनकै नाम लेखिएको थियो। यसरी विषयगत कुरा सामान्यझैं तर दर्शकले चनाखो भई प्रतिक्रिया जनाउने कुरामा संवेदनशील तरिकाले प्रस्तुत गर्दा वास्तविकता झल्किनुका साथै चलचित्र वा टेलिफिल्म जीवन्त हुन्छ। आगामी दिनमा पटकथाकार वा चलचित्र निर्देशकले कथाले मागेअनुसार स्वास्थ्य विषयमा मात्र नभई अन्य प्राविधिक विषयको सवालमा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श लिई चलचित्रलाई सार्थक र सकेसम्म वास्तविक बनाउन सके दर्शकको दृष्टिकोणसमेत सकारात्मक बन्दै जाने देखिन्छ।
|
| |
|
| |
|