|
|
पर्वतराज हिमालयकी छोरी पार्वतीले महादेव भगवान्लाई पति गाउँ भनी गंगाजीको किनारमा बालुवाको शिवलि· बनाई व्रत बसिन्। सो व्रतको प्रभावले महादेवको आसन चलायमान भयो। त्यसपछि पार्वतीसामु पुगेर बरदान माग्न आग्रह गर्दा पार्वतीले मदेखि प्रसन्न हुनुहुन्छ भने मेरा स्वामी हुनुहोस् भनी वर मागेकी थिइन्।
यही तीज व्रतका प्रभावका कारण पार्वतीले अक्षय तृतीयाका दिन फूलको माला पहिर्याउँदै महादेव स्वामी पाएकी थिइन्। यही समयदेखि भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म तीज मनाउन थालिएको किम्बदन्ती छ। त्यसैले पनि महिलाहरुद्वारा पुरुषप्रति व्यक्त प्रेम, सद्भाव र समर्पणको उच्चतम उदाहरणका रुपमा पनि कतिपयले तीजलाई लिने गरेका छन्। जुन अन्य मुलुकका सांस्कृतिक परम्परामा बिरलै देख्न पाइन्छ। तर त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास तथा संस्कृति विभागकी सह-प्राध्यापक डा. वीणा पौड्यालका अनुसार समाज परिवर्तनशील भएकाले त्यहीं अनुरुप धर्म-संस्कृति, संस्कार पनि परिवर्तन हुनुपर्छ। धार्मिक ग्रन्थहरुमा पनि श्रीमान् श्रीमती दुवैले पूजा एवम् अनुष्ठान गर्दा पुण्य हुने तर एक्लै गर्दा अनुष्ठान सफल नहुने कुराको व्याख्या गरिएको छ। तीजमा पति-पत्नी दुवैले आत्मीय प्रेम दर्शाउँदै व्रत बस्दा माया झन् प्रगाढ हुन्छ। शिवलि·को नभएर उमामहेश्वर -महादेव र पार्वतीको संयुक्त स्वरुप)को पति-पत्नीले पूजा गरी सुखमय दाम्पत्य जीवनको कामना गर्नुपर्छ।’
विगतमा ब्राह्मण, क्षेत्री परिवारका महिलामा सीमित तीजले सबै क्षेत्र, धर्म र सम्प्रदायका महिलाबीच पनि व्यापकता पाउँदै गएको छ। यही विकास र विस्तारसँगै तीजमा महिलाको पहिरन, खानपान नाचगान र पूजाआजामा पनि परिवर्तन आएको छ। तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन माइतीले छोरीबेटीलाई निमन्त्रणा गरी विशेष परिकार खुवाउँछन्। गाउँघरतिर विशेष गरी खिर, फलफूलजस्ता परिकार खुवाइन्छ भने शहरी क्षेत्रमा मिठाई, कन्टिनेन्टल फुड, डेजर्ट, जुस, दूध, सलादजस्ता सन्तुलित खाना खुवाइने गरिन्छ। यो चलनले फड्को मार्दै शहरमा त घर, क्याफे, रेस्टुरा र पाँचतारे होटलमा मासुका परिकार, विभिन्न किसिमका मिठाई, मोमो, चाउमीन, पिज्जा, वर्गर, सिजलर, आइसक्रिम आदि दरका रुपमा खाने गरेको पाइन्छ। काठमाडौंमा त झन् १०-१५ दिनअघिदेखि नै छोरी, चेली, साथी, छिमेकीलाई दर खुवाउने चलन बढेको छ। त्यस्तै पहिरनमा पनि सिल्क, कटन, सिफन, इम्बोइडरी, जर्जेट जडित राता साडी लगाउने गरेको बिक्रेताहरु बताउँछन्। जुन ५ हजारदेखि १५ हजार रुपियाँसम्म पर्दछ। त्यस्तै जापान, भारत र चेकोस्लाभाकियालगायतका मुलुकबाट आउने राता र पहेंला रङका पोतेमा छड्के तिलहरीका साथै गलामा नेकलेस, असर्फीको माला, मंगलसुत्र, सिक्री आदि लगाउने होडबाजी बढ्दो छ। हातमा पनि राता चुरासँगै सुनका चुरा, ब्रासलेट र औंठी तथा टाउकोमा नत्थी, शिरबन्दी, कानमा झुम्का र खुट्टामा पायल, बिच्छयाजस्ता गहना लगाएर भड्किलो प्रस्तुति गर्ने क्रम बढ्दै छ। त्यस्तै गीत, भाका र लयमा पनि परिवर्तन आएको छ। सासु-बुहारी, नन्द अमाजु बीचको कटुता ओकल्ने गीतका शैलीमा परिवर्तन आएको छ। अहिले प्रतिशील गीत गाउन थालिएको छ। यस पटकको तीजमा त जनजागरण ल्याउने संविधान सभाका गीतसमेत गुञ्जिएको सुनियो। सांस्कृतिक पर्व तीज अहिले आएर राजनीतिक पर्व बन्दै गएको छ। आधुनिकताका नाममा भड्किलो प्रदर्शनले तीज विकृति र सर्वसाधारणका लागि बोझ बन्न पुगेकोमा चिन्ता व्यक्त गर्ने सह-प्राध्यापक पौड्यालको तर्क छ- ँधनी व्यक्तिका श्रीमतीको झन् सरल र साधारण भएर तीज मनाउनुपर्छ। यसले गर्दा भड्किलो प्रदर्शनी हुन पाउँदैन।’ भड्किलो प्रदर्शनले अपराधलाई समेत प्रश्रय दिएको छ। आफ्नै विशेषता र मौलिकता बोकेको तीजमा बसिने व्रतले स्वास्थ्यमा खासै फरक नपार्ने धारणा डा. कान्ति गिरीको छ। तथापि, मधुमेह, मिर्गौला रोग लागेका तथा गर्भवती महिलालाई व्रत नबस्न सल्लाह दिँदै डा. गिरीको सुझाव छ- ँगर्भवती महिला व्रत बस्दा गर्भको शिशुलाई पनि नराम्रो असर पुग्छ।’ हप्तामा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि फाइदा पुग्ने चिकित्सकहरु बताउँछन्। तीजको व्रत बस्नुअघि दरका रुपमा पोषणयुक्त खाना खाइने भएको र ब्रत बस्ने कार्यप्रति मानसिक रुपमा पनि तयार हुने भएकोले स्वास्थ्यमा असर नपुग्ने धारणा डा. गिरीको छ। नेपाली महिलाको साझा चाड बन्दै गएको तीजको संस्कार र संस्कृतिलाई जोगाउँदै विकृति र विसंगतिलाई हटाउनुपर्ने आवाज पनि उठ्न थालेको छ। सांस्कृतिक परम्परालाई परिष्कृत तुल्याउनुपर्नेमा अधिकांश महिला सहमत भएझैं तीजालाई महँगो र भड्किलो हुनबाट जोगाउन तीजकै गीत र भाकाबाट सन्देश दिने पो हो कि ? - दिनेश गौतम
|
| |
|
| |
|