|
|
यति झन्झट बेहोरेर निर्माण गरेको मूर्ति बिक्री भएर आर्थिक लाभ हुने सम्भावना क्षीण छ। किनकि नेपालमा कला त्यसमा पनि मूर्तिकलाप्रति आकर्षा र किनेर घर बगैंचा सजाउने संस्कारको थालनी नै भएको छैन। यस्तो कठिन र विषम परिस्थितिमा कुनै कलाकार मूर्ति निर्माणमा जुट्छ भने त्यसलाई चुनौतिपूर्ण काम नै मान्नुपर्ने हुन्छ। तिनै मध्येका एक कलाकार हुन् ओम खत्री। आफ्नो समय, चिन्तन र परिश्रम मूर्तिकलामा खर्चिंदै आएका युवा मूर्तिकार खत्रीको सक्रियतामा मूर्तिप्रति जागरण ल्याउने केही काम हुँदै आएका छन्। तिनै मध्येका एक हो मूर्ति रचना कार्यशाला। गतवर्ष प्रस्तर मूर्तिकला कार्यशाला गरेर चर्चामा आएका खत्रीले नेतृत्व गरेको आरम्भ संस्थाले यस वर्षसिर्जना कलेज अफ फाइन आर्टस्को सहकार्यमा काष्ठ मूर्ति रचना कार्यशाला गरेर नयाँ कामको शुरुआत गरेको छ।
गत साउन ७ देखि ३० गतेसम्म सिर्जना कलेजको प्रांगणमा प्रदर्शित काष्ठ मूर्तिमा अधिकांश चित्रकारकै सिर्जना देख्न पाइन्थ्यो। ३१ जना कलाकारका सिर्जना सजाइएको प्रदर्शनी वरिष्ठता, उमेर समूह र शैलीका किसिमले विविधतायुक्त थियो। ८० नाघेका वृद्ध र वरिष्ठ मूर्तिकार गोविन्दनारायण ज्यापूदेखि कलाकर्ममा भर्खरै अग्रसर भएका कलाकारलाई पनि प्रदर्शनीमा ठाउँ दिइएको देखिन्थ्यो। माध्यम काठ भए पनि आफ्नो सिर्जनालाई बढी अर्थपूर्ण बनाउन केही कलाकारले काठमा कतै धातुको प्रयोग पनि गरेका थिए। चित्रमा ख्याति कमाएका कलाकारहरु उत्तम नेपाली, कला मानन्धर, शंकरराज सिंह सुवाल एवम् किरण मानन्धर मूर्तिकलामा प्रकट हुँदा शुरुमा जिज्ञासा उत्पन्न हुन सक्छ तर उनीहरुका कामको सूक्ष्म निरीक्षण गर्दा चित्रकै झल्को पाइन्छ। चित्रमा उनीहरुले जुन किसिमको शैलीको विकास गरेका छन् मूर्तिमा पनि त्यो देखिन्छ। यी वरिष्ठ कलाकारका चित्रप्रति परिचित्र दर्शकले नाम नराखे पनि यी मूर्ति तिनकै हुन् भनेर छुट्याउन कसरत गर्नु पर्दैन। त्यस्तै अन्य चित्रकारहरु शरद रन्जित, वैकुण्ठमान श्रेष्ठ, उत्तम खरेल, सुनीलकुमार रन्जित, राजन काफ्ले, सुनीता राणा, राजु पिथाकोटी, नरेन्द्रप्रसाद भन्डारी, विजय महर्जनलगायत चित्रकारले पनि मूर्तिमा आफ्नो उपस्थिति स्पष्ट देखाएका छन्। चित्र र मूर्ति दुवैमा काम गर्दै आएका नरेन्द्रबहादुर श्रेष्ठ, हर्षबहादुर कायस्थ, चन्दा श्रेष्ठलगायतले पनि कला सबै एउटै हो, माध्यम मात्रै फरक हुन्छ भन्ने उक्तिलाई आफ्नो काममार्फत चरितार्थ गरेका छन्। यस्तै प्रवीणकुमार श्रेष्ठ, शारदामान श्रेष्ठ, पुष्पाञ्जली शेरचन, पूर्णकाजी शाक्य, हृदयबल्लभ पाण्डे, भुवन थापा ँबहुबी’, कमलेका महर्जन, किशोर राजभण्डारी, इन्दिरा श्रेष्ठ कमला आदि कलाकारले पनि मूर्त अमूर्त शैलीमा समसामयिक परिस्थितिलाई आफ्नो कलामार्फत व्यक्त गरेका छन्। मूर्तिमै समर्पित कलाकारहरु गोविन्दनारायण ज्यापू, रामकृष्ण भण्डारी, नवीन्द्रमान राजभण्डारी, सुरेन्द्र विक्रम राणा तथा ओम खत्रीले छनोट गरेका विषय, प्रस्तुति तथा शैलीले आफ्नोपन बोकेको छ।
२०६३ वैशाख-जेठतिरै प्रदर्शन गर्ने गरी तयारी गरिएको प्रदर्शनी सम्पन्न हुन लामो समय पर्खिनुपर्नाका कारण पनि दोस्रो जनआन्दोलन नै थियो। दिनहुँको कर्फ्यु, बन्द जस्तो तनावपूर्ण स्थिति र कलाकार पनि आन्दोलनमा होमिएका हुँदा प्रदर्शनी गर्न ढिलाइ भएको सिर्जना कलेजका प्रिन्सिपल शशी शाहले बताउनुभएको छ। शाहले यस किसिमको प्रदर्शनीले कलेजका विद्यार्थीमा उत्साह जगाएको र मुलुककै मूर्तिकलाको इतिहासमा नयाँ आयाम थपिएको धारणा पनि राख्नुभयो। प्रस्तर र काष्ठकला कार्यशालाको सफलताबाट उत्साही भएका युवा मूर्तिकार ओम खत्रीले मूर्ति कार्यशालालाई निरन्तरता दिने बताएका छन्। खत्रीले यही भदौको अन्तिमतिर राष्ट्रिय मूर्तिकला प्रदर्शनी आयोजना गरिने र त्यसको तयारी भइरहेको जानकारी दिए। कलाकारहरुलाई करिब ६ महिनाअघि मूर्ति पठाउन आह्वान गरिएको र अहिलेसम्म प्राप्त मूर्तिका आधारमा सो प्रदर्शनी पनि ऐतिहासिक महत्वको हुने विश्वास उनले गरे। - व्याकुल पाठक
|
| |
|
| |
|