|
|
टोरोन्टोको नमस्ते रेडियो - गोविन्दसिंह रावत - प्रचारप्रसारको सशक्त माध्यम ठानिएको रेडियोका कारण जनता धेरै कुरामा सुसूचित हुने डरले राणा प्रधानमन्त्री जुद्धशमशेरले सन् १९४१ को दोस्रो विश्वयुद्धताका रेडियो जफत अभियान शुरु गरे। जसमा लगभग ४ सय रेडियो जफत गरिएको मानिन्छ। रेडियोको आविस्कार भएपछि यो मानवीय जीवनको बौधिक खुराकसँगसँगै मनोरञ्जनको एक मात्र साधन भएर विस्तारै सामाजिक उत्थानको अनिवार्य अंग बन्न थाल्यो। नेपालमा रेडियोको थालनी गर्ने श्रेय तारणीप्रसाद कोइरालालाई जान्छ भने जग हाल्ने काम काशीराज पाण्डेले गरेको कुरा पनि बिर्सन हुँदैन। रेडियोको थालनीको इतिहास केलाउँदा रोचक प्रसंग अगाडि आउँछन्। भनिन्छ, ब्रिटिस भारतमा सन् १९२४ पछि रेडियो प्रसारणका अभ्यास शुरु हुँदा भारतीय सेना -ब्रिटिस गोर्खा) तथा भारतका अन्य क्षेत्रमा कार्यरत नेपालीहरूले रेडियो सुन्ने मौका पाएका थिए। भारतमा सन् १९३२ देखि नै बीबीसीले भारतसहित अन्य ब्रिटिस उपनिवेशमा रेडियो प्रसारण सेवा शुरु गराइसकेको पाइन्छ भने सन् १९३६ मा अल इन्डिया रेडियो स्थापनापछि रेडियो भएका नेपालीहरुले पनि नेपालभित्र रेडियो सुन्न थालेको अनुमान लगाउन सकिन्छ। जुद्धशमशेरको शासनकाल शुरु भएपछि काठमाडौंका राणा खलकहरू र उनीहरूका केही विश्वासपात्र परिवारहरुमा रेडियो सेट राखेर विदेशी रेडियो कार्यक्रम सुन्ने चलन शुरु भएको थियो। नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा पहिला नेपालमा रेडियो भित्रिएको प्रसंगबारे चर्चा गरौं। मदनमणि दीक्षितका अनुसार उनका कान्छा काका देवमणि दीक्षितले सन् १९२९ मा बेलायतबाट झिकाएको रेडियोलाई उनले काठमाडौंको सातौं रेडियो मानेका छन्। तर पहिलो रेडियोबारे उनी मौन छन् भने पहिलो रेडियो कुनै तत्कालीन राणा प्रधानमन्त्री वा उच्चपदस्थ राणा परिवारसँग हुनुपर्ने अनुमान लगाउन सकिन्छ। कमलमणि दीक्षितले पनि आफ्ना काकाबाजे नरेन्द्रमणि दीक्षितको घरमा वि.सं. १९९५ (सन् १९३८) तिर रेडियो आएको कुरा बताएका छन्। प्रचारप्रसारको सशक्त माध्यम ठानिएको रेडियोका कारण जनता धेरै कुरामा सुसूचित हुने डरले राणा प्रधानमन्त्री जुद्धशमशेरले सन् १९४१ को दोस्रो विश्वयुद्धताका रेडियो जफत अभियान शुरु गरे। जसमा लगभग ४ सय रेडियो जफत गरिएको मानिन्छ भने बनारस हिन्दू विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ उपाधि पाएका इन्जिनियर काशीराज पाण्डेसँग भएको रेडियो भने जफत नगरेर उनलाई रेडियोका बारे अध्ययन गर्न थप जफत भएका रेडियोहरु पनि उपलब्ध गराइएको थियो। पाण्डेले द्वितीय विश्वयुद्धमा भाग लिएर फर्केका नेपाली सैनिकहरूले युद्धमा प्रयोग गरेका वायरलेसको उपयोग गरी माघ २००३ -जनवरी १९४७) मा नेपाल ब्रोडकास्टिङको नामबाट रेडियो प्रसारण शुरु गराएका थिए। प्रारम्भमा आधा घण्टाका लागि शुरु भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डे पहिलो उद्घोषक थिए। पछि गएर गोरखापत्रका तत्कालीन सम्पादक प्रेमराज शर्मा अर्का उद्घोषक भएका थिए। राणा प्रधानमन्त्री पद्मशमशेर राणाले शुभारम्भ गराएको नेपाल ब्रोडकास्टिङ रेडियोको प्रसारणलाई बढीभन्दा बढी श्रोतासम्म पुर्याउन सर्वसाधारणलाई रेडियो राख्न पाउने गरी पद्मशमशेरले साउन २००३ मा फुकुवा हुकुम दिएका थिए। पद्मशमशेरपछि मोहनशमशेर श्री ३ भएपछि उनको दबाबमा केही महिना चलेर नेपाल ब्रोडकास्टिङ बन्द भयो। मोहनशमशेर आफैंले २००५ सालमा ँमोहन आकाशवाणी’को नामबाट रेडियो प्रसारण सेवा शुरु गराएका थिए। यही ँमोहन आकाशवाणी’को भोजपुर शाखामा भएको सेटबाट नेपाली कांग्रेसका मुक्ति सेनाका योद्धाहरूले २००७ साल मंसिरको अन्त्यमा रेडियो प्रसारण गराएका थिए भने पछि गएर २००७ साल माघको अन्त्यतिर तारिणीप्रसाद कोइरालाले आफ्ना सहयोगीहरुसँग मिलेर विराटनगरबाट ँप्रजातन्त्र नेपाल रेडियो’को नामबाट प्रसारण सेवा सञ्चालन गराएका थिए। सात सालको क्रान्तिबाट राणाशासनको अन्त्य भएपछि यही ँप्रजातन्त्र नेपाल रेडियो’ काठमाडौंबाट प्रसारित हुने ँनेपाल रेडियो’ बन्न पुग्यो, जसको नाम पछि फेरेर ँरेडियो नेपाल’ बनाइयो। रेडियो नेपालले पनि ३० वर्षसम्म राजतन्त्र र पञ्चायतको गुनगान गाउँदै बस्यो। नेपालबाहिर नेपाली रेडियो प्रसारण प्रारम्भ गर्नेहरुको इतिहास खोतल्ने बेला पनि आएको छ। सम्भवतः भारतबाट नै नेपालबाहिर नेपाली भाषाको रेडियो प्रसारण शुरु भएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ भने त्यसपछि बर्मा, चीन, रुस आदि हुँदै अन्यन्त्र मुलुकमा पनि नेपाली भाषाको रेडियो प्रसारण सेवा शुरु भएको पाइन्छ। नेपालबाहिर रेडियो स्थापनाको कुरा गर्नुपर्दा भारतबाट अल इन्डिया रेडियोले नेपाली भाषामा प्रसारण प्रारम्भ गरेको देखिन्छ। भारतको दार्जीलिङ जिल्लामा नेपाली भाषीहरुको बाहुल्यता भएकाले अल इन्डिया रेडियोअन्तर्गत खर्साङ रेडियोले पूरै अवधिभर नेपाली भाषाको कार्यक्रम प्रसारण गर्दे आएको पाइन्छ। त्यसपछि चीन सरकारले नेपालसँगको दौत्य सम्बन्धलाई अझ दह्रो पार्न २५ जुन १९७५ देखि नेपाली भाषामा आफ्नो रेडियो सेवाको थालनी प्रारम्भ गराएको हो। प्रारम्भमा चीन सरकारले नेपालबाटै नेपाली भाषाका ज्ञाताहरुलाई निम्ताएर विशुद्ध नेपाली कार्यक्रम बनाई प्रसारण आरम्भ गराएको थियो भने पछि नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययन गरेर चीनले आफ्नै नागरिकबाट नेपाली भाषाको रेडियो कार्यक्रमलाई नियमितता दिँदै गएको पाइन्छ। त्यस्तै रुसमा पनि रसियन रेडियोबाट नेपाली कार्यक्रम ३० को दशकदेखि नै प्रसारण हुँदै आएको देखिन्छ। बंलादेशमा त्यहाँ चिकित्सा शास्त्रको अध्ययन गर्न गएका नेपालीहरुले बंलादेशी रेडियोबाट साप्ताहिक नेपाली कार्यक्रमको थालनी गराएको पाइन्छ। डा. भोलानाथ रिजाललगायतले अध्ययन अवधिमा शुरु गराएको बंलादेशी रेडियोको नेपाली भाषाको कार्यक्रम अहिले पनि बंलादेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट सञ्चालन त्यही रुपमा भइरहेको छ। सन् १८१६ को सुगौली सन्धिपछि ब्रिटिसहरुले लाहोरमा सैनिक भर्ना कार्यालय खोलेर नेपाली युवाहरुलाई लाहुरे बनाई ब्रिटिस गोर्खा फोर्समा लिन थालेपछि नेपालीहरु नेपालबाहिर जाने क्रम शुरु भएको मानिन्छ। बीबीसीले पनि आफ्नो रेडियो कार्यक्रममा ती वीर नेपालीहरुलाई विश्वको मानचित्रमा हुने गरेका वास्तविक घटनाको जानकारी दिन एवम् नेपाली गीत-संगीत सुनाउन नेपाली सेवालाई स्थान दिँदै गएको पाइन्छ। ब्रिटिस फोर्समा कार्यरत सैनिकका लागि ५० वर्षघि स्थापित ब्रिटिस फोर्स ब्रोडकास्टिङ र्सर्भिस -बीएफबीएस) ले पछि गएर ब्रिटिस गोर्खा सैनिकहरुको मनोरञ्जन एवम् समसामयिक विषयमा आधारित सूचनामूलक रेडियो कार्यक्रमको थालनी गरायो। त्यसैलाई ब्रिटिस सरकारको अधिनमा रहेको हङकङबाट नेपाली सेवाको कार्यक्रम शुरु गराएको पाइन्छ। हङकङबाट किशोर गुरुङको सञ्चालनमा -बीएफबीएस) गोर्खा रेडियोको कार्यक्रम निर्माण एवम् प्रसारण शुरु गराएको थियो। उनी हङकङमा बसोबास गर्ने नेपालीसँग प्रत्यक्ष वार्ता गर्दै फोनइन कार्यक्रम सञ्चालन गर्नेगर्थे। यही कार्यक्रमलाई पछि पाण्डव सुनुवारले रेडियो नेपालका लागि प्रसारण गरेर अभूतपूर्व सफलता हासिल गरे। नर्थ अमेरिकाको सन्दर्भमा कुरा गर्नुपर्दा रेडियो दोभानको नाम अग्रपंक्तिमा आउँछ। वासिङटन डिसीबाट सेप्टेम्बर ३०, २००० देखि केही युवाहरुको प्रयासबाट नेपाली भाषाको सामुदायिक रेडियोको रुपमा रेडियो दोभानको प्रसारण सेवाको शुभारम्भ भएको हो। हाल यसको सभापतिमा नरेन्द्र पौड्याल छन् भने अमेरिकाको टेक्सस्, डालासबाट रेडियो एभरेष्टका माध्यमबाट चन्द्र प्रसाईले नेपाली भाषाको कार्यक्रम प्रसारण गर्दै आइरहेका छन्। अमेरिकाको डिसीबाटै सगरमाथा टेलिभिजनको प्रसारण सेवाले पनि देशबाहिर नेपाली भाषा, साहित्य र संस्कृतिलाई फैलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। क्यानाडाको टोरोन्टोमा पनि २००५ को जुलाई २ तारिखबाट नेपाली भाषाको रेडियो सेवाको परीक्षण प्रसारण शुरु भएर अगस्टको ६, २००५ देखि नमस्ते रेडियोको नामबाट प्रसारण शुभारम्भ भएको हो। नमस्ते रेडियोको स्थापना गर्न लगभग दुई महिनासम्म गृहकार्य गर्नुपर्यो। अमेरिकाबाट आएका अनिल थापाले रेडियो स्थापना गर्न सहयोग मागेपछि यस लेखकको अग्रसरतामा प्रत्यक्षरुपमा अनिल ओझा, स्वयम् पोखरेल, सपना ढुंगाना, दृष्टि रावत, विपिन पोखरेल र सञ्जीव शर्मा अनि अप्रत्यक्ष रुपमा दीप विष्ट, स्वेच्क्षा पोखरेल, इभा शर्मा, सुरज श्रेष्ठ, विवेक ढुंगाना आदिको सहयोयबाट नमस्ते रेडियोको प्रसारण सेवा शुरु भएको थियो। नमस्ते रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी सहयोगीहरुलाई बिर्सन सकिँदैन भने आफ्नो विज्ञापन दिएर धेरथोर मात्रामा भए पनि नमस्ते रेडियोलाई सहयोग गर्नेलाई पनि बिर्सनु हुँदैन। टोरोन्टोमा रहेका नेपाली संघसंस्था र व्यक्तिले रेडियोको सदस्यता लिएर गरेको आर्थिक सहयोगले पनि नमस्ते रेडियोको प्रसारणलाई निरन्तरता दिँदै गएको छ। त्यसैले टोरोन्टोमा नमस्ते रेडियोको स्थापना एक व्यक्तिको प्रयासबाट मात्र नभएर त्यसमा विभिन्न व्यक्तिको प्रयास जोडिएको छ। तर अहिले तथाकथित संस्थापक बनेर नमस्ने रेडियोको स्थापनार्थ जग हाल्ने संस्थापकहरुको नामै रेडियोको बेब साइडबाट हटाएर इतिहासलाई लुकाउने प्रयास भएको स्पष्ट रुपमा देखिएको छ। नमस्ने रेडियोबाट यसका संस्थापकहरु बिस्तारै टाढिँदै जानुपर्ने विभिन्न कारण होलान्। तर आफैले जन्माएको रेडियोलाई यस लेखकले निरन्तरता दिन नसक्नुको कारण प्रजातन्त्रमाथिको विश्वास र रेडियोमा राजाका भ्रमणका समाचारहरुले प्राथमिकता पाउँदै जानु पनि हो। नेपालमा राजा ज्ञानेन्द्रको एकतन्त्रीय शासन चलेको बेला साह्रा राष्ट्र र राष्ट्रवादी नेपालीहरु प्रजातन्त्र प्राप्तिमा संघर्षरत रहेको बेला नमस्ते रेडियोले नेपालको समाचारमा राजाको सवारीलाई प्राथमिकताका साथ प्रसारण गर्नेगर्थ्यो। देशभित्र र बाहिरबाट राजाको चुनावी नीतिको विरोध भइरहेको अवस्थामा नमस्ते रेडियोले राजाको चाकरी गर्दै तत्कालीन निर्वाचन आयुक्त राजभण्डारीको काठमाडौंबाट प्रत्यक्ष प्रसारण गराएर राजाको चुनावको प्रचार गरिरहेको थियो। टोरोन्टोमा राजाको निरंकुश शासनका विरुद्ध निकालिएको विरोध जुलुसको समाचारलाई मण्डले शैलीमा प्रसारण गरिएपछि नमस्ते रेडियो राजावादी रेडियोको नामले चिनिन थाल्यो। प्रसारण सेवा कुनै पनि प्रकारको राजनीतिक रङको छायाँबाट अलग्गै रहनुपर्दछ र यसलाई यस्तो साझा चौतारी बनाउनुपर्छ जुन चौतारीमा सबै खाले विचारले स्वच्छन्द रुपमा विचरण गर्न पाउनुपर्छ। प्रारम्भदेखि नै यसका संस्थापकहरुले निःशुल्क रुपमा आफ्नो परिश्रम लगाएका थिए तर ती संस्थापकका नाम नै मेटाउन थालेपछि यसको लोकप्रियता कम हुँदै गएको छ। प्रारम्भमा आइतबार एक घण्टा प्रसारण हुने रेडियो हाल आएर शनिबार आधा घण्टाको प्रसारणमा सीमित हुन पुगेको छ। हाल केदार बस्नेत नमस्ने रेडियोका अध्यक्ष छन्। तर यो टिम पनि रेडियोलाई छोड्ने वा प्रजातान्त्रिक तरिकाबाट नयाँ समिति गठन गर्ने तर्खरमा छ। |
| |
|
| |
|