|
|
लामो संघर्षपछि लोक गायनको यात्रासँगै बुढाले हिमालयन डोल्पो टुरिजम प्रमोसन सेन्टर र काउड गोड्स ट्रेकिङ प्रालि पनि सञ्चालनमा ल्याए। लोक सांगीतिक क्षेत्रमा होमिएका बुढाले श्रोताबाट माया र सद्भाव त कमाए तर पेट पाल्न मुस्किल परेपछि बाध्य भएर ती दुई व्यवसायलाई अपनाउनुपरेको वास्तविकता उनी नलुकाई भन्छन्। उनी यी दुवै क्षेत्रलाई एकसाथ अघि बढाउन चाहन्छन्।
केही समयअघि लोक गायिका कोमल ओलीको पोइल जान पाम भन्ने बोलको गीत समावेश गरिएको एल्बम बजारमा आयो, त्यसैको जवाफमा बुढाको मैले लान पाम नामक एल्बम बजारमा आएपछि उनले धेरै प्रशंसा र गाली खानुपर्यो। उनलाई कोमल ओलीले अदालतमा मुद्दा हाल्नेसम्मको धम्की दिइन् भने अर्कोतिर उनको एल्बमले चर्चाको शिखर चुम्दै थियो। ठूलो वादविवाद चलिरहेकै बेला गायक बुढालाई कोमल ओलीको गृह जिल्ला दाङ र इलामका महिला समूहले नारी विकृतिविरुद्ध ँजेहाद छेडेको’ भन्दै अभिनन्दन गर्न निमन्त्रणा नै गरे। गायिका ओली र आफूबीच चर्को मतभेद भएपछि बुढाकै पहलमा आफ्नो र गायिका ओलीको संयुक्त स्वरमा ताराबाजी लैलै नामक एल्बम बजारमा आयो। केही समयअघिसम्म दुश्मनजस्तै देखिने बुढा र ओलीबीच अहिले सम्बन्ध ज्यादै प्रगाढ बनेको छ। विभिन्न भाषामा दखल भएका बुढा राष्ट्रिय-अन्तराष्ट्रिय गीत-संगीतमा समेत रुचि राख्छन्। बुढा चर्चित फिल्म निर्माता एरिक भ्यालीको क्याराभान नामक चलचित्रले डोल्पाको सबै क्षेत्रलाई समेट्न नसकेकोमा चिन्तित छन्। उनको पहलमा हिमालयन संस्कृतिसम्बन्धी फिल्म पनि बन्यो, जसलाई कोरियाको केभीएस च्यानलले प्रसारण गर्यो। लामो अनुसन्धानपछि रियल क्याराभान नामक वृत्तचित्र बनेको छ। जसमा तिब्बतको दुःखलाई जस्ताको तस्तै उतारिएको छ। शुरुमा पथ प्रदर्शक बनेर गएका बुढा पछि स्थानीय बासिन्दा र विदेशी निर्माताबीच भाषाको समस्या परेपछि उक्त वृत्तचित्रमा नायकको भूमिका निर्वाह गर्न पुगे। उक्त वृत्तचित्र युरोप, जापान, कोरिया, ताइवानमा प्रदर्शन भइसकेको छ। संगीत क्षेत्रमा लागेर आफूले मान-सम्मान पाए पनि कलाकारले सिर्जना गरेपछि कम्पनीले शोषण गर्ने, रोयल्टी नपाइनेजस्ता क्रियाकलापबाट आजित भएका बुढा नेपाली संगीत बजारको विकृतिलाई हटाउन सरकारले नै पहल गर्नुपर्ने स्पष्ट अडान राख्छन्। -दीपक रिजाल
|
| |
|
| |
|