|
|
नेपाली कला-संस्कृतिको उत्पत्ति अनि त्यसबाट लिइने मनोरञ्जनको खोजीनीति गर्ने हो भने गाईजात्राको इतिहाससम्म पुग्नुपर्ने हुन्छ। नेपाली समाजको इतिहास जति पुरानो छ गाईजात्राको इतिहास पनि त्यतिकै पुरानो छ, इतिहासविद्हरु भन्छन्। वास्तवमा ख्यालठट्टा र रमाइलो गर्ने क्यारिकेचरका कारण नै रंगमञ्च र पर्दाको विकास हुन गएको हो भन्दा अत्युक्ति नहोला। इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार गाईजात्रा लिच्छविकालमा नै जनतामाझ प्रख्यात भइसकेको थियो। त्यसलाई मल्लकालीन राजाहरुले व्यवस्थित तरिकाले समाजमा प्रदर्शन गर्ने नियम बनाएर सुचारु गरे।
वरिष्ठ संस्कृतिविद् एवम् भाषाविद् सत्यमोहन जोशीका अनुसार गाईजात्राको व्यवस्थित शुरुआत जयस्थिति मल्लले गरेका हुन्। उनकै अनुकरण गर्दै काठमाडौंका राजा प्रताप मल्ल र भक्तपुरका समकालीन राजा जगतप्रकाश मल्लले मृतक परिवारले गाई घुमाउनुपर्ने बाध्यता सिर्जना गरे। मल्लकालका ती प्रतापी राजाहरुले गाईजात्रालाई मृत्यु संस्कारसँग मात्र नजोडी रमाइलो र मनोरञ्जन गर्ने खुला दबुको रुपमा विकास गरे। गरुड पुराणमा गाईजात्रा हिन्दुहरुको एक संस्कार भनिए पनि अहिले आएर सबैको प्रिय जात्राको रुपमा गाईजात्रा देखा परेको छ। गीत, संगीत, नाच, प्रहसन, अभिनय र चित्रकलाको ऐतिहासिक जमघट हुने गाईजात्राका परम्परा र संस्कृतिको रुपमा मात्र नभई दुःख र पीडामा परेकालाई स्वस्थ मनोरञ्जन दिने संग्रहालय जस्तै बनेको छ। गोपालराज बंशावलीमा गाईजात्रालाई लिच्छविकालमा विस्तृत पारेको उल्लेख छ। नेपाल उपत्यकामा मल्लकालीन राजाहरुले पन्ध्रौं शताब्दीतिर गाईजात्रालाई सर्वसाधारणको प्रिय जात्राको रुपमा स्थापित गरेको कुरा ऐतिहासिक ठ्यासाफूमा उल्लेख गरिएको पाइन्छ। खासगरी नेवारी सम्प्रदायमा प्रख्यात गाईजात्राले सम्प्रदायको सीमा नाघेर समस्त नेपालीको मनमा पस्ने काम गरिसकेको छ। त्यसैले त गाईजात्राको अवसर पारेर नेपाली हाँस्य विधाका प्रखर योद्धाहरुले प्रत्येक वर्ष गाईजात्रे हाँस्यव्यङ्ग्य साँझ गर्छन्।
काठमाडौंमा गाईजात्राको दिन बालबालिकालाई जीउमा गहनाले सिंगारी, जामा लगाई पेरुंगोमा गाई मुखाकृति चित्र लगाउने चलन छ। यसै गरी बहुला भेषमा पेरुंगोमाथि गाईचित्र टाँस्न लगाई नगर घुम्न पठाउने प्रचलन छ। यो विचित्र भेषका कारण मृतक परिवारमा वेदना हटाई हाँसो ल्याइदिन्छ। कसै कसैले त ऋषिमुनि अथवा जोगीको भेषमा पनि कमण्डलु, त्रिशूल समाई गाईको मुख छापालाई पिरेंगोमा टाँसेर कागजका कान पञ्च पताका शिरमा लगाई गाईको रुपमा प्रदर्शन गर्ने गर्दछन्। यसरी नै उपत्यकाको पाटन शहरमा दिवंगत भएका परिवारका आत्मा शान्तिको लागि भनेर ऋषिमुनि वा जोगीको भेषमा अनि रामायण, महाभारतका पात्रको भेषमा गाईजात्रा गरिन्छ। उता भक्तपुरमा भने बाँसको डोको वा ३० फिटजतिको ४ वटा बाँसलाई शिखर शैलीमा बाँधेर गाईको स्वरुप तयार गरिन्छ र त्यसलाई उफारी उफारी घिंटाङगिसी बाजाको तालमा लठ्ठी जुधाएर स्वतन्त्रपूर्वक मृतकका आफन्तजन नाच्छन्। अनेक भेषमूषामा प्रस्तुत भएर रमाइलो गर्छन्, हाँस्यव्यङ्ग्य गर्छन्। प्रस्तुति जस्तो भए पनि परापूर्वकालमा गाईजात्रा मनोरञ्जनको सशक्त माध्यम बनेको थियो। गाईजात्रामा गरिने घिंताङगिसी नाच भक्तपुरबाट नै शुरुआत भएको भनिन्छ। गाईजात्रामा गरिने ठट्यौली भेष बदली अभिनयबाट नै नाटक प्रहसनको जन्म भएको हो। जो भविष्यमा सफल कलाकार बन्न चाहन्छन् जसले स्थान र मौका पाएका छैनन् अनि आफ्नो प्रतिभा लिएर छट्पटाइरहेका छन् उनीहरुका लागि राम्रो मञ्चको रुपमा गाईजात्रालाई लिन सकिन्छ। भेषभूषा बदलेर उपत्यकाका चोकचोकमा आफ्ना प्रस्तुति एक हप्तासम्म देखाउन जाँदा कसैले पनि असहज मान्दैनन्। उपत्यकामा खास गरी भक्तपुर त गाईजात्राको आठ रात आठ दिन खुला प्रतिभा मञ्च हुने गर्दछ। जहाँ न त स्थानको अभाव हुन्छ न त दर्शकको नै। प्रसिद्ध हाँस्यव्यङ्ग्यकर्मी एवम् रंगमञ्चकर्मी रामशेखर नकर्मीले आफ्नो अभिनय र प्रहसनको यात्रा गाईजात्राबाट नै गरेका थिए। २०१२ सालमा चोकचोकमा गएर गाईजात्राको नाटक र प्रहसन गर्दागर्दै उनले अभिनयमा निखारता ल्याए। फलस्वरुप दर्जनौं टेलिचलचित्रमा कलाकार र निर्देशक भई कार्य गरेका थिए। हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि स्वरुप बदलिएको गाईजात्राबाट नै आफ्नो अभिनय यात्रा शुरु गरेका हुन्। २०३४ सालमा प्रज्ञाभवनमा भएको गाईजात्रा महोत्सवमा रामशेखर नकर्मी र मदनकृष्ण श्रेष्ठको गाईजात्रे अभिनय हेरेर हरिवंशले त आफ्नो जीवन नै हास्यव्यङ्ग्य क्षेत्रमा होम्ने अठोट गरेका थिए। कृषिप्रधान देशमा कृषकहरु कृषिको काम सकेर मन बहलाउने समयमा नाचगान र व्यङ्ग्यमार्फत वर्षदिनको गह्रौ शरीरलाई हलुका पार्छन्। मरेका व्यक्तिहरु यमलोक जान नपाई बाहिरै रहन्छन्। यदि गाईजात्राको दिन यमद्वार अलिकति खोलिने भएबाट शहर परिक्रमा गराइएको गाईको फल प्राप्ति हुन्छ। त्यसकै प्रभावले गर्दा गाईको सिङको झट्काले यमद्वार पूरा खोलिन गई मृतआत्माहरु यमलोक जान पाउँछन् भनी गरिएको गाईजात्राको महत्व वर्तमान युगमा पनि त्यत्तिकै रहेको संस्कृतिविद् लीलाभक्त मुनंकर्मी बताउँछन्। परम्परा मनाउने क्रममा छेडछाड गर्दै, व्यङ्ग्य गर्दै, भेष बदल्दै जाँदा यसले आधुनिक गाईजात्रा साँझको रुप लिन्छ भनेर कमैले सोचेका थिए होला।
संस्कृतिविद् लीलाभक्त मुनंकर्मीका अनुसार मल्लकालमा राजाहरुले आफ्नो शासनप्रति जनताको गुनासो थाहा पाउन गाईजात्रामा राजालाई समेत गाली गर्न पाउने छुट दिइएको थियो। यसैको निरन्तरता स्वरुप गाईजात्रामा जसले पनि भेष बदलेर व्यङ्ग्य गर्दै जसलाई पनि गाली गर्न पाउँछन्।
यस
जात्राको
आठ
दिनसम्म
अनेक
प्रकारका
प्रहसन
तथा
सामाजिक,
राजनीतिक
कुराको
व्यङ्ग्यात्मक
प्रदर्शन
र
नाचगान
गर्न
पाउने
चलन
रहेको
छ।
काठमाडौं र पाटनमा हराइसकेको गाईजात्रे सडक प्रहसन र नाटक भक्तपुरमा पनि हराउने हो कि भन्ने चिन्ता लागेको भक्तपुरका स्थानीय बासिन्दा बताउँछन्। अहिले प्रदर्शनमा रहेका टेलिचलचित्रहरु तीतो सत्य, जीरे खुर्सानी, मेरीबास्सैलगायतका हाँस्यव्यङ्ग्यात्मक प्रस्तुतिहरु परम्परागत गाईजात्राका उपज हुन्।तीनै टेलिचलचित्रका कारण सडकमा देखाइने गाईजात्रे प्रहसनको संख्या घट्दै गएको छ। यस्तो नहोस् भनेर भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरु हुँदा टोलटोलमा मूल्यांकन टोली राखेर पुरस्कार दिने व्यवस्था गरेको थियो। तर प्रतिगमन र लोकतन्त्रपछिको आठ दलको भित्री वैमनस्यताले यस वर्ष यस्तो व्यवस्था नभएको देख्दा नवउदयी प्रतिभाहरुले खिन्नता महसुस गरे। नयाँ कलाकारको जन्म हुने बाटो साँघुरिएको त होइन भन्ने लाग्न थालेको छ। - पूर्णभक्त ढुवाल
|
| |
|
| |
|