आईपीएलः हार बेहोर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई



काठमाडौँ । आईपीएलको यस सिजनमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सको खराब सिजन जारी रहेको छ । मुम्बई इन्डियन्सले ८खेल खेल्दा मात्र २ खेलमा जित दर्ता गरेको छ । मंगलबार राति बैंगलोरको चिन्नास्वामी स्टेडियमको मैदानमा बेहोरेको हार मुम्बईको छैटो हार थियो । घरेलु टोली रोयल च्यालेन्जर्स बैंगलोरले सो खेल १४ रनले जितेको थियो । जुन बैंगलोरको ८ खेलमा तेस्रो जित समेत थियो । अंकतालिकामा मुम्बई सातौं स्थानमा छ भने बैंगलोर पाँचौं स्थानमा उक्लिएको छ ।

बैंगलोरले मुम्बईलाई १ सय ६८ रनको लक्ष्य दिएको थियो । तर मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सकेको थियो । टोलीका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ५० रन जोडे । ४ ओभरमा २५ रन दिएर २ विकेट लिएका बैंगलोरका बलर टीम साउदी म्यान अफ द म्याच घोषित भएका थिए ।

मुम्बईलाई शुरुवातमै झटका लागेको थियो । टिम साउदीले पहिलो ओभरमै इसान किशनलाई शून्यमा आउट गरेका थिए । यसपछि उमेश यादवले तेस्रो ओभरमा लयमा चलिरहेका सूर्यकुमार यादव र रोहित शर्मालाई आउट गरेर एकै ओभर दुई विकेट लिए । सूर्यकुमारले ९ र रोहितले रन बनाउन सकेनन् । त्यस्तै जेपी डुमिनी र क्रुणाल पाण्ड्याले २३ –२३ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६७ रन जोडेको थियो । जसमा मनन बोहराले सर्वाधिक ४५ रनको योगदान दिए । ओपनर मनन र क्विन्टन डीकाकले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । जसमा डीकाकले ३८ रन बनाएका थिए । यसपछि ब्रेन्डन म्याककुलुम र कप्तान विराट कोहलीले तेस्रो विकेटका लागि ६० रन साझेदारी गरे । विराट ३२ रन र म्याककुलुम ३७ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्