सिन्डिकेट हटाउने कार्यमा प्राथमिकता देऊ



लामो समयदेखि कायम रहँदै आएको सिन्डकेट अन्त्यको लागि सरकारले काम अगाडि बढाएको छ । यातायात क्षेत्रमा देखिएको बेथिति र विकृति अन्त्य गर्नका लागि सरकारले समिति खारेज गरेर कम्पनी मोडेलमा जाने निर्णय लिएपछि अहिले यातायात क्षेत्रमा सुधार देखिएको छ । पैसा तिरेर पनि सहजरूपमा यातायात सेवाको उपभोग गर्न नपाएका सर्वसाधारणले सिन्डिकेट तोडिएपछि अहिले केही हदसम्म राहतको महसुस गरेका छन् । हुन त सिन्डिकेट हटाउने सरकारको कदमविरुद्ध अहिले पनि कतिपय क्षेत्रमा भने यातायात व्यवसायीहरूले अवरोध गरिरहेका छन् । सरकारले गरेको निर्णय नमान्ने त्यस्ता यातायात व्यवसायीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ । यातायात क्षेत्रमा सिन्डिकेटको कारण सर्वसाधारण यात्रुले निकै ठूलो सास्ती खेप्दै आएका थिए । सिन्डिकेटको कारण भाडासमेत महँगो तिर्नुपर्ने बाध्यता रहेको थियो ।

यातायात क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि सिन्डिकेट रहेको छ । सरकारले सबै क्षेत्रमा खुल्ला प्रतिस्पर्धामार्फत नागरिकले सहज र सरल ढंगले सेवा दिलाउने काममा लाग्नुपर्छ । सरकारले सिन्डिकेट तोड्न चालेको कदमले नागरिकलाई यतिखेर निकै उत्साहित बनाएको छ । तर कतै सरकार यो निर्णयबाट पछाडि हट्ने त होइन भन्ने आशंका पनि कायमै रहेको छ । सिन्डिकेट सरासर ठगी धन्दा हो । वैधानिकरूपमा हुने लुटतन्त्र रोक्नको लागि सरकारले प्रभावकारीरूपमा कदम चाल्नुपर्छ । नारा र भाषणमा भन्दा पनि नागकिरहरूले प्रत्यक्षरूपमा परिवर्तनको महसुस गर्ने गरी काम गर्नुपर्ने आजको आवश्यकता हो ।
सरकारले थालेको सिन्डिकेट अन्त्य गर्ने अभियानलाई अझ अगाडि बढाउनुपर्छ । सिन्डिकेटलाई खारेज गर्नको लागि सरकारले नीति निर्माण तहबाटै शुरूवात गर्नुपर्छ । सिन्डिकेट हटाउने अभियानमा अवरोध गर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने र यस अभियानमा सहयोग गर्नेलाई पुरस्कृत गर्ने काम सरकारले एकसाथ अगाडि बढाउनुपर्छ । नागरिकको जीवनयापन सहज बनाउनको लागि विकृतिको रूपमा रहेको सिन्टिकेट अन्त्य नभएसम्म समृद्धि र विकार अगाडि बढ्न सक्दैन । सिन्डिकेटका कारण नागरिकहरू महँगी र कालोबजारीको मारमा पर्ने गरेका छन् । सिन्डिकेटले केही व्यक्तिलाई मात्र फाइदा पुग्दै आएको र अधिकांश नागरिकलाई जीवन चलाउन नै कठिन हुँदै आएको सर्वविदित नै छ । नागरिकलाई अनावश्यक हैरानी दिने सिन्डिकेटको अन्त्य गर्नको लागि सरकारले मन, बचन र कर्मबाटै काम गर्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्