विपद्पछिको अवसर सुन्दर बस्तीः सुरक्षित घर



नानीराम नेपाल, सिन्धुपाल्चोक

भूकम्पमा आफैंले बनाएका घरको संरचना नै काल सावित भइदिएपछि भूकम्पपीडितले सुन्दर र सुरक्षित घर बनाएका छन्। भूकम्पको ३ वर्षपछि यतिबेला गाउँबस्तीको मुहार फेरिएको छ। टहराका गाउँबस्तीमा नयाँ डिजाइनका घर संरचना बनेका छन्। रङरोगनले टलक्कै टल्किएका छन्। भूकम्पको ३ वर्ष बीचमा उठेका बस्तीहरू देख्दा सुन्दर मात्र छैनन्, सुरक्षित पनि छन्। पीडित मनमा भूकम्पको घाउ त हटेको छैन तर नवनिर्माणले गाउँबस्तीको स्वरूप नै बदलिएका छन्।

एसओएस बालग्राम नेपालले बनाइदिएको चिटिक्क परेको घर देख्दा इन्द्रावती गाउँपालिका–१२ भीमटारका कृष्णबहादुर दनुवारले गाउँमा यति सुन्दर घर बन्छ भन्ने सोचेका थिएनन्। भूकम्पमा परिवारका २ सदस्य (आमा र पत्नी) गुमाएका उनका लागि नवनिर्माणमा भने भूकम्प नै अवसर सावित भइदियो। पापी भूकम्पले आमाको काख खोस्यो, पत्नीको साथ लुट्यो तर भूकम्पले उनका लागि नयाँ घरको अवसर पनि ल्याइदियो सँगसँगै। ‘भूकम्पमा आमा र पत्नी गुमाएँ, तर चिटिक्क परेको घरमा बस्ने अवसर पाएँ।’ नयाँ घर पाएसँगै कृष्णबहादुरले खुसी पोखे।

आइतबार नयाँ घरको साँचो पाउँदा भीमटारकी ८५ वर्षीया माइली माझीमा खुसीको सीमा नै थिएन। बुढ्यौली उमेरमा टहरोमा कष्टकररूपमा जीवन धान्दै आएकी उनी भुइँचालोले आफूलाई चिटिक्क परेको सुन्दर घरमा बस्ने अवसर दिलाएको सुनाउँछिन्। ‘ढुंगा–माटाका कच्ची घरले नै धेरै मानिसलाई खायो, गाउँमा सबै ढुंगा–माटाका कच्ची घर नै थिए’, नयाँघरमा भेटिएकी उनी भन्छिन्– ‘भुइँचालो नआएको भए यति राम्रा घर बन्ने नै थिएनन्।’ भूकम्पले आफ्ना लागि सुन्दर अनि मजबुत घरको अवसर ल्याइदिएको भाव झल्काइन् उनले। ‘भुइँचालो नआएको भए हामीलाई यस्ता घर कसले बनाइदिन्थ्यो?’ –उनी भन्छिन्।

०७२ वैशाख १२ को शक्तिशाली भूकम्पमा सिन्धुपाल्चोकले सर्वाधिकरूपमा भौतिक र मानवीय क्षति भोग्यो। ३ हजार ५ सय ७७ जनाले भूकम्पमा परी ज्यान गुमाए, ८० हजार निजी घर संरचना ध्वस्त भए। सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरू भग्नावशेषमा परिणत भइदिए। तर, सिन्धुपाल्चोकका लागि विनाशकारी भूकम्प नै नवनिर्माणको अवसर सावित भइदिएको छ।

निर्माणको नजरबाट हेर्दा सुन्दर र सुरक्षित सिन्धुपाल्चोक बनाउनका लागि भूकम्पले ठूलो अवसर लिएर आएको भान हुन्छ। ‘सयौं मरे, घर संरचना भत्किए’, बलेफी गाउँपालिका–१ का वडा अध्यक्ष मधु थापा भन्छन्– ‘क्षति र विनाशसँगै भूकम्पले नवनिर्माणको अवसर लिएर आएछ।’ भूकम्पको ३ वर्षका बीच सिन्धुपाल्चोकमा झण्डै २० हजार निजी घर नवनिर्माण भइसकेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार झण्डै ७० हजार भूकम्पपीडितले नवर्निर्माण शुरू गरिसकेका छन् भने सोही हाराहारीमा अनुदानको दोस्रो किस्ता पनि निकासा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्