वर्षको पहिलो उपाधि थ्री स्टारलाई



गणेश घिमिरे, इलाम

र्योदयको जिल्ला इलामबाट थ्री स्टार क्लबले वर्षको शुरुआतमा भएको पहिलो गोल्डकप प्रतियोगिताको उपाधि उचालेको छ।
इलाममा सोमबार सम्पन्न माईभ्याली गोल्डकप फुटबलको फाइनलमा मनाङमस्र्याङ्दी क्लबमाथि १–० गोलको संघर्षपूर्ण जित निकाल्दै ललितपुरे क्लबले उपाधि जितेको हो। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि १५ मिनेट थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा सुनील बलले गोल गरेका थिए, जुन गोल निर्णायक भएपछि थ्रीस्टारले बाजी मा¥यो। विमल घर्तीमगरको क्रसलाई सुनीलले सदुपयोग गरेका थिए।

विजेता टोली थ्री स्टारले नगद ५ लाख र उपविजेता बनेको मनाङमस्र्याङ्दीले ३ लाख रुपियाँमा चित्त बुझाएको छ। गएको सिजनमा मनाङ र थ्री स्टारबीच ५ पटकको भेटमा थ्री स्टारले नै जित हात पारेको थियो। प्रतियोगितामा मनाङका कप्तान विराज महर्जन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनले १ सय ५० सिसीको यमाहा मोटरसाइकल प्राप्त गरे।

यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षक थ्री स्टारका क्रमशः एलन न्यौपाने, पिटर सेगुन, सुनील, अजय मार्टिन र मेघराज केसी घोषित भए। उनीहरूले नगद १५÷१५ हजार रुपियाँ प्राप्त गरेका थिए। प्रतियोगितामा उदीयमान खेलाडी आयोजक माईभ्याली फुटबल क्लबका दर्शन गुरुङ घोषित भए। उनले पनि नगद १५ हजार रुपियाँ पाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्