सहमतिमा पदाधिकारी मनोनयन गर्ने प्रयास



रामकृष्ण चापागाईं, काठमाडौं
सहमतिमै पदाधिकारी मनोनित गर्न प्रयास गर्ने भन्दै हिजो सोमबार बोलाइएको निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक चार दिनका लागि स्थगित भएको छ।

कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ। दुई महिनाभित्र मनोनित गरिसक्नुपर्ने यी पदाधिकारी दुई वर्षसम्म पनि मनोनित नगर्दा सभापति निकै आलोचित भएका थिए।

निर्वाचनको समीक्षा गर्दै भावी कार्यदिशासमेत तय गरी आइतबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार पदाधिकारी तत्काल चयन गर्न सोमबार बिहान निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक डाकिएको थियो।

सो बैठक बस्दै नबसी चार दिनका लागि स्थगित गरिएको हो। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश बैठक स्थगित भएको सूचना जारी गर्नुभएको थियो। बैठक वैशाख २१ गते शुक्रबार बोलाइएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पदाधिकारी मनोनितमा आम सहमति जुटाउन सोमबारको बैठक स्थगित गरिएको हो। प्रवक्ता शर्माका अनुसार महामन्त्री डा. शशांक कोइरालाको प्रस्ताव र सभापति शेरबहादुर देउवाको समर्थनमा बैठक चार दिनका लागि स्थगित गरिएको हो। सभापति देउवाले बहुमतबाट भए पनि पदाधिकारी मनोनित गर्न सक्ने भए पनि सकेसम्म सहमतिमै मनोनित गर्दा आम जनमानस र कार्यकर्तामा सकारात्मक सन्देश जाने भन्दै बैठक स्थगित गरिएको थियो।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले विरोध जनाए पनि उहाँलाई पनि मनाइसकिएको बताइएको छ।

‘उपसभापतिको प्रमुख दाबेदार म नै हुँ, मलाई सबै पक्षले स्विकार्छन् पनि’, श्रेष्ठले भन्नुभएको थियो– ‘सिनियरको हिसाबले पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि म नै हो।’

निधिलाई उपसभापतिमा मनोनित गर्ने लक्षणका साथ सभापति देउवाले यसअघि उहाँलाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सुम्पिनुभएको थियो। विधानअनुसार दुई महिनाभित्र मनोनित गरिसक्नुपर्ने पदाधिकारी दुई वर्ष बितिसक्दा समेत मनोनित नगरेको भन्दै सभापति देउवाको आइतबार सम्पन्न केन्द्रीय बैठकमा समेत चर्को आलोचना भएको थियो। महामन्त्रीमा खड्कालाई मनोनित गर्दा खुमबहादुर खड्का पक्षधरका सबै नेता समेटिने देउवाको ठम्याइ छ।

खुमबहादुर खड्काको निधनपछि उहाँ पक्षधरको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा चलिरहेको छ। सहमहामन्त्रीमा डा. महतलाई मनोनित गर्दा पौडेल पक्षका केही नेताको समेत समर्थन रहने देउवा निकट नेताले बताएका छन्।
सहमहमन्त्रीमा देउवाले डा. महतलाई मनोनित गर्ने तयारी गरे पनि सहमतिमा रामचन्द्र पौडेल पक्षधरका नेता महेश आचार्य, दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशीको नाममा पनि सहमति हुने सम्भावना रहेको कांग्रेस नेताहरूले अनुमान लगाएका छन्।

मनोनित पदाधिकारीलाई निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकले अनुमोदन गर्नुपर्छ। सहमतिमा पदाधिकारी मनोनित हुन नसकेमा खुमबहादुर खड्का पक्षधरका केन्द्रीय सदस्यहरूको समर्थन भएपछि सभापति देउवालाई मनोनित पदाधिकारी अनुमोदन गराउन सजिलो हुनेछ। निर्वाचित केन्द्रीय समितिमा देउवा पक्षको बहुमत भएपछि पौडेल पक्षले विधानको कुरा उठाएर विरोध गर्दै आएका थिए।

‘विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनित गर्ने उल्लेख छ, दुई वर्षपछि गरिएको मनोनितलाई मानिँदैन।’ –यसअघि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भन्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्