गुम्बा र बिहार पुनर्निर्माणको ९ अर्ब खै ?



नेपाल समाचारपत्र, हेटौंडा ।

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा÷बिहार पुनर्निर्माणका लगि पुनर्निर्माण प्राधिकरणले प्रतिवद्धता जनाएको ८ अर्ब ९३ करोड सरकारले रोकेपछि रकम फुकुवा मागसहित प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल बौद्ध गुम्बा÷विहार संरक्षण महासंघले शुक्रबार हेटौंडामा ज्ञापनपत्र बुझाएको हो । महासंघ केन्द्रीय अध्यक्ष सोम्बले तामाङ र भुकम्प प्रभावित गुम्बा÷विहार पुनर्निर्माण संघर्ष समिति संयोजक सानुबाबु तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघर्ष समितिसँग भएको ६ बुँदे सहमतिसमेत संलग्न गरी सहमति अक्षरशः पालना गर्न माग गरिएको छ ।

क्षति मूल्यांकन सर्वे भइसकेका १ हजार ३ सय २० गुम्बा विहारको पूर्ण बजेटसाथ पुनर्निर्माण कार्य तुरुन्त सुरु गर्न माग गरिएको छ । वौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई सुचारुरुपले सञ्चालन गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।

वार्ताका क्रममा पुनर्निर्माण प्राधिकरणबाट गत आर्थिक वर्ष डिजाइन, ड्रइङ तथा लागत अनुमानका नाममा गुम्बाहरुबाट उठाइएको रकम फिर्ता गर्न ज्ञापनपत्रमा माग गरिएको छ । क्षति मूल्यांकन सर्वे गर्न छुट भएका गुम्बा÷विहारको तुरुन्त सर्भे गर्नुपर्ने माग गर्दै गुम्बा÷ विहार पुनर्निर्माण कार्य उपभोक्ता समितिबाट गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । सहमतिको मर्म र भावनाअनुसार गुम्बा÷विहारको थाङ्का, मूर्ति र अन्य आर्टलाई पनि पुनर्निर्माणको बजेटमा समावेश गर्नुपर्ने माग छ ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल तामाङ घेदुङ साहित्य तथा भाषा विभाग प्रमुख काजीमान थिङ, नेपाल बौद्ध गुम्बा विहार संरक्षण महासंघ महासचिव रामेश्वर ढकाल, महासंघ जिल्ला अध्यक्ष निरु थिङ, नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष लीलाकुमार घलान, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान र संघ सचिव दिलबहादुर लामालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्