“गरिबको ढाड सेक्न गरी शुल्क बृद्धि”



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ ।

अस्पताल विकास सहयोग अभियानको आहृवानमा अस्पताल अगाडि १ घण्टा विरोध प्रदर्शन गरिएको हो ।गरीबहरुले उपचार गर्ने अस्पतालमा चर्को शुल्क वृद्धि गरेर निजी अस्पतालको भन्दा महंगो सेवा बनाएको भन्दै वीरगन्जका युवा तथा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म नारायणी उपक्षेत्रीय अस्पतालको मुख्य गेटबाहिर विभिन्न नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरे ।

नारायणी उप(क्षेत्रीय अस्पतालमा भएको शुल्क वृद्धि, भ्रष्टाचार, अनियमितता, बेथितिको विरुद्धमा प्रदर्शन गरिएको अभियानका संयोजक ओमप्रकाश सर्राफले बताए ।त्यसरी नै मदन गुप्ताले पैसा भएकाहरु जहाँ गएर पनि उपचार लिन सक्ने बताउँदै गरीबहरुको उपचार निशुल्क हुनुपर्नेमा शुल्क वृद्धि गरेर अस्पतालले लापरबाही गरिरहेको बताए ।

प्रदेश सरकारका मन्त्री, अस्पताल विकास समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख, मेडिकल सुपरीटेन्डेन्टलाई समेत बारम्बार ध्यानाकर्षण गराउदा समेत शुल्क वृद्धि फिर्ता नगरिएकोले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको प्रदर्शनकारीहरुले बताएका छन् ।प्रर्दशनकारीले गरीबको ढाड सेक्न पाइदैन, सरकारी अस्पताललाई व्यापारिक केन्द्र बनाउन पाइदैन, अनियमितता र वेथिती बन्द गर, शुल्क वृद्धि फिर्ता गर लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने अस्पतालको आय स्रोत बढाउन आवश्यक शुल्क वृद्धि गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्