असिनाले भित्र्याउनै लागेको गहुँ नष्ट, चिन्तामा कृषक



धनवीर दाहाल, रुकुम ।
बिहिवार अपरान्हदेखी लगातार परेको असिनाले गर्दा रुकुमका अधिकांश ठाँउमा भित्र्याउनै लागेको गहुँबाली नष्ट गरेको छ । रुकुम पश्चिमको मुसिकोट, बाँफिकोट, पेउघा जिउला, साँख, साँदनचौर लगाएतका गहँु उत्पादन राम्रो मानिएका ठाँउमा भारी मात्रामा परेको असिनाले गर्दा गहुँ लगाएत मुसुरो, चना, तथा तरकारीवालीमा पनि क्षति पुर्याएको छ । मुसिकोट नगरपालिकाको घिमानेमा सबै भन्दा बढी असिना परेको थियो ।

लगातार ४ घण्टा सम्म परेको असिनाले गर्दा गहँुबालीका साथै अन्य तरकारी खेतीमा पनि क्षति गरेको स्थानीय शुसिल थापाले बताउनुभयो । यसै गरी रुकुम पुर्वका रुकुमकोट, काँडा, महत लगाएतका ठाँउमा पनि भारी मात्रामा असिना परेको थियो ।

यस बर्षको हिउँदमा पानी नपरेपछि रुकुमका मुख्य गहुँ उत्पादन क्षेत्र मानिएका ठाँउमा अपेक्षा गरिए अनुसारको गहूँ उत्पादन नभएको कृषकहरुले दुखेसो पोखिरहेका बेला परेको असिनाले भएको अलि अलि गहुँ पनि नष्ट गरेको छ ।

आकाशेपानी को भर पर्नुपर्ने ठाँउमा यस बर्ष बिगतको भन्दा उत्पादन आधा भन्दा कम भएकोे थियो । तर त्यही ठाँउमा पनि भारी मात्रामा असिना परेर पुरै गहुँ नष्ट गरेको छ । बिशेष गरी मुसिकोट नगरपालिकाको माछ्मी, साँदनचौर, भलाक्चा लगाएतका मुख्य गहुँ उत्पादनको पकड क्षेत्र मानिएका ठाँउमा बिगतका बर्ष भन्दा उत्पादन घटेको थियो ।

अलि अलि भएको गहुँ पनि भित्र्याउने समयमा परेको असिना पानीले गर्दा बिग्रिएको स्थानीय टिकाराम खत्रीले बताउनुभयो । बाँफिकोट गाँउपालिका मुख्य गहुँ उत्पादन क्षेत्र मानिएको भेराखेत, सेराखेत र कुनाखेतमा पनि गत बर्ष भन्दा गहुँ आधा घटेको स्थानीय शसिराम नाथले बताउनुभयो ।

पाकेको गहुँ काटिसकेपछि सुकाइरहेको बेला परेको हावाहुरी सहितको पानीको कारण भित्र्याउन नसकेर खेतमा बिग्रिएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्