बलात्कारीलाई कडा सजाय नदिइएकोमा विरोध



म्याड्रिड, (एजेन्सी)
स्पेनमा एक १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ५ जना पुरुषलाई यौनउत्पीडनको आरोपमा पक्राउ गरेर बलात्कारजस्तो गम्भीर अभियोग नलाइएकोमा राष्ट्रभरि विरोधको आवाज घन्किन थालेको छ।

तिनीहरूलाई अदालतले जनही ९ वर्ष लामो कारवास सजाय तोकेको छ। सन् २०१६ को जुलाइमा पाम्पलोनाको सान फर्मिन साँढे दौड महोत्सवमा भएको उक्त सामूहिक बलात्कारको भिडियोसमेत खिचिएको थियो।

पीडक र पीडित दुवै पक्षले अदालतको निर्णयविरुद्ध उच्च अदालतमा अपिल गर्न सक्ने बताइएको छ। अदालतबाहिर जम्मा भएका दर्जनौं प्रदर्शनकारीले ‘यो बलात्कार हो, यौनउत्पीडन मात्र होइन’ भन्दै नारा लगाएका थिए।

करिब २० वर्ष उमेरका पाँचै जना बलात्कारी सेभिल्ले र पीडित किशोरी राजधानी म्याड्रिड निवासी भएको बताइएको छ। तर यो मुद्दा सुनाइँदा दुवै पक्ष अदालतमा उपस्थित नरहेको प्रहरीले जनाएको छ। स्पेनी कानुनअनुसार यौनउत्पीडन र बलात्कारको सजाय फरक रहेको छ।

प्रतिक्रिया दिनुहोस्