फुपुको अर्को पटक स्वर्ण जित्ने लक्ष्य



फिरोज राजोपाध्याय
यही साता ललितपुरमा सम्पन्न आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शन औसत रह्यो। पुरुषतर्फ दुई स्वर्ण जित्नुबाहेक महिला स्पर्धामा स्वर्ण हात पार्न सकिएन। शनिबार पहिलो दिन नेपालका लागि एक मात्र स्वर्ण रविन श्रेष्ठले दिलाएका हुन्। बीचमा केही समस्याले जुडोबाट टाढिएका रविनले फेरि खेल्दा स्वर्ण नै हात पारेका हुन्। उनले पुरुष १ सय केजी मुनिको तौल समूहमा स्वर्ण जित्न तीन खेलाडीलाई पराजित गरेका थिए।

यस्तै आईतबार दोस्रो दिन नेपालले जितेको दोस्रो स्वर्ण इन्द्रबहादुर श्रेष्ठबाट आएको हो। इन्द्रले ६६ केजी मुनिको तौल समूहमा पाकिस्तानका बबर हुसेनलाई हराएर स्वर्ण जितेका थिए। उनले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतका अंकित विष्टलाई हराएका थिए। यी दुई स्वर्णले आयोजक नेपाललाई इज्जत जोगाएको छ।
जबकी यस प्रतियोगितामा सबैभन्दा आशा गरिएका खेलाडी फुपु ल्हामु खत्रीले भने नेपाललाई स्वर्ण दिलाउन सकिनन्। फुपुले ६३ केजीमुनि प्रतिस्पर्धा गरेकी थिइन्। फाइनलमा भारतकी सुनीबालादेवी हुइड्रोम पनि चिर परिचित प्रतिद्वन्द्वी थिइन्। फुपुले गत १२ औं दक्षिण एशियाली खेलकुदमा उनैलाई हराएर स्वर्ण जितेकीले पनि उनीमाथि धेरै आशा गरिएको थियो। साथै गत ब्राजिलको रियो डि जनेरियोमा भएको ओलम्पिक खेलकुदमा समेत सहभागि जनाइसकेकोले बढी आशा उनीमाथि नै भएको थियो।

तर यसपटक फुपुले भारतीय खेलाडीसँग माथ खान पुगिन्। उनले ग्राउन्ड टेक्निक ( ओशाइकोमी) मा खेल गुमाएर रजतमै सिमित हुनुपरिन्। फुपुले आशा नै गरेकी थिइनन् कि सुनीबाला अर्कै टेक्निकमा खेल्न आएकी थिइन् भनेर। फुपु यसअघि २०१४ मा भएको दक्षिण एशियाली जुडो प्रतियोगितामा पनि रजतमै सीमित भएकी थिइन्। टिम इभेन्टमा पनि फुपुले सिंगल्समा भन्दा राम्रो खेलिन्। तर उनले भारतीय प्रतिद्वन्द्वीलाई हराउन सकिनन्। टिम इभेन्टमा अरू चार नेपाली महिला खेलाडी पनि पराजित भएपछि नेपालले रजतमै चित्त बुझाएको थियो।

फुपुले तयारी रामै्र भए पनि स्वर्ण जित्न नसकेकोमा मन दुःखाइन्। उनले स्वर्ण जित्नै का लागि तयारी गरेको भन्दै बताइन्—रोमानियाको कोच आएर हामीलाई टे«निङ दिए। हामीले कोचबाट बेसिक टेक्निकदेखि लिएर साइकोलोजीसम्म पनि प्रशिक्षण लियौं। तर पनि मैले भारतीय खेलाडीसँग हार्न पुगे। उनले अर्कै टेक्निक लिएर यहाँ आएकी थिइन्। पहिले खेलेको भन्दा उनी फरक देखियो। टिम इभेन्टमा उनीसँग खेल्दा भने म अलि सञ्चो थिएन। मैले औषधि खाएर उनीसँग प्रतिस्पर्धा गरे।

यो प्रतियोगितालाई र विगतलाई नियाल्दा नेपाली जुडो खेलाडीको मुख्य प्रतिद्वन्द्वी भारतीय खेलाडी भएको देखियो। भारतीय खेलाडीको स्तर धेरै माथि उठेको पनि फुपुले स्विकार गरिन। उनले बताइन्— हाम्रो टक्कर भारतसँग हुने गर्छ। भारतीय खेलाडीहरूले धेरै प्रतियोगिता खेल्न पाउँछन्। उनीहरूलाई सरकारले समेत हेरेको हुन्छ। तर हाम्रो हकमा भन्ने हो भने संघले हेर्नु बाहेक सरकारले हेर्दैन। यसैले पनि उनीहरूसँग हाम्रो खेलाडी कमजोर बनिदिन्छ।

फुपु अर्को आईतबार जापान जाँदैछिन्। उनको अबको लक्ष्य भनेको दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्ने हो। उनले भनिन्—जापानमा मैले टे«निङ लिन जाँदैछु। यसपछि मेरो लक्ष्य भनेको सागमा स्वर्ण जित्नु हो। यदि एसियन गेम्समा खेल्न पाएमा त्यहाँ पनि राम्रो गर्न कोसिस गर्नेछु। अहिलेसम्म भाग लिने वा नलिने त्यो निधो भएको छैन।

प्रतिक्रिया दिनुहोस्