बृहस्पति विद्यासदनको दादागिरी कायमै



गेटमै अभिभावकको धर्ना

ईश्वरराज ढकाल, काठमाडौं
बृहस्पति विद्यासदनको दादागिरी कायम नै रहेको छ। अत्यधिक शुल्क वृद्धि गरेपछि विद्यालयको गेटमै आन्दोलन गरेर बसेका अभिभावकलाई विद्यालय प्रशासनले अभद्र व्यवहार गर्दै आएको छ।

नयाँ समूहले जिम्मा लिएपछि अत्यधिक शुल्क वृद्धि गरेको सो विद्यालयले अभिभावकको गुनासोलाई बेवास्ता गर्दै आएको छ। करिब दुई सातादेखि लगातारआन्दोलनमा उत्रिएका अभिभावकले वृद्धि गरेको शुल्क फिर्ता नगरेसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन्।

विद्यालयका अभिभावक अमृत बानियाले विद्यालय प्रशासनले शुल्क फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो। ‘अति भयो कसरी पढाउने? मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही नगरेसम्म आन्दोलन फिर्ता लिँदैनौं।’ –उहाँले भन्नुभयो।
विद्यार्थीसहित दिनदिनै आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थी र प्रशासनबीच पटकपटक वार्ता हुँदा प्रशासनले शुल्क फिर्ता गर्न मानेको छैन। शुुल्क फिर्ता गर्न नमानेपछि आन्दोलनरत अभिभावकले काठमाडौं महानगरपालिका र वडा नम्बर १ र ५को कार्यालयमा ध्यानाकर्षणपत्र पठाएका थिए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मनपरी शुल्क असुल गर्ने विद्यालयमाथि कारबाही गर्न स्थानीय तहलाई आग्रह गर्दा समेत स्थानीय तहले बेवास्ता गरेको छ। कामपा शिक्षा शाखाका उपसचिव प्र≈लाद अर्यालले चर्को शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने जनाउँदै वार्ता भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीकहाँ निवेदन आएपछि छानविन शुरू गरेका छौं, मनपरी शुल्क असुल्ने सो विद्यालयमाथि कारबाही गर्नेछौं।’

नक्सालस्थित बालमन्दिरको २८ रोपनी जग्गा ५५ वर्षका लागि लिजमा लिएर सञ्चालन गरेको सो विद्यालयमा पछिल्लो समय विशाल गु्रपको ८० र पूर्वप्रअ पुरुषोत्तमलाल जोशीको २० प्रतिशत शेयर छ। सो समूहले मासिक ६ लाख ९५ हजार तिर्ने गरी भाडामा लिएको हो। विद्यालयमा १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयको भौतिक निर्माण गर्नुपर्ने भन्दै मनपरी शुल्क उठाउँदै आएको सो विद्यालयमाथि हालसम्म कारबाही हुन सकेको छैन।

२०७३ साल साउनदेखि नयाँ समूहले प्रक्रिया शुरू गरे पनि गत वर्षको साउनदेखि मात्रै प्रशासनलगायत सम्पूर्ण जिम्मा लिएको थियो।

नयाँ समूहले प्रवेश गर्नासाथ विभिन्न शीर्षकमा मनपरी शुल्क लिँदै आएको छ। शिक्षा ऐनले तोकेभन्दा बढी शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने जनाएपछि विद्यालय प्रशासन वार्तामा बसेको छ। यसअघि अभिभावकसँग पटकपटक वार्ता गर्दा समेत समस्या समाधान हुन सकेको थिएन। विद्यालयले रजिष्टे«सन शुल्कबापत नर्सरीदेखि १० कक्षासम्म २० हजार रुपियाँ लिने गरेको छ।

नर्सरीदेखि १० कक्षासम्म वार्षिक २० हजार तिर्नुपर्ने भएको छ। नर्सरी र केजीको बच्चाको १३ हजार ३ सय रुपियाँ तिर्नुपर्ने भएको छ। १ कक्षादेखि ५ सम्मको १३ हजार ५ सय रुपियाँ, ६ देखि ८ कक्षासम्मको १५ हजार २ सय र ९ र १० कक्षाको १६ हजार ३ सय उक्त स्कुलले मासिक रूपमा लिने गरेको छ। व्यवस्थापन परिवर्तनसँगै शुल्क वृद्धि गरेको भन्दै अभिभावकले गुनासो गरे पनि प्रशासनले शुल्क घटाउने विषयमा चासो दिएको छैन। अभिभावकहरू जसरी पनि वृद्धि गरिएको शुल्कलाई घटाएरै छोड्ने पक्षमा छन्। स्कुलले प्रत्येक कक्षामा ३५ प्रतिशतदेखि ४२ प्रतिशतसम्म शुल्क बढाएको उनीहरूको भनाइ छ। अभिभावक बानियाले अति भएपछि आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘अभिभावकको भेला र सहमतिविना गरेको शुल्क वृद्धि मान्य नहुने बताउनुभयो। अभिभावकसँग सहमति नलिई शुल्क बढाउने विद्यालयमाथि कारबाही गर्नुपर्ने जिकीर गर्दै उहाँले त्यस्ता विद्यालयको सम्पूर्ण हिसाब किताबसमेत छानविन गर्नुपर्ने बताउनुभयो।

स्कुलले हरेक पटक शुल्क तिर्दा दुई महिनाको एकै पटकमा तिर्नुपर्ने नियम बनाएको छ। तोकिएको समयमा शुल्क तिर्न नसके महिनाको १ हजारको दरले जरिवाना तिर्नुपर्ने सूचना स्कुलले अभिभावकलाई पठाएको छ। विद्यालयका प्रिन्सिपल सुमन थिङ लामाले शुल्कको विषयमा अभिभावक र वडा कार्यालयसँग छलफल भइरहेको बताउनुभयो। ‘शुल्क बढाएका हौं, फिर्ता गर्ने विषयमा बैठक बसिरहेका छौं’ –उहाँले भन्नुभयो। शुल्क बढाएको विषयमा प्रश्न सोध्दा उहाँले केही बोल्न चाहनुभएन। उहाँले भन्नुभयो– ‘अहिले यति भनौं हामी वार्ता र सहमतिकै क्रममा छांै।’ भर्ना र वार्षिक शुल्क शीर्षकमा पनि स्कुलले चर्को शुल्क उठाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्