एकताको कुरा अझै मिलेन संयोजक समितिको बैठक आज



काठमाडौं, (नेस)
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया टुंगो लगाउन एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्ता भएको छ।

कार्यदलले दिएको प्रतिवेदनमाथि सहमति जुट्न नसकेको विषयमा दुई अध्यक्षले सहमति जुटाउने कोसिस गरे पनि अझै सहमति जुट्न सकेको छैन। जनयुद्ध, चुनाव चि≈न र समानताको आधारमा पार्टी एकता गर्ने विषयलाई लिएर दुई दलबीच सहमति जुट्न नसकेको हो।

यही वैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने तयारी गरे पनि दुवै दलभित्र तयारी सुस्त देखिएको छ। पार्टी एकतालाई निष्कर्षमा पु¥याउन आज मंगलबार एकता संयोजक समितिको बैठक बस्ने भएको छ। एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री ओली र प्रचण्डबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता भएको छ। दुई नेताको २ घण्टा लामो छलफल भए पनि नेताहरूबीच एकतामा देखिएका विवादबारे सहमति जुट्न नसकेको बताइएको छ।
एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चि≈न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।

नेताहरूबीच एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउनेमा सहमति भए पनि कुन पार्टीबाट कति जना रहने भन्ने विवादमा सहमति जुट्न सकेको छैन। माओवादीमा झन्डै ४५ सय केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य छन्।

यसअघि आइतबार अध्यक्ष प्रचण्ड सुकुटे गएपछि प्रधानमन्त्री ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच बालुवाटारमा पार्टी एकतामा देखिएका विवादबारे छलफल भएको थियो।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन्। दुवै दलले अधिकांश विषयमा सहमति बनिसकेको दाबी गरे पनि नेताहरूको व्यवस्थापन र निर्वाचन चि≈न र जनयुद्ध शब्दमा कुरा नमिल्दा पछिल्लो समय एकता समितिको बैठक नै बस्न सकेको थिएन। विवादित विषयमा सहमति जुटाउने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो।

माओवादी केन्द्रको सांगठनिक संरचनाअनुसार ४ हजार केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य, ३ सय ९९ जना पोलिटब्युरो सदस्य, ३४ सदस्यीय स्थायी समिति रहेको छ।

माओवादीले समानताको आधारमा मात्र पार्टी एकता हुनुपर्ने अडान राख्दै आएको छ भने एमालेले समानताको आधारमा होइन पार्टीको हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ। एमालेको हाल १ सय ९८ केन्द्रीय सदस्य, ५९ पोलिटब्युरो सदस्य र २६ स्थायी समिति सदस्य छन्। दुई दलबीच २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने गृहकार्य भएको छ। माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको टुंगो लगाएपछि मात्र कति सदस्यीय केन्द्रीय समिति बनाउने भन्ने विषयमा टुंगो लगाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्