उच्चस्तरीय भ्रमणमा जुट्यो सरकार



नेपाल समाचारपत्र
काठमाडौं
द्विपक्षीय उच्चस्तरीय भ्रमणको तयारी र विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन प्रस्थान गर्नुभएको छ।

बेइजिङमा रहँदा आफूले द्विपक्षीय उच्चस्तरीय भ्रमणका बारेमा चीनका उच्च राजनेतासँग भेटवार्ता गर्ने मन्त्री ज्ञवालीले बताउनुभयो। सोमबार बेइजिङ प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग उहाँले भन्नुभयो– ‘यही वर्ष (सन् २०१८) भित्र उच्चस्तरीय भ्रमण हुनेछ, यसबारेमा दुवैतर्फबाट गृहकार्य भइरहेको छ।’ मन्त्री ज्ञवाली चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो।

बेजिङमा रहँदा आफूले वर्तमान सरकारको विदेश नीति र प्राथमिकताका बारेमा चिनियाँ पक्षलाई जानकारी गराउने र विगतका सम्झौता कार्यान्वयनमा भइरहेका प्रगतिको बारेमा समेत जानकारी दिने उहाँले बताउनुभयो।

मुलुकको राजनीतिक संक्रमणका कारण कतिपय योजना कार्यान्वन हुन नसकेको स्वीकार्दै मन्त्री ज्ञवालीले भन्नुभयो– ‘यसबारेमा अपडेट लिने काम भइरहेको छ।’ चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स्’मा नेपालले लिन सक्ने सम्भावित लाभ र प्राथमिकता र मोडालिटीका बारेमा चिनियाँ अधिकारीहरूसँग छलफल हुने उहाँले जानकारी दिनुभयो। ‘अब दुवै देश मिलेर नेपालले लिने लाभको मोडालिटी बनाउँछौ’ –मन्त्री ज्ञवालीले भन्नुभयो। पारवहन, पूर्वाधार, सडक, रेलमार्ग, अन्तरदेशीय विद्युत् प्रशारण लाइन सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ। रसुवागढी–केरुङ र कोरला नाका कनेक्टीभिटीका लागि उपयुक्त हुने बताउँदै मन्त्री ज्ञवालीले भूकम्पपछि अवरुद्ध रहेको तातोपानी नाका खुलाउने बारेमा चिनियाँ अधिकारीहरूसँग छलफल हुने बताउनुभयो।

तर पूर्ववर्ती सरकारले अघि सारेको बुढीगण्डकी आयोजनाका बारेमा भने यो भ्रमणमा छलफल नहुने ज्ञवालीले बताउनुभयो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी चीन सरकारको स्वामित्वमा रहेको गेजुवा कम्पनीले निर्माण गर्ने निधो भए पनि पूर्ववर्ती सरकारले निर्णय फिर्ता लिएको थियो। सो आयोजना सरकार आफैंले बनाउने गरी शेरबहादुर देउवा नेतृत्वको निर्णय गरेको थियो। बेइजिङमा द्विपक्षीय वार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेर भ्रमण र भेटवार्ताका क्रममा भएका विषय सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यो भ्रमणका क्रममा मन्त्री ज्ञवालीले चिनियाँ थिंक ट्यांकहरूको गोलमेच सम्मेलनलाई समेत सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।

प्रतिक्रिया दिनुहोस्