‘ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत’



नेपाल समाचारपत्र
हेटौंडा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले देशमा अधिनायकवाद शुरू गरिसकेको दाबी गर्नुभएको छ। उहाँले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको र ओली कहिल्यै राष्ट्रवादी बन्न नसक्ने टिप्पणी पनि गर्नुभएको छ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा दल मकवानपुरको संयोजनमा हेटौंडामा शुरू प्रदेश–३ स्तरीय प्रशिक्षणको उद्घाटन गर्दै उहाँले भन्नुभयो– ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। उसको अधिनायकवाद शुरू भइसक्यो, मनोमानी बढ्यो।’ उहाँले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो।
सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफल नगरेको सभापति देउवाको भनाइ छ। पूर्वप्रधानमन्त्री देउवाले सरकारले एकलौटीरूपमा काम गरिरहेको भन्दै सरकारले अब अधिनायकवादको विकास गर्ने व्यङ्ग्य गर्नुभयो।

देउवाले कांग्रेसलाई बेवास्ता गर्दै अघि बढे प्रजातान्त्रिक मूल्य मान्यताअनुसार कम्युनिष्टविरुद्ध लडाइँ लड्ने चेतावनी दिनुभयो। ‘पछिल्लो दशकको अधिकांश समय सरकारमा बसेका कम्युनिस्ट नै मुलुकको बेथितिमा मुख्य जिम्मेवार हुन्’ –उहाँले भन्नुभयो।

देउवाले दुई कम्युनिस्ट पार्टी मिलेको र पार्टीभित्र अनुशासनहीन र अन्तरघातका कारण चुनावमा कांग्रेसले पराजय बेहोरेको बताउनुभयो। एमाले र माओवादी केन्द्र मिलेकाले कांग्रेस निर्वाचनमा हार्नु स्वभाविक हो उहाँले काँग्रेस लोकतन्त्रवादी पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन लडिरहने र पार्टीलाई बहुमतमा नपुर्याएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले तरुणको भूमिका नेपाली कांग्रेसमा अझ सशक्त भएको बताउनुभयो। सरकारमा नभएको समयमा अब संगठन निर्माणमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो। कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले चुनाव हारे पनि जनमत भने अझै आफूहरूको पक्षमा रहेको बताउनुभयो। कांग्रेसको नीतिले मात्र देशको आमूल परिवर्तन सम्भव भएको उहाँले दाबी गर्नुभयो।

नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू डा. प्रकाशशरण महत, लक्ष्मी परियार, रामकृष्ण यादव, सुरेन्द्र पाण्डे, महेन्द्र यादव, राष्ट्रियसभा सांसद् धन खतिवडा, सांसद् इन्द्रबहादुर बानियाँ, तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, महिला संघ सभापति उमा रेग्मी, तरुण दल निवर्तमान केन्द्रीय अध्यक्ष उदय शमशेर राणा, पूर्वअध्यक्ष विनोद कायस्थ, कांग्रेस हेटौंडा सभापति आनन्दराम पराजुली, तरुण दल पूर्वकेन्द्रीय उपाध्यक्ष रघुरमण न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

दुई दिन चल्ने प्रशिक्षणमा प्रदेश–३ का करिब १ सय ५० प्रतिनिधिको सहभागिता रहेको सहआयोजक तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्