नयाँ भर्ना अभियान, को–को बने अभिभावक ?



ईश्वरराज ढकाल, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको बुद्ध मावि माग्रीमा ५ वर्षीय बालक ठिन्ले साङ्मु तामाङको भर्ना गरी यो वर्षको भर्ना अभियान शुरु गर्नुभएको छ। रारा पर्यटन महोत्सवलाई सम्बोधन गर्न गएका बेला उहाँले सो अभियान शुरु गर्नुभएको हो।

सोही क्रममा उहाँकी पत्नी राधिका शाक्य पनि सोही विद्यालयका छिरिङ छेमजोङ लामाको अभिभावक बन्नुभयो। मुख्यसचिव लोकदर्शन रेग्मीले भर्ना अभियानका लागि आग्रह गरेपछि केही सचिव र सहसचिवले ६ लाख रुपियाँ जुटाइसकेका छन्।

रक्षामन्त्री ईश्वर पोखरेल मुगु मुर्मास्थित नेरा माविमा सूर्यदेवी रोकाया र पुष्कर रोकाया, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बुद्ध माविमा कर्मा सांगिन लामा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी मुगुको पुन्नबहादुर कुमाल, ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरोज नेपाली, पूर्वसभामुख सुवास नेम्वाङ विनीता नेपाली र पूर्वमन्त्री जनार्दन शर्मा सन्तोष भियालको अभिभावक बन्नुभयो। कर्णाली प्रदेशका भूमि व्यवस्थामन्त्री विमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, आर्थिक मामलामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावल मुगुकै बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभयो।

यस्तै शिक्षा सचिव खगराज बरालले पर्वत, विभागका महानिर्देशक बाबुराम पौडेलले कास्की, शिक्षा मन्त्रालयका सहसचिव बैकुष्ठ अर्यालले गोरखा, डा. हरि लम्सालले तनहँु र पाल्पा, बालकृष्ण पन्थीले रूपन्देही, सूर्यप्रसाद गौतम बर्दिया, दीपक शर्माले काभ्रे, केशवप्रसाद दाहालले खोटाङ र टेकनारायण पाण्डेले खगेन्द्र नवजीवन जोरपाटीका विद्यालयमा भर्ना गर्ने कार्यक्रम रहेको शिक्षा विभागले जनाएको छ।

विभागका अनुसार देवकुमारी गुरागाईंले सानोठिमी, जनक शिक्षा सामग्रीका प्रबन्ध सञ्चालक महेश्वर तिमल्सिनाले महोत्तरी, रामशरण सापकोटाले हेटौंडा, बलराम तिमल्सिनाले काभ्रे र कृष्णप्रसाद काप्रीले गोरखाका विद्यालयमा यो अभियान सञ्चालन गर्नुहुनेछ।

अभिभावक संघका अध्यक्ष केशव पुरी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटा र अन्य विभिन्न क्षेत्रका २९ जना व्यक्तिले भर्ना गर्ने कार्यक्रम छ।
हरिवंश आचार्य, राजाराम पौडेल समता, सीताराम कट्टेल, बद्री पंगेनी, प्रदीप वम्जन, पूर्वसचिव जनार्दन नेपाल, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, निजी पुस्तक व्यावसायी दीपक भण्डारी पनि यो अभियानमा सहभागी हुनुहुने छ।
यसै अभियानका क्रममा प्रधानमन्त्री ओली यही ५ गते सिराहा जाने कार्यक्रम तय भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्ने बाध्यकारी व्यवस्था आउन लागेकाले यो वर्ष सबै बालबालिकालाई भर्ना गराउन अभिाभावकहरूलाई आग्रह गर्नुभयो।
यो वर्ष भर्ना गरेपछि अर्को वर्षदेखि सरकारले नै खर्च बेहोर्ने गरी अनिवार्य र निःशुल्क शिक्षा ऐन लागू हुने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्