२०७५ लाई समृद्धिको वर्ष उद्घोष



हामीले २०७४ साललाई बिदाइ गरेर २०७५ सालमा प्रवेश गरिसकेका छौं। लामो संक्रमणकालपछि संविधान बनेर तीन तहका निर्वाचन सम्पन्न भएको वर्षलाई बिदाइ गरिसकेपछि हामीसँग थप आशा र उमंग पलाएका छन्। अब यो नयाँ वर्षलाई हामीले आर्थिक समृद्धिको वर्ष बनाउने भन्नेमा आमनेपाली सहमत भैसकेका छन्। हाम्रा हरेक काम आर्थिक उपलब्धि र देशको समृद्धिमा केन्द्रित हुनुपर्छ। लामो सशस्त्र द्वन्द्व, संक्रमणकालले बढाएको बेरोजगारी, ध्वस्त भएका संरचनाबाट हामी धेरै पछाडि परिसकेका छौं। तर नेपाली जनतामा नयाँ चेतनाको विकास भएको छ। विकास, समृद्धि, राजनीतिक उचाइबारे नेपाली जनता अब पूर्णरूपमा जानकार भैसकेका छन्। राज्यले काम गरेको⁄नगरेको मूल्यांकन अब हरेक नागरिकले गर्न सक्ने भएका छन्।

त्यसैले जनतालाई झुक्याउने कुनै पनि बहाना काम लाग्नेछैन। बरु रोगजारीका अवसरहरू खोजी गर्ने, आम्दानीका स्रोत बढाउने र पर्यटकीय गन्तव्यहरू बढाएर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने काम अहिलेको आवश्यकता हो। प्रधानमन्त्रीले पनि नयाँ वर्षको पहिलो दिन रारातालमा गएर नेपाललाई अब आर्थिक समृद्धिको वर्ष बनाउने उद्घोष गरिसकेका छन्। यो उद्घोषले राजनीतिकरूपमा मात्र अर्थ नराखी आम नेपाली, व्यवसायी, राजनीतिक दललाई पनि नेपालको समृद्धिको पहिलो आधार पर्यटन नै हो भन्ने सिद्ध गरेको छ।

नेपालका हरेक गाउँ, हरेक डाँडाकाँडाहरू पर्यटक भित्र्याउन सकिने सम्भावना बोकेका ठाउँ हुन्। छिमेकी भारतका लाखौं मानिस हिन्दू धर्म मान्छन्। उनीहरू नेपालका मुक्तिनाथ, पशुपतिनाथलगायतका धार्मिक स्थान घुम्न रुचाउँछन्। चीनका लाखौं मानिस बौद्ध धर्म मान्छन्। उनीहरू नेपालको लुम्बिनी, स्वयम्भुजस्ता स्थान घुम्न रुचाउँछन्। त्यसैले तेस्रो मुलुकका गोरो छाला भएका मानिस खोज्नुभन्दा छिमेकीलाई नेपालमा बढीभन्दा बढी भित्र्याउनु नै उत्तम हुनेछ। पर्यटन प्रवद्र्धन नै नेपालको आर्थिक विकासको मेरुदण्ड हो भन्ने हामीले प्रमाणित गरेर देखाउनुपर्नेछ।

– सुविन राना, भक्तपुर

सूर्यविनायक नगरपालिकाको राम्रो काम
वि.सं. २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गरेर उदाहरणीय काम भएको छ। सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानको सातौँ हप्ता वैशाख १ गते हनुमन्ते नदीमा उभिएर प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले २०७५ साललाई हनुमन्ते सफाइ वर्षको रूपमा मनाइने घोषणा गर्नुभएको थियो। सबै नगरपालिकाले यसरी नै काम गरेमा नेपाललाई हरेक क्षेत्रमा सुधार गर्न र आर्थिक समृद्धिको बाटोमा लाग्न सजिलो हुनेछ।

पवित्ररूपमा स्वच्छ पानी बग्नुपर्ने नदीमा ढल मिसाउने अनि सिसादेखि घरका सबै फोहोर नदीमा फालेर असभ्यता प्रकट मात्रै नगरी रोगसमेत निम्त्याइएको छ। यस्तो गतिविधि हुन नदिन सबै सचेत हुनु जरुरी छ।
– सावित्रा, बस्नेत, काठमाडौं

प्रतिक्रिया दिनुहोस्