जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने



काठमाडौ । पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा यही चैत २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सोफेनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन निकै सान्दर्भिक रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा सोफेनका अध्यक्ष रामदीप साहले बढ्दो जनसंख्याका कारण भइरहेको वन विनास र औद्योगीकरणको प्रभावले वायुमण्डलमा थपिँदै गएको कार्बन मनोअक्साइड, कार्बन डाईअक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको बेला सम्मेलन गर्न लागिएको बताउनुभयो । “विश्वव्यापी तापक्रम वृद्धिले जलवायुमा परिवर्तनबाट हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ”– उहाँले भन्नुभयो ।

अध्यक्ष साहले संसारमा धेरै कुराको विकल्प देखिएको तर पानीको विकल्प नभएको स्पष्ट पार्नुभयो । स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पु¥याउन उद्देश्य राखेर सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत ५०० विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्